एनआरएनए महाधिवेशनमा ‘भेरो भोटिङ’को चुरो कुरो

Breaknlinks
Breaknlinks

गैरआवासीय नेपाली संघको एघारौँ महाधिवेशनबाट निर्वाचित भएर अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा काम सुरु भइसकेको छ।

एनआरएन निर्वाचनलाई सभ्य, शालीन र प्रविधिमैत्री बनाउन सर्वसम्मत तवरले इतिहासमै पहिलो पटक अनलाइन भोटिङ अभ्यास गरिएकामा त्यसबाट आशातित रुपमै सहज ढंगले चुनावी प्रक्रिया सम्पन्न भयो।

एनआरएन आइसिसीबाट गठित भोटिङ सेलेक्सन कमिटीले छानेको विश्वप्रसिद्ध अनलाइन भोटिङ कम्पनी ‘भेरो भोटिङ’बाट एनसिसीदेखि अक्टोबर १९ मा सम्पन्न आइसिसीको निर्वाचनमा कुनै विवाद र समस्या ठाउँ देखिएन, छैन।

चुनावको प्रारम्भिक नतिजा त्यो सफ्टवेयर प्रणालीको ‘रिभ्यू’ बिनै जस्ताका तस्तै प्रसारण गर्ने सहमति भएअनुसार त्यसो गरिँदा एउटा सानो प्राविधिक ‘कन्सर्न’ देखा पर्‍यो। उपाध्यक्षका उम्मेदवार डा. केशव पौडेलले चुनावको १२ घण्टाअघि आफ्नो नामको स्पेलिङ(हिज्जेहरू) काठमाडौँबाट सच्याउन लगाउँदा भेरो सफ्टवेयरको एल्गोरिदमले त्यसलाई तत्काल पहिचान गर्न सकेन। यो सानो प्राविधिक अलमललाई आकाशै खस्यो भनेझैँ गरी अतिरञ्जित गर्ने र अनर्गल मच्चाउने काम जुन पक्षबाट भयो, त्यही पक्षले नवनिर्वाचित समितिलाई काममा अवरोध गर्ने, समानान्तर समिति बनाएर सरकारलाई समेत अनावश्यक झमेला दिने काम गरिरहेको छ। जुन सर्वथा निन्दनीय छ।

जनमानसले यतिबेला बुझ्नुपर्ने विषय के छ भने भेरो भोटिङलाई छनोट गर्ने समितिमा म आफैँ र डा. पौडेल, अध्यक्ष पदका उम्मेदवारद्वय राजेन्द्रकुमार शर्मा र महेश श्रेष्ठ एवम् सुनिल शाहलगायतका थियौँ।

कयौँ पटकको नेगोशिएशन, संवाद र परीक्षणपछि संसारमै नाम कहलिएको भेरो भोटिङसँग उक्त समितिले अनलाइन निर्वाचन गराउने सम्झौता गरेको हो। डा. पौडेलको प्रारम्भिक नजितामा देखिएको विषयका सन्दर्भमा तत्काल भेरो भोटिङले जुम मिटिङ र लिखित प्रष्टिकरणबाट निवर्तमान आइसिसी, निर्वाचन समिति, पूर्व अध्यक्षहरू, मतदाताहरूलाई विश्वस्त तुल्याउने गरी जानकारी गराएकै हो। जसका आधारमा निर्वाचन समितिले विजेताहरूलाई शपथ गराएको थियो।

यति प्रष्ट, जिम्मेवार र पारदर्शी चुनावी प्रक्रिया हुँदाहुँदै कुनै पक्षलाई चित्त नबुझेको खण्डमा थप छानबिन गर्न/गराउन एवम् जुनसुकै ठाउँमा गएर जवाफ दिन हामी सबै तयार छौँ।

हामीले असन्तुष्टि जनाउनु हुने साथीहरूलाई स्वतन्त्र आइटी अडिट गर्न आइटी कम्पनी प्रस्तावका लागि दुई पटक लिखित पत्र पठाइसकेका पनि छौँ। यसमा पनि चित्त नबुझे प्रचलित कानुनअनुसार उपचार खोज्ने सभ्य उपाय छँदैछ। परन्तु चुनावमा पराजित हुनु भएका राजेन्द्रकुमार शर्मा, वुद्धिसागर सुवेदी, ठाकुर ढुंगाना, गंगाधर गौतमलगायतका मित्रहरूले निरन्तर एनआरएनए सचिवालयमा धावा बोल्ने, कर्मचारीहरूलाई तर्साउनेलगायतका गतिविधि गरिरहनु अशोभनीय हर्कत हो।

