खाडी पसेकी आमाको यादमा बितेका १५ दसैँ

मिनु गोले

काठमाडौं

सहरमा भेटिने हरेकले सोधिरहन्थे- घर कहिले जाने?

गाउँघरबाट साथीहरूले फोन अनि म्यासेजमा भनिरहेका हुन्थे- घर कहिले आउने?

दसैँ आउन त अझै बाँकी नै थियो, तर मौसमै दसैँ-दसैँ भएको थियो। भलै अब दसैँ सकियो तर दसैँका याद र सम्झनाहरू ताजा भएर बसिदिन्छन्, हरेक साल दसैँ आउँदासम्म।

सायद त्यो घरको याद थियो, गाउँघर अनि साथीहरूको सम्झना थियो। अनि ‘घर कहिले जाने…?’ ‘घर कहिले आउने…’ यी दसैँका थेगो।

खेतका गरामा धानका बालाहरू पहेँलपुर भएर लहलह हुन्थे। शारदीय उज्यालोमा खुलेको नीलो आकाशमा बादलका टुक्राहरू। खुसीको बयली खेलिरहेको प्रकृति। आँगनभरि पारिजातका फूलहरू ढाकिँदा अनि सयपत्री र मखमलीका फूलहरू ढकमक्क हुँदा दसैँ आइपुग्थ्यो गाउँमा।

कमेरो माटोको सुगन्धले गाउँ नै गम्किएको हुन्थ्यो। घरदेखि चौतारोसम्मको सरसफाइ र लिपपोत गरेको रातो, सेताे माटोमा मिसिएको गोबरको सुवास। पहेँलो अनि सेतो कमेरोले रंगिएका घरहरू।

दसैँको स्वागतमा पिसान र कुटानको चटारोले मिलको धड्कन जोडजोडले धड्किन्थ्यो।

लाहुर गएका जेठा, कान्छाहरू त्यो ठुल्ठूला झोला बोकेर गाउँ छिर्दा खुसीले गाउँ नै कराउँथ्यो। रेडियोमा घन्किने मालश्रीका धुनहरू अनि वृद्ध बाउआमा र केटाकेटीको खुसीले जवानी चढ्थ्यो।

अनि दसैँ आउँथ्यो। गाउँभरि मासुको सुगन्ध हुन्थ्यो। जुवातासमा रमाइरहेकाहरूले दसैँको उमंग बोकील्याउँथ्यो।

मोबाइलमा म्यासेन्जर कल बज्यो। एक-एक गर्दै स्मृतिमा नाचिरहेका सारा यादहरू भंग भए।

‘कान्छी तँ घर कहिले जान्छस्? तेरो अपिसले कैले छुट्टी दिन्छ?’ आमाले एकै सासमा सोधिभ्याइन्।

‘दाइ र भाइ जान्छन्, म जान्नँ होला…।’ धेरै कुरा गर्न मनै थिएन।

‘तँ किन जान्नस्?’ आमाको स्वर अलि ठूलो भयो, ‘खुरुक्क जा भन्देको छु है…!’

मैले कल काटिदिएँ।

फेरि उही यादहरू घुम्न थाले।

अघिल्लो वर्षको दसैँ। टीकाको दिन बिहान ४ बजे उठेर घरदैलो लिपपोत गरिसकेको थिएँ। घरमा बा, दाइ, म र भाइमात्रै थियौँ। बाले बनाएको चिया पिएर म फेरि आफ्नो काममा लागेँ।

टीकाको साइत बिहान ११ बजेपछि थियो। भान्साको काम सकेपछि बुवाले हामीलाई टीका लगाइदिए। अनि हजुरआमाको घरमा टीका थाप्न गयौँ।

फूपुले फेरि मामाघर जाने र टीका लगाएर मानेडाँडातिर घुम्न जाने अनि पिङ खेल्ने भनिन्। मैले जान्नँ भनेँ। सबैजना गए। म एक्लै घरमा थिएँ। घरभित्र बस्न मन पनि लागेन। बारीतिर गएर टोलाइरहेँ।

यादभरि झलझली आमाको अनुहार झुल्किरह्यो। त्यो खाडीमा यो दसैँका बेला मेरी आमा के गर्दै होलिन्? सबका आमाहरू घरभरि थिए। आमा भएको भए म पनि मामा घर जाने थिएँ।

आमा, आमा भएको दसैँ र आमा बिनाको दसैँ। बुवा अनि हाम्रो परिवारको दशा। यादहरूको रिंगाटासँगै कतिबेला आँशु झरे पत्तै भएन।

बुवा कमाइ गर्दैनन्। घरमै बसेर रक्सी खानेमात्रै काम हो बाको। परिवार पाल्न आमा खाडी पसेको वर्षौँ बितिसक्यो।

अहो, हाम्रो दसैँ!

गोठमा गाइबाख्रा कराइरहेका थिए। आँशु पुछ्दै तिनीहरूलाई घाँस हालिदिएँ। अनि फेरि बारीतिर लागेँ।

‘किन बारीतिर एक्लै घुमिहिँड्या? जा मानेडाँडातिर…’, बाले भने। मैले ‘जान्नँ’ भनेपछि बाले फेरि भने, ‘तँ एक्लै बस्। म लागेँ माथि गाउँतिर…।’

चप्पल पड्काउँदै बा मास्थिर लागे।

राति आमा भएको दसैँका फोटाहरू हेरेर रुँदै थिएँ। साढे दश बजेसम्म बा, दाइभाइहरू कोही आएनन्। कतिबेला निदाएछु।

बिहानै उठेँ, झोला बोकेँ अनि निस्किन लाग्दा बाले भने, ‘काँ जान लागिस् ब्यान ब्यानै?’

‘काठमाडौँ जान्छु। यहाँ किन बस्ने र!’ बा केही बोलेनन्। म हिँडेँ।

यसपालि यत्तिकै बसेँ। घर गइनँ।

परिवारमा हाम्रो छ जनाको थियो। बाआमालाई चार छोराछोरीलाई पढाउन अनि घर खर्च पुर्‍याउनै गाह्रो। बाको कमाई थिएन। अनि आमा खाडीतिर लागिन्।

१५ वर्ष बितिसक्यो, आमा हिँडेको। हामी एक्लै भएको। दसैँ पनि दसैँजस्तो नभएको। आमा बिनाको दसैँ पनि के दसैँ!

प्रकाशित मिति: : 2023-10-28 16:11:00

प्रतिकृया दिनुहोस्