पुष्पा न्यौपाने
मान्छे सधैं प्रगति गर्न चाहन्छ। आजको भन्दा अझ राम्रो अवसरको खोजीमा हुन्छ र यसमा कुनै खराबी छैन। यदि उसलाई बचाइराख्ने हो भने उसलाई आफ्नाे पेसामा फक्रिने र फैलिने वातावरण बनाइनुपर्छ (आर्थिक र प्रतिष्ठित दुवै हिसावमा)। अध्यापन त अझ संवेदनशील पेसा हो। देशको जनशक्ति उत्पादनमा मुख्य भूमिकामा रहन्छन्, शिक्षक।
आफूले जीवनभर नामको अघिको 'इन्जिनियर' शब्दलाई सर्टिफिकेटमा थन्काएर जीवन भर 'सर','म्याडम' अनि प्रध्यापकको बर्दी लगाएर देशलाई आवश्यक सैयौं इन्जिनियर उत्पादनमा आफूलाई तल्लिन राख्छन्। आफूलाई कक्षा कोठामै सिमित राखेर आफ्ना विद्यार्थीलाई मंगलग्रह अनि चन्द्रमा पुग्ने सुत्र सिकाउँछन्। एउटा मुद्दाबाट एकै पटकमा पचासौं हजार नकमाई त्यति रकमको लागि महिनौँ खटिन्छन् र त हरेक वर्ष सैयौं विद्यार्थी मुद्दा लड्न योग्य हुन्छन्।
शिक्षकहरूको मन स्थिर भए मात्र उनीहरूले दिने शिक्षा प्रभावकारी हुन्छ। उनीहरू नेपालमै बसिदिए भने मात्र आउँदो पुस्ता नेपालमै बस्न लालायित हुन्छ। उनीहरूले खरिदार, सुब्बाको इच्छा राखेनन् भने मात्र अरूले खरिदार, सुब्बाको अध्यापन गर्ने गतिलो शिक्षक पाउँछन्।
यता निजी शैक्षिक संस्थाका शिक्षकका पनि आफ्नै खालका गुनासा छन्। उनीहरू रहरले भन्दा बढी बाध्यताले खटिरहेको पाइन्छ। शहरी भेगमा त कमसेकम अभिभावक आर्थिक रूपमा केही सम्पन्न हुन्छन् र स्कुलको महङ्गो शुल्क तिर्न पनि तयार हुन्छन्, जसले गर्दा शिक्षकले राम्रै पारिश्रमिक पाउँछन्। तर, ग्रामीण क्षेत्रको कथा फरक छ। त्यहाँ शिक्षकलाई मासिक तलबले जीविका धान्नै हम्मेहम्मे पर्छ। तलबको ४ महिना कुर्दासम्म ऋण अनि उधारो रकम, तलवको रकमभन्दा बढी भइसकेको हुन्छ। अनि कसरी उत्साहित हुन्छन्, शिक्षक र कसरी उत्साहित गराउन सक्छन् विद्यार्थीलाई ?
तर, यो सब हुनुको कारण सरकारी विद्यालयमा रोजगारको अवसर नै नभएको भने होइन। शिक्षक सेवा आयोगले सार्वजनिक गरेको माध्यमिक तहको शिक्षकको परीक्षाको नतिजा हेर्ने हो भने अरु नै केही अर्थ लाग्छ। माध्यमिक तहमा नेपालभरि एक हजार बढीको पद रिक्त रहेकोमा रिक्त पद पूर्ति हुने संख्यामा परीक्षार्थी उत्तीर्ण हुन सकेनन्। पेसामा आकर्षण नभएर हो भनौँ भने आवेदनहरू भारी मात्रामा परेका थिए। तर, विषयगत परीक्षा पश्चात अन्तर्वार्तामा आवश्यक संख्यामा समेत परीक्षार्थी पुग्न नसक्नु कस्तो विडम्बना ?
