कसरी निर्धारण गरियो विवाहको उपयुक्त उमेर ?

BreaknLinks
BreaknLinks

पछिल्लो समय सबैभन्दा बढी छलफल गरिने र जनचेतना मूलक कार्यक्रम चलाइने समाजिक मुद्दा हो, बाल विवाह। ग्रामीण क्षेत्रमा पनि प्रयाप्त प्राथमिकता पाएको सामाजिक विषय पनि हो यो। अहिलेको अवस्थामा बढी भन्दा बढी व्यक्तिलाई बाल विवाह गर्नु हुँदैन है भनेर चेत पनि छ। विभिन्न तथ्याङ्कले विगतभन्दा केही प्रतिशतमा बाल विवाह घटेकै देखाउँछ। तर जब हामी आफ्नै परिवार, आफन्त या छरछिमेकमा एकछिन घोत्लिएर हेर्छौं, बाल विवाह ज्युँका त्यूँ भेट्छौं।

सरकार, गैरसरकारी संस्था, अनि विभिन्न बालक्लव, समूह आदिको अथक प्रयास देखिन्छ, बाल विवाहको जनचेतना फैलिनुमा। तर यति भन्दै गर्दा हामी यो यथार्थलाई नकार्न सक्दैनौं कि सरकारले बालबिवाहको कारणको एउटा प्वाल टाल्दै गयो। धेरै हदसम्म त टाल्यो पनि तर विडम्बना बाल विवाह अर्कै प्वालबाट देखा पर्न थाल्यो। अर्थात् करिब एक दशक पहिलेसम्म पनि बाल विवाह बाबुआमाको करले, परम्पराले र छोरी महिनावारी हुनुअघि नै आँगन पोलेर दिइसक्नुपर्छ भन्ने जस्ता विश्वास (सायद अन्धविश्वास) बाट प्रेरित थियो। जसका कारण सरकार र अन्य संघसंस्थाले पनि बालबालिकाका आमाबाबु, अभिभावकलाई लक्षित गरी जनचेतनाका हरेक विधिमार्फत सचेत बनाइरहे।

अहिलेको समयमा आमाबुबाले सानो उमेरमा गरिने विवाहको नकारात्मक असर बुझेर बाल विवाहलाई दुरूत्साहन गरिरहेका छन्। तर अफसोच अहिले बालबालिका आफ्नै स्वइच्छाले सानो उमेरमा विवाह गर्दैछन् या भनौँ सोतर्फ आकर्षित भइरहेका छन्।

यसरी बाल विवाह गराउने व्यक्ति र कारणमै परिवर्तन हुँदा पनि र विद्यालय पढिरहेका बालबालिका आफैँ बाल विवाहतर्फ आकृष्ट हुँदा पनि चेतनामूलक कार्यक्रम, बाल विवाहविरूद्धका विभिन्न लेख, प्राय विज्ञ भने पुरानै ढर्राको बाल विवाहका कारण कपि पेष्टमै सीमित छन्, व्यस्त छन्।

केही बुझेका, बाल विवाहको नकारात्मक असर, त्यसको कानुनी दायरा अनि सजायबारे पूर्ण जानकार बालबालिकाले स्वयम् आफैँ बाल विवाह गर्दै जानुले सरकार, बाल विवाहविरूद्ध काम गर्ने गैरसरकारी संस्था अनि कानुनलाई नराम्ररी गिज्याइरहेको छ। नयाँ तरिकाले देखिएको यो समस्यालाई समाधान गर्न पनि नयाँ विधि र तरिका नै अपरिहार्य भएको छ।

०००

एकछिन एकछिन! यो सबै अवस्थाले मेरो मनमा एउटा सन्देह सिर्जना गरेको छ। हाल नेपालमा ‘बाल विवाह' समस्या हो या ‘विवाह गर्ने उमेर हद‌ले विवाहहरू बाल विवाह बनेका हुन्?’ यो अलि जटिल विषयको रुपमा देखापरेको छ। समग्रमा बाल विवाहको दरलाई एकैसाथ एक देशलाई अर्को देशसँग दाँज्न मिल्दैन।

