निर्वाचन नजिकिएसँगै पार्टी र उम्मेदवारले सबैभन्दा बढी चर्चा गर्ने विषय भनेकै नारा, आह्वान, घोषणापत्र अनि एजेण्डामा हो। अनि मतदाताले चासो दिएर पढ्ने, दाँज्ने, मनन् गर्ने कुरा पनि कसका जित, पछिका योजना कस्ता छन् भन्ने नै हो।
तर, यो पटकको माहोल अलि फरक छ। एउटा पार्टीकाहरू अर्को पार्टीको चुनाव चिन्ह देखाएर जनतालाई स्पष्ट पार्दै भोट माग्दै छन्। उनीहरूलाई आफ्नै गठजोड बुझाउन हम्मेहम्मे छ। अनि यता जनतालाई पनि कुन पार्टीहरू गठजोड गर्दैछन् अनि आफ्नो क्षेत्रबाट कुन उम्मेदवार कुन सभाको लागि उठदैछन् भन्ने बुझ्न भ्याइ-नभ्याइ छ।
यो पटक आम मतदातालाई मतदान गर्न त्यति सजिलो छैन। एक त प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एकै दिन एकै पटक हुने हुँदा मतपत्रबारे जान्नु र बुझ्नु पर्ने अन्योल त थियो नै, त्यहीमाथि पार्टीहरूबीच भएको निर्वाचनअघिको गठबन्धनले थप अन्योल र वितृष्णा सिर्जना गरिदिएको छ।
'व्यक्तिलाई भोट गर्ने हो पार्टीलाई होइन' भनेर जति नै समझदार मतदाताको परिचय दिन खोजे पनि आफूले योग्य भनेर भोट हाल्दै गरेको उम्मेदवारको राजनीतिक सिद्धान्त के छ भन्ने कुराले मतदाताको नजरमा पहिलो चासो उत्पन्न गर्छ। अर्थात् उम्मेदवारको झुकाव कस्तो वाद वा सिद्धान्तप्रति छ भन्ने कुरा एकदमै संवेदनशील विषय पनि हो।
योग्य छ भने विकासको योजना अघि सार्ला। उचित कानुनको प्रस्ताव गर्ला तर समग्रमा देशलाई समाजवादतर्फ केन्द्रित गर्छ कि उदारवादी लोकतन्त्रलाई जोड दिन्छ या फर्कन चाहन्छ पुरानै राजसंस्थामा भन्ने कुराले मतदाताको मष्तिस्कमा गहिरो मूल्याङ्कन हुने गर्छ र लोकतन्त्रको सुन्दर पक्ष पनि यही हो।
लोकतन्त्रमा सबै प्रकारका राजनीतिक विचार अघि आउनुपर्छ र सबै विचारले प्रतिस्पर्धाका साथ टेस्ट हुने मौका पाउनुपर्छ। तर त्यतिबेला के हुन्छ, जब कम्युनिष्टको सिद्धान्तमा विश्वास गर्ने एउटा कार्यकर्ता जो सिद्धान्त मन पराएरै राजनीतिमा लागेको थियो उसलाई पुरातनवादी विचारमा कट्टर उम्मेदवारलाई समर्थन गर्नुपर्ने वातावरण सिर्जना हुन्छ।
त्यतिबेला के हुन्छ, जतिबेला १० वर्षे जनयुद्धबाट ठुलो पीडामा परेको व्यक्तिलाई उसले पछ्याउँदै आएको सिद्धान्तले हँसिया हथाैडाको छाप सित गठजोड गरिदिन्छ। या त्यतिबेला के हुन्छ, जतिबेला समाजमा विद्यमान सिद्धान्त उचित छैनन् भनेर माओलाई पछ्याएको, १० वर्ष भूमिगत भएको मतदातालाई उही लोकतान्त्रिक पार्टीलाई समर्थन गर्न आह्वान गरिन्छ।
त्योबेला आम मतदाताको आस्थाप्रति ठाडो प्रहार त हुन्छ नै, विश्वासघात पनि हुन्छ। चाहे वैकल्पिक विचारलाई रोजेर होस् या व्यक्तिको योग्यता हेरेर होस् कहिँकदाचित मतदाता यो भूमरीबाट निस्किए भने पनि यस्तो विचारलाई मार्ने, सिद्धान्तको मजाक उडाउने गरी गरिएका गठजोडबाट आएको परिणामले भोलिको राजनीति कता जाने हो? सम्झँदा पनि मन चिसो भएर आउँछ।
जो आफ्नो सिद्धान्तको भएन, ऊ जनताको कसरी हुन सक्छ? जसले आफ्नो कार्यकर्ताको विश्वास राख्न सकेन, उसले मतदाताको विश्वास कसरी राख्न सक्छ?
यसअघि एउटै विचारको हाँगो समाएका दुई पार्टीको एकता नै भएर बेनेको सरकारको त कुन हरिबिजोक भयो भने यस पटकको त गठबन्धनहरू न हुन्। पछि सरकार बनाउने अनि पालो कुर्ने र भाग खोज्नेहरूबीच कत्रो ताण्डव मच्चिने हो, सोच्दा पनि वितृष्णा जागेर आउँछ।
अहिले क्षणिक फाइदाको लागि जो जता टाँसिए पनि विचारमै भिन्नता भएपछि त्यो गठबन्धन भन्नुस् या तालमेलले देशलाई भने नोक्सान नै गर्छ। गठबन्धन वा तालमेल नै गरेपनि केही हदसम्म सिद्धान्त मिल्ने-मिल्नेबीच भएको भए परिस्थिति अलि कम खतरनाक हुन्थ्यो कि!
यस्तो उथलपुथल र आफ्नै विचारप्रतिको गैरजिम्मेवारी देख्दा यो पटक स्वतन्त्र उम्मेदवार र विकल्पका रूपमा खुलेका पार्टीका उम्मेदवारप्रति आम मतदाताको ध्यान जानु स्वाभाविक र अपरिहार्य पनि हो।
वादको खोल ओढेर किताबी सिद्धान्तको ढोङ्ग गर्नेकै समर्थनमा उत्रिनुले उनीहरूको हरेक कर्तुत अनि वर्षौंदेखिका गल्तीलाई समर्थन गरेको हुन जान्छ। तसर्थ अझैपनि सिद्धान्त छोड्न सक्दिन भन्नेलाई मेरो सुझाव ‘आँखा खोल्नुस्! तपाईंको पार्टीले नै सिद्धान्त छोडिसक्यो।’