एउटा दुर्गा प्रसाईंले हल्लाइरहेको सिङ्गो ‘राज्यसत्ता’

पूर्वी पहाडको तेह्रथुमबाट झापा झरेको एउटा प्रसाईं परिवार। छोराछोरी पढाउन र उनीहरूको भविष्य बनाउन बेसी झरेको कृष्णप्रसाद प्रसाईं र कौशिला प्रसाईंको कोखबाट जन्मिएको साँइला सन्तान हुन्, दुर्गा प्रसाईं।

खेतीपाती गरेर सामान्य जीवन बिताइरहेको थियो प्रसाईं परिवार। स्कुले जीवनमै अलकति बरालिएका दुर्गाले भने उपल्लो कक्षा पढ्न सकेनन्।

समय नै त्यस्तै थियो, ठिटौले जीवन बिताइरहेका दुर्गालाई घरकाले बिहे गरिदिए। कलिलै उमेरमा उनले काँधमाथि एउटा जिम्मेवारीको भारी बोक्नुपर्‍यो।

बैंशालु जोबनमा त उनी युरोपका सहरमा थिए, पैसा कमाउन। त्यहाँ पनि उनी धेरै टिक्न सकेनन् र फेरि घरमै फर्के। युरोपमा काम गरेको अनुभव थियो, फर्केर उनले ऋणधन गर्दै भैंसी फार्म खोले। त्यो पनि त्यस्तै भयो। ऋणले टुप्पी नाघ्दै थियो, बैंकले पैसा तिर्न ताकेता गरेपछि उनले तिनै भैसी लगेर बैंकमै हुलिदिए।

हर्कत त यस्तै थियो उनको पहिलादेखि नै!

अहिले!

अचेल जताततै दुर्गा प्रसाईं नै छन्। सत्ता होस् कि प्रतिपक्ष, हर कित्तामा उनको चर्चा छ। व्यापार, व्यवसाय होस् वा राजनीति यता पनि उनका चर्चा अनि विवादका उस्तै हर्कत छन्।

चिया-चौतारी होस् कि भट्टी पसल- दुर्गा प्रसाईंकै चर्चा हुन्छ। राजेन्द्र लिङ्देनभन्दा पनि बढ्दा आश अब उनीसँग छ मान्छेको कि, दुर्गा प्रसाईंले अब राजा फर्काउँछन्।

राजा फर्किन्छन् कि फर्किन्नन् त्यो त दुर्गा प्रसाईं आफैंलाई पनि थाहा छैन। यो एउटा कुनै मन्त्री वा नेतालाई राजीनामा गर्न बाध्य पारिएका कुनै कहानी होइन्, यो एउटा व्यवस्था उल्टिने वा उल्टाउने कुरा हो। त्यहाँसम्मको भविष्यबारे अहिले नै दुर्गा प्रसाईं ज्ञात छैनन्।

तर, यो चाहिँ पक्कै हो कि, एउटा दुर्गा प्रसाईंसँग आज सिङ्गो सत्ता, राज्य व्यवस्था अनि सारा राजनीतिक दलहरू काँपिरहेका छन्।

जीवनका कैयौं दरारहरूबाट आफूलाई उकास्दै आएका दुर्गा प्रसाईं अब भने एउटा अनन्त अभियानको बाटोमा आफूलाई धकेलेका छन्।

राजनीतिका लागि व्यवसाय, व्यवसायका लागि राजनीति

व्यापारिक, व्यावसायिक र राजनीतिक जीवनमा दुर्गा प्रसाईं एउटा यस्तो पात्र हुन्, जो विवाद र चर्चाको चुलीमा चुलिँदै चुलिँदै फेरि निख्रिएका छन्। र, यी एउटा यस्तो प्राणी हुन्, जसले कहिल्यै हार मान्न जानेन।

जित-हारको परिभाषामा उनले आफूलाई कहिल्यै बाँधेनन्, जे गर्न चाहे गरिरहे, गरिरहेका छन्।

झापाको विर्तामोडमा बि एन्ड सी मेडिकल कलेज खोल्दा, अनसन बसेर डा.गोविन्द केसीले सरकारलाई आच्छु-आच्छु पारेका थिए। उनै केसीको अनसनका कारण त्यो बेला मेडिकल कलेजहरूको सम्बन्धन रोकिएको थियो। तर, दुर्गा प्रसाईंले त्यसलाई रोकेनन्। राजाधानीको भन्दा कैयौं अत्याधुनिक र सुविधासम्पन्न अस्पताल बनाए।

मेडिकल कलेजमा डाक्टरी अनि नर्सिङ पढाउने तयारी पनि गरे।

तर, नयाँ ऐन नियम आइसकेका थिए। सम्बन्धन पाउने कुनै उपाय थिएन, अहिलेसम्म पनि त्यसको टुङ्गो छैन। त्यो मेडिकल कलेजका लागि उनले करोडौं रकम ऋण लिइसकेका छन्। अस्पताल त सञ्चालन पनि गरिसकेका छन्।

उनी रोकिँदै रोकिएनन्। बरु त्यसका लागि नेताका घरदैलो धाउन थाले।

युरोपबाट फर्केपछि भैँसी फार्म हुँदै स-साना ब्यापारमा हात हाल्दै गर्दा उनी काँग्रेसी थिए। पारिवारिक लफडा मिलाउनका लागि उनी युद्धकालमै माओवादीलाई सहयोग गर्न थाले। माओवादीलाई सघाउँदै गर्दा उनी एकपटक सैनिक हिरासतमा पनि परे। करिब छ महिना सैनिक हिरासतमा बसेका उनलाई काँग्रेसी नेताहरूले नै छुटाएका थिए।

तर, उनले पछिसम्मै माओवादी छोडेनन्। माओवादी युद्ध सकेर संसदीय राजनीतिमा आए। दुर्गा प्रसाईं आफ्नै व्यवसायमा थिए। त्यो बेलासम्म त उनले माओवादीभित्र सिधैं प्रचण्डसँग सम्पर्क गर्नसक्ने हैसियत बनाइसकेका थिए।

२०७४ सालको निर्वाचनसम्म राजनीतिक परिचयमा दुर्गा प्रसाईंको नाम त्यतिधेरै चर्चमा थिएन। बरु उनको परिचयअघि त्यो बेला मिडियाका हेडलाइनहरूले ‘मेडिकल माफिया’का भाष्य निमार्ण गरिदिएका थिए।

त्यो निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेले गठबन्धन गरेका थिए। उनीहरूकै बहुमत भयो। सरकार पनि उनीहरूकै बन्यो। पार्टी मिसाएर बनेको नेकपाका एकजना अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भए। अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीमै थिए।

२ वर्ष पुग्दा नपुग्दै पार्टीभित्र विवाद चुलिन थालिसकेको थियो। प्रचण्डले ‘आलोपालो’ प्रधानमन्त्री हुने भनिएको ‘भद्र सहमति’को पोल खोलिदिए। नेकपाभित्र ‘कित्ताकाट’ सुरु हुँदै थियो। त्यो बेला यी दुई नेतालाई मिलाउन मिडिया व्यवसायी क्याप्टेन रामेश्वर थापादेखि थुप्रै व्यापारीहरू पनि लागेका थिए। क्याप्टेन थापाले त होटल मेरियट्मा दुई नेतालाई राखेर वार्ता पनि गराइदिएका थिए।

तर, सबैभन्दा चर्चामा आए दुर्गा प्रसाईं। जसले भक्तपुरको पुरानो थिमीस्थित आफ्नो भव्य महलमा ओली र प्रचण्डलाई एउटै टेबलमा राखेर ‘मार्सी’ चामलको भात खुवाए।

जुम्लाको मार्सी एकएक दुर्गा प्रसाईंसँगै चर्चामा आयो। काठमाडौंमा जसरी मार्सी चामलको माग ह्वात्तै बढ्दै थियो त्यो भन्दा बढी चर्चा, उखान र टुक्काहरूमा दुर्गा प्रसाईं जोडिन थाले।

२०७७ साल फागुन १६ गते उनले पूर्वाञ्चल क्यान्सर अस्पतालमा ओलीलाई प्रमुख अतिथि बनाएका थिए। यसमा पनि प्रसाईंकै लगानी छ।

नेकपाभित्रको विवाद उत्कर्समा थियो। त्यहाँभित्रका प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमहरू नेपाली काँग्रेससँग मिलेर केपी ओलीको सरकारविरुद्ध आन्दोलन गरिरहेका थिए।

त्यो सभाबाटै ओलीले दुर्गा प्रसाईंको त्यो बि एण्ड सी मेडिकल कलेजले सम्बन्धन पाउँछ भनेर घोषणा गरिदिए।

त्यसपछि हो, केपी ओली दुर्गा प्रसाईंको ‘हजुरबा’ बनेको!