नेपालमा २० वर्षको उमेरभन्दा पहिले गरिएका सबै विवाह बाल विवाहमा गनिन्छन्। तर अन्य मुलुकमा बाल विवाहलाई व्याख्या गर्ने फरकफरक उमेर हद रहेको छ। जस्तै अफगानिस्तान, क्यानडालगायतका मुलुकहरूमा १६ वर्षदेखिको विवाहलाई कानुनी मानिन्छ। त्यसै गरी फिनल्याण्ड, फ्रान्स, डेन्मार्क, अर्जेन्टिना, अस्ट्रेलियालगायत धेरैजसो मुलुकमा विवाह गर्ने उमेर १८ तोकिएको छ।

विश्वभरिका मुलुकको अभ्यास हेर्ने हो भने ८० प्रतिशतभन्दा बढी मुलुकमा विवाह गर्ने उमेर १८ रहेको पाइन्छ। त्यसपछि १६ वर्षको उमेर हद राख्ने मुलुकहरू छन् र २० भन्दा माथि उमेर  हद राख्ने मुलुकको संख्या अत्यन्तै न्यून छ। हाम्रै छिमेकी मुलुक भारतको कुरा गर्ने हो भने त्यहाँ विवाह गर्न महिलाको उमेर १८ र पुरूषको उमेर २१ तोकिएको छ।

यसका साथै नेपालको अर्को छिमेकी मुलुक चीनको भने नेपालसँग मिल्दो जुल्दो उमेर हद छ। त्यहाँ पुरूषको उमेर २२ र महिलाको २० तोकिएको छ। तर त्यहाँ कतिपयले सानै उमेरमा विवाह गरिदिने परिवारलाई छोरी दिने, सो छोरा भएको परिवारले नै हुर्काउने र बुहारी बनाउने चलन पनि अभ्यासमा छ। अर्थात् सानैदेखि एक महिला पछि विवाह गर्ने घरमै हुन्छिन् भने पछि त्यहाँ उमेर हदको औचित्य नै रहेन।

सुन्दा अचम्म लाग्ला, तर अमेरिका जस्तो विश्वको शक्ति केन्द्रले बाल विवाहविरूद्ध संघीय कानुन बनाएको छैन। न्यूयोर्क, न्यू जर्सीसहित ७ अमेरिकी राज्यमा विवाहको लागि १८ वर्ष उमेर हद तोकिएको छ। तर बाँकी सबै राज्यमा बाल विवाह कानुनी जस्तै छ। यसो भन्दैमा बालबालिकाको यौन शोषणलाई हौसला दिएको छ चाहिँ भन्न मिल्दैन। त्यहाँको कानुनले १८ वर्षभन्दा कम उमेरका बालबालिकासँग गरिने यौन क्रियाकलापलाई रेप अर्थात् बलात्कार मानेको छ। अमेरिकी सरकार यही कानुनले सोतह: बाल विवाह रोक्नेमा विश्वास गर्छ।

यहाँ यो बाल विवाहबारे अमेरिकी प्रावधान उल्लेख गरिनुको अर्थ हामीले पनि बाल विवाहलाई दण्डनीय बनाउनु आवश्यक छैन भन्न खोजिएको भने हैन। तर कसरी गरिबी, अशिक्षा, बेरोजगारीजस्तै उमेर, उमेरसँगै आउने शारीरिक परिवर्तन, शारीरिक र मानसिक आवश्यकता, हावापानी, जलवायु परिवर्तन आदि तत्वले कानुनले तोकेको उमेरभन्दा कम उमेरमै विवाह गर्न भूमिका निर्वाह गरेको छ भन्ने बुझ्न आवश्यक छ।

०००

नेपाली समाजको एउटा पाटो छ, जहाँ २० वर्षसम्म अध्ययन सकिएको हुँदैन र जसले गर्दा त्यहीबेला विवाह गरे अध्ययनले निरन्तरता पाउँदैन। २० वर्ष अगावै विवाह गर्दा प्रजनन् उमेर लामो हुने भएकाले धेरै सन्तान जन्माउने, महिलाको स्वास्थ्यमा समस्या देखिनबाट रोक्न विवाहको उमेर हद मुलुकी ऐनको एघारौँ संशाेधनमा संरक्षकको मन्जुरीले दुबैको उमेर १८ अनि संरक्षकको मन्जुरी बिना २० वर्षबाट अहिले देवानी संहितामा मन्जुरी भएपनि नभए पनि दुवैको उमेर हद २० बनाइयो। तर कानुन निर्माताले समाजको अर्को पाटोतर्फ भने कत्ति पनि संवेदनशील नभएको कुरा विवाहको उमेर हद २० राखिएकोबाट प्रष्ट हुन्छ।

सन् २०२२ मा एक जना बाल विवाहविरूद्धको अभियानका अभियन्ता किशोर स्वयंले बाल विवाह गरे। अनि एक अन्तर्क्रियामा उनलाई कारण सोध्दा जवाफमा उनले जे भने त्यो कुरालाई एकपटक मनन् गर्नैपर्छ। ताकी कुनै मानिसको संवेदना, आवश्यकता कुनै कानुन र सामाजिक दृष्टिकोणबीच पिल्सिनु नपरोस्। ती २० वर्ष नपुगेका अभियान्ताले आफू प्रेम सम्बन्धमा रहेको र विवाहअघिको शारीरिक सम्बन्धलाई समाजले नकारात्मक दृष्टिकोण बनाउने भएकाले बरू विवाह गर्नु सहज भएको विचार राखे।

यसरी एकातर्फ मानसिक र शारीरिक बनावट छ, जसले निश्चित उमेरमा प्राकृतिक रूपमा भावनात्मक र शारीरिक आवश्यकता सिर्जना गराइदिन्छ भने अर्को छ समाज, जसले यी यस्ता संवेदना पोख्न विवाहलाई लाइसेन्सको रूपमा थिति जस्तो बसालिदिको छ। अर्कोतिर कानुन छ, जसले त्यही लाइसेन्स लिन पनि २० वर्षसम्म कुर भन्छ। अनि कसरी मिल्छ तालमेल‌ र कसरी हुन्छ कानुनको अक्षरस: पालना?

महिला र पुरुष दुवैमा १६ देखि १८ वर्षको उमेरसम्ममा शारीरिक रुपमा परिपक्वता आउने अनि प्रजनन् अङ्गहरूको विकास भइसक्ने कुरा वैज्ञानिक तथ्य हो। यति मात्र नभई स्वयं नेपालकै कानुनले नागरिकता लिन १६‌ वर्षको उमेर हद राख्नु अनि १८ वर्षसम्मको बालिकाको सहमतिमै करणी भएको भए पनि त्यसलाई जबरजस्ती करणी मानेको कानुनी प्रावधानले पनि मानसिक रूपमा समेत १८ वर्षमा परिपक्वता आउने कुरामा विश्वास गरेको देखिन्छ।

०००

पश्चिममेली मुलुक, जहाँ प्रेम सम्बन्धलाई सहज तरिकाले लिइन्छ। जहाँ यौन तथा प्रजनन शिक्षा प्रभावकारी ढङ्गले प्रदान गरिएको छ, त्यस्ता मुलुकमा बरू विवाहको उमेर हद १८ छ। तर नेपाल जस्तो विविधतायुक्त देश जहाँ कतिपय समुदायको खानपान, भौगोलिक बसोबासले बालबालिकाको शारीरिक एवम् मानसिक विकास छिटो भैरहेको हुन्छ। अनि जहाँ किशोर अवस्थामा अपनाउनुपर्ने सुरक्षाका उपाय, ध्यान दिनुपर्ने कुरा, यौन इच्छा हुनु प्राकृतिक कुरा हो भनि सम्झाउनेसम्म माहोल नभएको देशमा चुपचाप विवाहको उमेर हद २० तोकिदिँदा मनका अनेक अनुत्तरित प्रश्न, पोख्ने ठाउँ नपाएको उत्सुकता अनि सामाजिक अनुसासन नामक भ्रमले छोपेको यौन शिक्षाको अभावमा बालबालिका सानै उमेरमा विवाह गर्नेतर्फ आकर्षित हुँदै गइरहेका छन्।

यति मात्र नभई पृथ्वीको तापक्रम बढी हुनुले महिलामा 'मेलोनोसाइट स्टीमुलेटिङ हर्मोन' बढाउन मद्दत गर्छ र पुरुषमा भिटामिन डीको सहायताले 'टेस्ट्रोस्ट्रोन' को मात्र बढाउँछ। जसले अन्य स्थानभन्दा तापक्रम बढी हुने स्थानका व्यक्तिमा यौन इच्छा बढाउने काम गर्छ। जसले त्यहाँका मानिसलाई कानुनले तोकेअगावै विवाह गर्न आकृष्ट बनाउँछ।

यसरी बाल विवाह बढ्दै जाँदा पन्जीकरण गर्ने अधिकार प्राप्त निकायमा समेत जटिलता छ। त्यहाँ हरेक दिन कानुनविपरीत २० वर्ष नपुग्दै विवाह गरेको जोडी बच्चाको जन्मदर्ता बनाउन आउँछन्, जब कि उनीहरू आफ्नो बाल विवाहले गर्दा विवाह दर्ता भएको हुँदैन। बच्चाको जन्मदर्ता त घटना दर्तामा हुन्छ तर दर्ता अधिकारीहरू जानाजान विवाह भएको मिति नराखी २० वर्ष उमेर पुगेपछिको कुनै एउटा मिति राखेर २० वर्ष पुगेपछि विवाह दर्ता गराउन बाध्य छन्।

न सरकार, न विद्यालयले जनन् तथा यौन शिक्षामा जोड दिन्छ। न भौगोलिक जटिल स्थानमा गतिलो शिक्षा र स्वास्थ्य सुविधा दिन्छ, न त स्तर उन्नतिमा ध्यान दिन्छ। अनि चुरो कुरोलाई नै व्यवस्था गर्दै मात्र कानुनमा लेखिदिएर त कहाँ बाल विवाहको न्यूनीकरण करण हुन्छ त।

विवाहको लागि तोकिएको कानुनी हद म्याद उलङ्घन गर्नुपर्छ भन्ने ध्येय हैन, विधिको शासनमा कानुन सर्वेसर्वा हो। तर कानुन वैज्ञानिक, तथ्यपरक, सामाजिक आवश्यकतालाई मनन् गर्ने र प्राविधिक जरूरी हुनुपर्छ। समस्यालाई पहिचान गर्न सक्ने र त्यो समस्या हो कि प्राकृतिक आवश्यकता बुझ्न जरूरी हुन्छ।

विश्वका अधिकांश राष्ट्रले १८ वर्षको उमेरलाई विना वैज्ञानिक पक्कै मापदण्ड बनाएका हैनन्। २० वर्षको उमेर हद नेपाल जस्तो मुलुकमा कति ग्राउन्डेड छ र कति अव्यवहारिक अनि बाल विवाह केवल गरिबी, अशिक्षा, बेरोजगारीको मात्र कारणले बढिरहेको छ कि अन्य लुकेको कारण पनि छन्? अब बहस गर्न जरुरी छ। सधैँ उही गरिबी, अशिक्षा र बेरोजगारीको रट्टा लाएर मात्र अवस्थामा कुनै बद्लाबको संकेत देखिने छाँट छैन।

प्रकाशित मिति: : 2023-06-13 21:20:00

प्रतिकृया दिनुहोस्