एनआरएनए संसारभर छरिएका नेपाली र नेपालीभाषीहरूको हित संरक्षण एवम् उनीहरूको सामर्थ्यलाई मातृभूमिको समृद्धिसँग जोड्ने लक्ष्य बोकेको गैरराजनीतिक साझा संस्था हो। यसमा आवधिक निर्वाचनको माध्यमबाट संस्थाको उद्देश्यअनुसार सेवा गर्नका लागि नयाँ नेतृत्व चयन गरिन्छ। यो कुनै लाभको प्लेटफर्म होइन। त्यसो भएको हुनाले यो संस्थाको गरिमा र पवित्रता अक्षुण्ण राख्नु हामी सबैको दायित्व हो।

लोकतान्त्रिक विधिमा चल्ने संस्थामा हारजित गणित पनि हो, लोकतन्त्रको सौन्दर्य पनि हो। यसमा जित्ने-हार्ने दुवै पक्षले उत्तिकै योगदान दिई सहकार्य गर्नुपर्छ। तर हारलाई जुँगाको लडाइँ र अहम् साँध्ने हतियार बनाएर जस्तो खालको रवैया र ताण्डव नृत्य हाम्रै मित्रहरूले मच्चाइरहनुभएको छ। त्यसले ‘बाघ कराउनु र बाख्रा हराउनु’ भनेजस्तै एनआरएनएलाई खिसी गर्ने पक्षलाई बल पुर्‍याएको छ। र, एनआरएन समुदायप्रतिको दृष्टिकोण नै धुमिल हुन पुगेको छ।

केही व्यक्तिहरूको कुत्सित उद्देश्यले यति ठूलो गरिमामय संस्थाको विरासत डग्मगाउँदैन।

आज आफैँ माला, अविर लगाएर हिँड्दा लाज नलागे पनि भोलि सन्ततिले धिक्कार्दा ती मित्रहरूको मन रोला/नरोला, तर हामी काममा विश्वास गर्नेहरूले चाहिँ अबका दिनमा एनआरएनए अभियानलाई थप सुदृढ, एकीकृत र प्रभावकारी बनाउन एकजुट हुनु आवश्यक छ।

यो संस्थालाई हामी कसैको हातबाट राजनीतिक हतियारका रुपमा प्रयोग हुन दिँदैनौँ। पैसा र सत्ताको दुरुपयोग गरी चुनाव जित्नेजस्ता विकृतिहरूलाई पनि कुनै ठाउँ दिँदैनौँ।

एनआरएन निर्वाचनबाट विजय प्राप्त सम्पूर्ण साथीहरू, निर्वाचनमा सहभागी भई लोकतान्त्रिक गरिमा बढाउने उम्मेदवार र मतदाता साथीहरूमा म वृहत्तर सहकार्यका लागि अपिल गर्छु। साथै नतिजालाई स्वीकार्न नसकी स्वेच्छाचारी व्यवहार गर्ने साथीहरूलाई पनि एक पटक विवेकपूर्ण सहकार्यको प्रयास गर्न आग्रह गर्छु।

म उहाँहरूलाई भन्न चाहन्छु– तपाईं संसारको जुनसुकै अदालत वा निकायमा गएर उपचार खोज्नुहोस्, शुभकामना छ।

तर, निर्वाचित भएको विषयमा एउटा मात्र त्रुटी भेटिएमा हामी तत्काल पद त्याग गर्न तयार छौँ। होइन, त्यसो नगरिकन हुलहुज्जत र जंगली व्यवहारबाट आफूखुसी गर्न खोज्नुहुन्छ भने त्यसको परिणामको जिम्मेवारी तपाईंहरूले नै लिनुपर्छ।

समस्यारहित समाज हुन्न, गुनासोरहित मानिस हुन्नन्। तर, यथार्थ एउटै हुन्छ। यसलाई स्वीकार नगरी सुखै छैन।

एनआरएनएमा देखिएको यी मामिलाहरूलाई ठूलो संस्थाभित्रको सामान्य विषयका रुपमा हेर्न जरुरी छ। चुरो कुरो भनेको एनआरएनएको मुख्य मिसनलाई प्रभावित हुन नदिनु हो।

(लेखक— गैरआवासीय नेपाली संघका नवनिर्वाचित महासचिव हुन्)

प्रकाशित मिति: : 2023-11-02 20:11:00

प्रतिकृया दिनुहोस्