त्यसअघि नै मेडिकल कलेजले सम्बन्धन नपाइसकेको अवस्थामै काठमाडौं विश्वविद्यालयको सिनेट बैठक बोलाएर त्यो बेला ओलीले बि एण्ड सीलाई सम्बन्धन दिनका लागि प्रक्रिया अघि बढाउन आदेशसमेत दिइसकेका थिए।

त्यसको करिब दुई सातापछि २०७७ फागुन २८ गते सर्वोच्चको एउटा फैसलाले ‘नेकपा’लाई भंग गरिदियो। एमाले र माओवादी आ-आफ्नै हैसियतमा फर्किए। केही माओवादीहरू एमालेतिर रहे। बाँकी सबै पुरानै भए।

नेकपाभित्र विवाद चर्किरहँदा ओलीको समर्थन र प्रचण्डलाई निकै गाली गरिरहेका दुर्गा प्रसाईंले भने माओवादीमा फर्केनन्। बरु ओलीसँगै बसे।

भक्तपुरको सूर्यबिनायकमा प्रसाईंले २ अर्ब लगाएर खोलेको तरकारी बजारको रिबन पनि ओलीले नै काटेका थिए।

पार्टीको सदस्य नहुँदै पनि उनी ओलीका यति निकट भइसकेका थिए कि, ओलीकहाँ पुग्नका लागि पार्टीका कैयौं पुराना नेताहरूले पनि उनकै ‘सोर्स’ लगाउनुपर्थ्यो।

सदस्यता नै नलिएर एमालको विधान अधिवेशनमा प्रतिनिधि बन्ने हैसियत प्रसाईंलाई ओलीले नै दिएका थिए।

२०७८ साल मंसिर १० गते चितवनको सौराहामा भएको एमालेको दशौं महाधिवेशनमा ओलीले उनलाई युवाहरू परिचालन गर्ने जिम्मेवारी दिएका थिए। यसैबाट हौसिएका प्रसाईंले त्यो बेला ओलीलाई महाधिवेशन स्थलमै पाउ परेर ‘प्रणाम’ गरेको थिए।

त्यसपछि फेरि ओलीले नै उनलाई केन्द्रीय सदस्यमा मनोनीत गरे। त्योमात्रै होइन सिङ्गै पार्टीको उद्योग, वाणिज्य तथा आपूर्ति विभागमा उपप्रमुखको जिम्मवारी पनि दिए।

फेरिएको बाटो

२०७९ सालको आम निर्वाचनपछि भने प्रसाईंको रुप अलि फेरिन थाल्यो। स्थानीय तहको निर्वाचनमा ‘माओवादी र नेकपा एकीकृत समाजवादीले एक-एक सिटमात्रै ल्याए सब छोडेर बृन्दाबन जान्छु’ भनेर घोषणा गरेका प्रसाईं बृन्दाबन त गएनन्, बरु अब सिङ्गै राज्यसत्ताका लागि एउटा टन्किरहने पिलो बनेका छन्।

गत मंसिरको चुनावपछि त उनले आफ्नो सारा रुप बदलेर अब ‘व्यवस्था परिवर्तन’का लागि अभियानको नेता बनिसकेका छन्।

काँग्रेस, माओवादी र एमाले छोडेर प्रसाईंले जब पूर्वराजा ज्ञानेन्द्र शाहलाई समाते त्यसपछि दुर्गा प्रसाईंको परिचयमात्रै फेरिएका छैनन्, विवाद र चर्चाका शीर्षकहरू पनि परिवर्तन भएका छन्।

गत फागुन १ गते प्रचण्ड नेतृत्वको सरकारले सार्वजनिक बिदा नै घोषणा गरेर ‘जनयुद्ध’ दिवस मनाइरहँदा पूर्वी नेपालको झापामा पूर्वराजा ज्ञानेन्द्र शाह, उनका छोरा पारस र राजपरिवारका अरु सदस्यहरूलाई एउटै मञ्चमा राखेर व्यवस्था परिवर्तनको ‘महाअभियान’ घोषणा गरिरहेका थिए।

त्यसको एक सातापछि नेकपा एमालेले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निस्कासन गरिदियो।

तर, पनि उनी हतास भएनन्। बरु उनले एमालेलाई खुल्ला चुनौती दिँदै सडक तताउन थाले।

खासगरी बैंकबाट ऋण लिएका र तिर्न नसकेकाहरूको नेतृत्व गर्दै सडक आन्दोलन गर्दै आएका प्रसाईं अहिले ओलीसँगै सबै राजनीतिक दललाई उत्तिकै गाली गर्छन्।

बैंक सञ्चालकहरूलाई ‘कालो मोसो दल्नुपर्छ’ भन्ने अभियान चलाएका उनलाई दसैंअघि जमलको एलोप्यागोडा होटलमा एमाले नेता महेश बस्नेतका कार्यकर्ताहरूले मोसो खन्याइदिए।

त्यसपछि यी दुई समूहका युवाहरू जहाँ भेट्यो त्यहीँ खेदाखेद गरिरहेका छन्। त्यसपछि बस्नेतले पनि प्रसाईंलाई हरेक ठाउँमा अवरोध गर्ने योजना बनाएका छन्।

करिब एक महिनाअघि नै देशभरिबाट मान्छे ल्याएर काठमाडौंमा आन्दोलनको सुरुवात गर्ने घोषणा गरेका प्रसाईं यतिबेला त्यही अभियानमा व्यस्त छन्। त्यही आन्दोलनलाई अवरोध गर्न बस्नेतले पनि युवा संघमार्फत् मंसिर ७ गते नै प्रदर्शनको घोषणा गरेका थिए। तर, त्यसको व्यापक आलोचना भएपछि बस्नेतको घोषाणाको स्वामित्व अब एमालेले नै लिएको छ।

मंसिर ७ को रुझान

‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाऔं महाअभियान’ नाम दिइएको यो आन्दोलनको सुरुवात मंसिर ७ गते राजधानीबाट हुनेछ। त्यसका लागि प्रसाईं र उनको समूहले ब्यापक तयारी गरिसकेको छ।

कम्तीमा पाँच लाख मान्छे जम्मा हुने भनिएको यो आन्दोलनका लागि सुरुमा माइतीघर मण्डलालाई तोकिएको थियो। पछि एमालेको युवा संघले पनि त्यहीँ नै आन्दोलन गर्ने भनेपछि अब प्रहरी प्रशासनले माइतीघरमा कसैलाई पनि प्रवेश गर्न नदिने नीति लिएको छ।

युवा संघको नाममा महेश बस्नेतले घोषणा गरेको त्यो आन्दोलनलाई अब एमाले आफैँले स्वामित्व लिएर उसको मुख्यालय च्यासलमा सभा गर्ने भनिसकेको छ।

तर, प्रसाईंका यी लाख मान्छेले सभास्थलको टुङ्गो अहिलेसम्म भइसकेको छैन। जबकि देशका कुना-कुनाबाट मानिसहरू काठमाडौं आउने अन्तिम तयारीमा जुटिसकेका छन्।

उनको सचिवालयले जनाएअनुसार अहिलेसम्म यो कार्यक्रमका लागि स्वफूर्त:रुपमा रकम जम्मा हुने क्रम जारी छ। यो अभियानमा लागेकाहरूले आर्थिक सहयोगका लागि सामाजिक सञ्जालमा पनि अपिल गरिरहेका छन्।

खाना र बस्नका लागि काठमाडौंका विभिन्न पार्टी प्यालेस, होटेल र धर्मशालाहरूले सहयोग गर्ने भनेका छन्। त्यसले नपुगे खाली जग्गामा पनि त्रिपाल टाँगेर बस्ने भनिसकेका छन्।

त्यसका लागि काठमाडौं आउनेहरूलाई आफैसँग ओढ्ने, ओछ्याउने र अरु पनि आवश्यक पर्ने सरसामानहरू आफैँले ल्याउन आह्वान गरेका छन्।

यसपछि के हुन्छ?

यो त दुर्गा प्रसाईं आफैँलाई पनि थाहा छैन। बैंक ब्याज मिनाहाका लागि सडकमा आन्दोलन गरिरहेका उनले एकाएक ‘व्यवस्था परिवर्तन’को अभीष्ट अंगालेका छन्।

यो माग कसरी उठ्यो? उनलाई समर्थन गर्नेहरू भन्छन् ‘यो दुर्गा प्रसाईं एक्लैको माग होइन, सारा जनता आफैँ यो व्यवस्थाविरुद्ध उठिसकेका छन्।’

भन्नेहरू भनिरहेका छन्- सरकारले बैंकको ब्याज मिनाहा गरिदियो भने वा उनको मेडिकल कलेजलाई सम्बन्धन दियो भने उनी त शान्त भइहाल्छन् नि!

बाहिर सार्वजनिक भएका र स्वयम् प्रसाईंले पनि स्विकार गरेअनुसार उनले विभिन्न बैंङ्कहरूबाट ल्याएको ऋणको सीमा लगभग पाँच अर्ब नाघिसकेको छ। सबैभन्दा धेरै उनले मेडिकल कलेजमा लगानी गरेका छन्। तर, त्यसकै आधिकारिकता छैन।

तर, उनलाई साथ दिइरहेकाहरू भन्छन्, ‘यो अभियानमा एउटामात्रै दुर्गा प्रसाईं छैनन्, उनीपछि अरु पनि तयार भइसकेका छन्।’

यो एउटा ‘अनन्त अभियान’ले भने सिङ्गो राज्यसत्ता नै हल्लिरहेको छ।

प्रधानमन्त्री प्रचण्ड अनि प्रतिपक्ष एमालेका अध्यक्ष ओलीमात्रै होइन, सारा राजनीतिक दलका नेताहरूले भनिरहेका छन्- ‘यो व्यवस्था उल्टाउने षड्यन्त्र हो। यसको हामी सामना गर्छौं।’

राजनीतिको एउटा तथ्य के पनि हो भने जब नेतृत्वले आफूमाथि संकटको बादल मडारिइरहेको देख्छ अनि उसले भन्ने एउटामात्रै वाक्य हुन्छ- ‘व्यवस्था उल्टाउने षड्यन्त्र भयो, व्यवस्थामाथि प्रहार भयो…।’

यहाँसम्म कि त्यसकै विरुद्धमा भनेर प्रधानमन्त्री आफैँले ‘लाखौं मान्छे सडकमा ओराल्ने’ घोषणा गरिसकेका छन्।

सत्ता राजनीतिको इतिहासमा बिरलै हुन्छ, सरकारको नेतृत्व गरिरहेकै पार्टीको अगुवाइमा सडक आन्दोलन।

उनले त सारा राजनीतिक दलहरूलाई बोलाएर ‘गणतन्त्र र संविधानमाथि प्रहार भइरहेको भन्दै एक हुन’ पनि सहमत गराइसकेका छन्।

सत्ताधारी दल अनि विपक्षी एमालेमात्रै होइन, सिङ्गो राज्य प्रशासनले उनलाई ‘मुख्य सुरक्षा चुनौती’को सूचीमा राखिसकेको छ।

एउटा सामान्य व्यक्ति हुन्, दुर्गा प्रसाईं। उनको परिचयका अघि कुनै पुस्तैनी राजनीतिको इतिहास छैन। न दरबारसँग साइनो छ, न अरु कुनै राजनीतिक दलको विरासत।

खेती किसानीभन्दा माथिको सपना बिरलै देख्ने एउटा मध्यम वर्गीय प्रसाईंले यो ‘धनाढ्य’ परिचय बनाउनुभन्दा अघिल्तिर कथा कहानीका ठुल्लठूला पहाडहरू छन्। जहाँ उनका अनेक किस्सा, चर्चा र विवादका कडा टुकुडीहरू पनि छन्।

पढ्न नसकेर कलिलै उमेरमा आफ्नोभन्दा धनी परिवारकी छोरीसँग बिहेवारी गरेका प्रसाईंसँग यस्ता भयंकर सपनाहरू खासै थिएनन्। जब असफलताहरूले चुली छुन थाले अनि उनले राजनीतिलाई आफ्नो हतियार बनाए। कति राजनीतिक दलले उनलाई आड बनाए।

यो बराबरी थियो, ससुरालीको जग्गा प्लटिङ गर्दै उनले त्यही जमिनमा अर्बौंको पाँचतारे अस्पताल ठड्याए, जहाँ उनको काठले बारेको घर थियो र त्यही घरबाट प्रसाईंले आफ्नो संघर्षका यात्रा सुरु गरेका थिए।

उनका आलिसान व्यावसायिक र भव्य निवासहरू त्यो टुक्रा पारिएको जमिनबाट मात्रै फैलिएको होइन, उनी आफैँले स्विकारेको कुरा हो यसमा राजनीतिका अंशहरू त्यत्तिकै गाँसिएका छन्।

राजनीतिक नेतृत्वले पुल्पुल्याएको एउटा व्यक्तिले त्यसको प्रयोग र दुरुपयोग गर्दै कसरी आम मान्छेको भावनालाई राज्यसत्ताकै विरुद्ध लगाउनसक्छ भन्ने एउटा गतिलो उदाहरण अहिले दुर्गा प्रसाईं नै हुन्।

जसको एक आह्वानमा देशभरिका लाखौं मान्छे ‘सिंहदरबार घेर्न’का लागि तयार भइबसेका छन्। भलै उनले भनेजस्तै पाँचै लाख मान्छे काठमाडौं नआउलान्, तर यो भने पक्कै हो कि एउटा राजनीति दलले देशभरिबाट जर्बजस्ती बटुलेका मान्छे भन्दा धेरै उनले पक्कै देखाउनेछन्।

प्रकाशित मिति: : 2023-11-19 22:06:00

प्रतिकृया दिनुहोस्

ट्रेन्डिङ