यो परिणाम परीक्षार्थीको हिजो आजको तयारीले मात्र निम्त्याएको हो भन्ने पक्षमा म छैन। यो विद्यार्थीको क ख रा सिक्दादेखि उसको विद्यालयको अध्ययनमा बसेको जग र विषयवस्तु प्रतिको पकड र बुझाइको परिणाम हो।
यसरी देशको शैक्षिक अवस्था एउटा कमजोर चक्रमा चलिरहेको छ। विषयवस्तुमा कमजोर पकड भएको शिक्षकबाट पढेका विद्यार्थी (केही अपवादबाहेक)ले त्यो विषयमा शिक्षक परीक्षा उत्तीर्ण गर्न सक्दैन र फेरि विद्यार्थी शिक्षकविहीन भएर विधा बाहिरको शिक्षकबाट पढ्न विवश हुन्छन्। अब सोचौँ रसायनशास्त्रमा विज्ञता भएको शिक्षकले गणित पढाउन नसक्ने होइन तर विद्यार्थीलाई सजिलोभन्दा सजिलो र उपयोगितासहित बुझाउन त गणितकै विज्ञ शिक्षक चाहिन्छ किनकी उसले वर्षौं त्यो विषयमा खर्चिएको हुन्छ।
तर, सबै कुरा अनुकूल रहँदा पनि कहिले काहीँ हामी प्रतिकुल भैदिन्छौं। एउटा अभिभावकले सन्तानले शिक्षण पेसा अंगालेकोमा लज्जित हुनुपर्ने वा कुनै काम नपाएर शिक्षक भएको सोच्नुपर्ने किन ? अनि प्रध्यापक स्वयंलाई कसैले के काम गर्छौ भनेर सोध्दा ‘केही होइन, यस्सो टाइम पास गर्न पढाउँछु’जस्तो अभिव्यक्ति दिनुपर्ने किन ?
यो कस्तोखाले विकासको परिकल्पना गर्दैछौँ हामी ? जहाँ प्राध्यापकको कद सानो बनाउने प्रयास गरिँदैछ। किन कतै केही नपाए पढाउँछन् वा केही नपाए पढाउँछु भनेर अन्तिम विकल्पको रूपमा लिइँदैछ शिक्षण पेसालाई ?
ए बाबा ! तिमीलाई डाक्टर, तिमीलाई वकील, तिमीलाई दक्ष बनाउने मानिस कम बौद्धिक कसरी हुनसक्छ ? तर, यसो भनिरहँदा हामीले यो भुल्नु हुँदैन कि योग्यहरुको यो पेसाप्रतिको वितृष्णाले गर्दा विद्यार्थीहरू कम योग्यबाट पढ्न बाध्य छन्। दिमागमा आर्थिक तनाव बोकेर कक्षा छिरेको शिक्षकले विद्यार्थीलाई रिस पोख्दैन भन्ने के ग्यारेन्टी ? समाजमा आफ्नो पेसाको मान नपाएको शिक्षकले समाजमै बसेर त्यही समाजको सन्ततिको भविष्य कसरी निर्माण गर्न सक्छ ?
अनि उता विद्यार्थीको पनि आफ्नै खाले गुनासा, विश्वमा प्रतिस्पर्धी गर्न सक्ने शिक्षा पाइएन। अनि अयोग्य प्राध्यापकलाई निकाल्दा शिक्षक नै नपाइने समस्या। जसले गर्दा प्राध्यापकको हरेक प्रकारका यातना सहन बाध्य छन्, विद्यार्थी। यस्सो हेर्दा न शिक्षक खुसी छन् न विद्यार्थी, अनि यो सब परिस्थितिबाट फाइदा भइरहेको छ चाहिँ कसलाई ? अब योबारे बहस जरुरी छ।
शिक्षण पेसाप्रति आकर्षण बढे पो प्रतिस्पर्धा बढ्छ अनि पो राम्रो मान्छे छानिन्छन्। आजका विद्यार्थीहरु नै त हुन भोलिका शिक्षक। आजै कमजोर जगमा उभिएको विद्यार्थीले भोलि अर्को विद्यार्थीलाई कसरी उभ्याउन सक्छ ? विद्यार्थीलाई कक्षा कार्य दिएर घाम ताप्दै, चियाको चुस्की लिँदै राजनीतिक गफ चुट्दैमा अनि विद्यार्थीलाई प्राक्टिकल अंकको त्रास देखाउँदैमा शिक्षक भइन्छ भन्ने तुक्ष मानसिकता रहदाँसम्म केही हुन सक्दैन। अब पनि यी विषयमा गम्भीर भएर सोचिएन भने न कोही पढाउन लालायित हुनेछन् न कोही पढ्न। न विद्यार्थीले योग्य प्राध्यापक पाउनेछन् न देशले योग्य जनशक्ति। अनि उही मोदी कि बाइडेनको हातमा जिम्मा लागाउनु देश।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया