पति वा पत्नि बाहेक के तपाईंलाई कसैले अनुमति बेगर संवेदनशील अङ्गमा हात लैजान्छ? के इच्छा विपरित तपाईंलाई असहज महसुस हुने गरि कसैले अंगालो हाल्छ? प्रत्यक्ष या विधुतीय माध्यमबाट मौखिक, लिखित वा साङ्केतिक रूपमा अश्लील प्रकारका शब्द प्रयोग गर्ने गर्छ? यदि यस्तो भैरहेको छ भने तपाईं यौन दुर्व्यवहारको शिकार भैरहनुभएको छ।
यसको समाधान यसलाई व्यवास्ता गरेर होइन, कानुनी उपचार गरेर मात्र हुन्छ। यदि डराइरहनुभएकाे छ भने तपाईंलाई सहयोगको खाँचो छ।
अहिलेको पुस्ता बलात्कारविरुद्ध खुलेर बोलेको र जानकार हुँदै गएको देख्दा साँच्चै राहात महसुस हुन्छ। तर अझै पनि आधी उधी बलात्कारका घटना घरमै दबाउने र समाजकै तथाकथित भलाद्मीजनकाे पत्यक्ष संलग्नतामा गरिएको पाइन्छन्।
यसरी मिलाउने मिलापलयहरूको पनि कमि छैन, हाम्रा आगन वरीपरी। जसका कारण कुरा न्यायलयसम्म पुग्नै सकेका छैनन्।
हो त्यस्तै सजिलै बाहिर नल्याइने अपराध हो ‘यौन दुर्व्यवहार’। कतिपय यौन दुर्व्यवहार ‘ह्या यतिको लागि के बोल्ने’ भनेर सार्वजनिक गाडी भित्रै सिमित रहन्छन् भने कतिपय यौन दुर्व्यवहार ‘कसैलाई भनिहाले भने फेल गराइदिन्छन् कि’ भनेर त्यो सुनसान कक्षा कोठामा रहेका बेन्च, बोर्ड र बन्द झ्याल ढोका मै टुङ्गिन्छन्। अनि कतिपय अवस्थामा त आफू माथि के भैरहेको छ भन्ने थाहानै नपाई दबिएर जान्छन्।
यौन दुर्व्यवहार पीडितको लागि यस्तो गार्हो अवस्था हो कि देखाउनलाई ऊसँग शारिरिक घाउ हुँदैन तर ऊ माथि नियमित निकै गलत र घिनलाग्दो व्यवहार भैरहेको हुन्छ। जसले उसलाई मानसिक रूपमा एकदम कठिन अवस्थामा पुर्याइसकेको हुन्छ।
यी समस्यबारे जानकार व्यक्ति यदि पीडामा परे भने पनि यो कुरा बाहिर ल्याउने कि नल्याउने भनेर अन्योलमा पर्दापर्दै हदम्याद सकिने अवस्था छ। अझ धेरै जसोमा त यौन हिंसा भनेको बलात्कार मात्र हो भन्ने साघुरो बुझाई छ। जसको परिणाम यौन दुर्व्यवहारमा परिरहेकालाई आफूमाथि मानवीय र नैतिक हिसावमा मात्र होइन कानुनी रूपमा पनि गलत भैरहेको छ र कानुनको ढोका ढक्कढकाए मैले न्याय पाउँछु भन्नेसम्म थाहा छैन।
यौन दुर्व्यवहारमा केवल महिला मात्र होइन पुरूष र पुरूषमा पनि किशोरावस्थाका पुरूष बढी पीडामा छन् भने तेस्रो लिङ्गीहरू पनि उतिकै शिकार हुनेगरेका छन्।
सामान्य रूपमा यौन दुर्व्यवहार भन्नाले करणीको आशयले गरिने जबर्जस्तीपूर्ण व्यवहार भनेर बुझिन्छ। पति पत्नी बाहेक अन्य कुनै व्यक्तिले करणीको आशय राखी जवर्जस्ती गर्छ भने त्यो यौन दुर्व्यवहार हुन्छ।
यौन दुर्व्यवहारलाई कसुर भनि मुलुकी अपराध संहिताको दफा २२४ ले व्याख्या गरेको छ। यस दफाको उपदफा २ अनुसार कसैले आफ्नो पति वा पत्नि बाहेक अन्य व्यक्तिलाई निजको मञ्जुरी विना करणीका आशयले समातेमा वा निजको संवेदनशील अङ्ग छोएमा वा छुने प्रयास गरेमा, निजको भित्री पोशाक खोलेमा वा खोल्ने प्रयास गरेमा, निजलाई अस्वभाविक रूपमा कुनै एकान्त ठाउँमा लगेमा, यौन सम्बन्धी आफ्नो अङ्ग निजलाई छुन, समाउन लगाएमा, निजसँग अश्लील वा अन्य त्यस्तै प्रकारको शब्द मौखिक, लिखित वा साङ्केतिक रूपमा वा विधुतीय माध्यमबाट प्रयोग गरेमा, अश्लील चित्र वा तस्विर देखाएमा, यौनका आशयले अस्वभाविक, अवाञ्छित वा अमर्यादित व्यवहार गरेमा निजले यौन दुर्व्यवहार गरेको मानिनेछ भनेर प्रष्ट पारिएको छ।
यस्तो कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था समेत संहिताले गरेको छ।
यी र यस्ता यौन दुर्व्यवहार यदी अठार वर्ष मुनिका बालबालिका माथि हुन्छ भने त्यो बाल यौन दुर्व्यवहार हुन जान्छ। बालबालिका माथि हुनेगरेको बाल दुर्व्यवहार जस्तो घृणित कार्यले बालबालिकाको शारीरिक, मानसिक र भावनात्मक विकासमा आघात पुर्याउने गर्छ। अझ बाल यौन दुर्व्यवहार त सबैभन्दा घातक र पिडादायी हुने गरेको छ।
नेपाल प्रहरीको गत दुई आर्थिक वर्षको तथ्याङ्क अनुसार नेपालमा हरेक वर्ष १७३६ बालबालिका यौन दुर्व्यवहारको शिकार हुनेगरेका छन्। जसमध्ये ९९% दुर्व्यवहार बालिकामाथि हुने गरेको छ।
याैन दुर्व्यवहार जोसुकैबाट जहाँसुकै पनि हुनसक्छ तर बालबालिका माथि हुनेगरेका यौन दुर्व्यवहारका घट्नामा ८७%घट्ना नजिकको आफन्त वा चिनेको मानिसबाट हुनेगरेको छ। बाल यौन दुर्व्यवहार लाई न्यूनीकरण गर्न यसबारे बालबालिका सम्बन्धी ऐन २०७५ मा उल्लेख गरिएको छ।
बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ मा उल्लेखित बालबालिका विरूद्धको कसूरको उपदफा ३ ले, यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गर्ने, फकाउने, दबाब दिने वा धम्काउने, बाल यौन शोषण गर्ने वा गराउने, अश्लील कार्य तथा सामग्री निर्माणमा प्रयोग गर्ने आदी उल्लेखित व्यवहारलाई बाल यौन दुर्व्यवहार मानिने भनेर प्रष्ट पारेको छ।
बालबालिकाको चौतर्फी विकासमा पहिलो भुमिका घरपरिवारको हुने भएकाले उनीहरु के सोच्दैछन् उनीहरु माथि कस्तो व्यवहार भैरहेको छ भन्ने कुरामा अभिभावकले विशेष चासो राख्न जरुरी हुन्छ। यसका साथै बालबालिकासँग, हुन सक्ने दुर्व्यवहारका बारेमा अभिभावकले खुलेर कुरा गर्न, बुझाउन र प्रतिकार गर्न सिकाउन पनि उतिकै आवश्यक छ।
दुर्व्यवहार बारे बुझेका व्यक्तिले त अझै कसैसँग साट्न अफ्ठ्यारो मान्छन् भने झन् बालबालिकालाई आफूमाथि के भैरहेकोछ भन्ने नै थाहा नहुने भएकाले बालबालिकाको व्यवहारमा देखापरेको परिवर्तनलाई बुझ्ने प्रयास गर्नै पर्छ।
यौन दुर्व्यवहारले बालबालिकाको कोमल मन र मष्तिस्कमा दिर्घकालिन नकारात्मक असर पार्ने भएकाले विद्यालयमा 'गुड टच र ब्याड टच' बारे चेतना बढाउन झन् आवश्यक छ। अझ कतिपय अवस्थामा परिवारकै कुनै सदस्यबाट यस्तो यौन दुर्व्यवहारमा पर्ने भएकाले पीडितलाई सहज बनाउन सरकार तथा विभिन्न संस्थाले प्रदान गर्ने 'हटलाइन नम्बरहरू' बारे पनि बालबालिका लगायत सबैलाई सचेत पार्न आवश्यक छ।
बढी बलात्कार परिवारका सदस्य वा आफन्तबाट हुनेगरेको र बलात्कार गर्नु अघि पिडकले विभिन्न तरिकाले यौन दुर्व्यवहार गर्ने सम्भावना भएकाले यौन दुर्व्यवहारमा पर्ना साथै त्यसको विरुद्ध यदि बोल्यौं र पीडकको अघि सशक्त ढङ्गले पेश गरेर कानुनी प्रकियामा अघि बढ्यौं भने केही हदसम्म बलात्कारसम्म कुरा पुग्न पाउँदैन की!!