‘नोष्टाल्जिक’ दसैं

BreaknLinks
BreaknLinks

संस्कृतिका विषयमा मानवशास्त्र धेरै ठाउँमा बोलेको छ। ‘द इन्ट्रप्रिटेशन अफ कल्चर’ अर्थात् ‘संस्कृतिहरूको ब्याख्या’ पुस्तक लेखेका छन्, क्लिफर्ड ग्रिजले। सन् ७० को दशकमा मानवशास्त्रीहरूले संस्कृति-अवधारणाको अवसानका विषयमा अनेकन धारणा राखेका थिए। ‘थ्योरी इन एन्थ्रोपोलोजी : अन द डिमाइस अफ द कन्सेप्ट अफ कल्चर’ आराम येङ्गोयनले विस्तृतमा लेखिदिए।

फरक भूगोल र बेग्लै समाजका संस्कृति पनि बेग्ला बेग्लै नै हुन्छन्। मानवशास्त्री राल्फ लिन्टनले लेखेको पुस्तक ‘द ट्रि अफ कल्चर- १९९५’मा उनले धेरै कुराहरू उजागर गरेका छन्।

सांस्कृतिक प्रसारवाद अमेरिकन तरिका हो। ‘कल्चरल रिलेटिभिज्म’ बेलायती प्रसारवादीहरू भन्दा भिन्न तरिकाले अमेरिकन मानवशास्त्रीहरूले सांस्कृतिक सापेक्षवादको जगमा ब्याख्या गरेका छन्। हामी पूर्वीय दर्शन र ब्याख्याको अन्तर्राष्ट्रियकरणमा चुकेका छौं। ‘कल्चरल रिलेटिभिज्म’ले एउटा संस्कृतिका मूल्य, मान्यता र आदर्शको भरमा अर्को कुनै पनि संस्कृतिको मूल्याकंन गर्ने प्रवृत्तिलाई स्विकार्दैन्।

दसैँका कुरा:

केटा-केटी छँदाको दसैँ खास लाग्थ्यो। अहिले पनि बालबालिकालाई दसैँ यस्तै हुन्छ भन्ने लाग्छ। नेपालगन्जमा रामलीला हेरिन्थ्यो। त्रिभुवनचाेकमा रातभरि भुइँमा दरी बिच्छ्याइएको हुन्थ्यो। मज्जाले पलेटी कसेर भिडियो हेरिन्थ्यो।

बरु त्यसका लागि साँझ ७-८ बजेतिर खाना खाएर घरबाट कसरी निस्कने दाउपेच बडो कठिन हुन्थ्यो। गणेशपुरका अँध्यारा गल्लीहरूबाट साथीहरू फटाफट निस्केर पहुना काकाको पसलनजिक जम्मा हुन्थ्यौं।

गोजीमा १०-२० रुपैयाँको जोहो सबैले गरिन्थ्यो। देवाफुलवारी, लक्ष्मी चलचित्र मन्दिरको बाटो हुँदै एक हुल हामी रामलीला मैदान पुग्थ्यौं। आफ्ना टोलका एकलहरमा बसिन्थ्यो। भीड र समूहमा कोही अलमलियो भने त्यो रात ऊ एक्लै पर्थ्यो। अहिलेजस्तो मोबाइलको जमाना थिएन। हुलमा हरायो कि त्यो दिनको बेपत्ते सूचीमा पर्थ्यो ऊ।

भालेको डाँकोसँगै त्यो हुल बागेश्वरी मन्दिर पुग्थ्यो। मन्दिर परिसको पोखरीमा अञ्जुली भरीको पानीले अनुहारमा उज्यालो चढ्थ्यो। तलाउमा डुबुल्की मार्नेहरूले सिक्का पैसा खोजेर मुखमा कोच्दथे। त्यसरी जम्मा भएको सामूहिक पैसा जम्मा गरेर ठेलामा राखिएको रातो हलुवा र चना प्रसाद ठानेर खाएपछि घर फिर्ता हुने रुटिन ९ दिन चल्थ्यो।

बालापनका यी यादहरूले दसैँ नोष्टाल्जिक बनाउँछ। उतिबेलाका कतिपय साथीहरू अब युरोप, खाडी, अमेरिका भासिए। कतिपय साथीहरू परलोक पुगे। अनि कति त अझै रामलीलामै जमेका पनि छन्।

१६ वर्ष नपुग्दाका दसैँ दाङ र बर्दियातिर पनि रमाइलो हुन्थे। थारु समुदायमा दसैँको उत्साह बेग्लै हुन्थ्यो। मादलका तालमा मञ्जिरा बजाउँदै सामूहिक नृत्य हुन्थे। पुरुषले बजाउने मादलको तालमा महिलाहरू मञ्जिरा मिसाउँदै नाच्दथे। गाउँका भद्र भलादमीले नाच्ने समूहलाई दक्षिणा राखिदिन्थे। राखिएको रूपैयाँ पैसा महिला नचनियाहरूले उल्टो फर्केर मुखले बडो कलात्मक ढङ्गले टिप्दथे।

बनकसको मुठ्ठाले घरमै बनाएको (चामलबाट बनेको) जाँड मथेर छानेर दुनामा सगुन दिन्थे। एक दुना एकै पटकमा पिएपछि फेरि सगुन थप्छन्। पुरुषहरू भन्छन्, ‘जिन बराव हो जिन बराव साली।’ महिलाहरू हातभरिका रङ्गीन चुरा बजाउँदै जाँड थप्दै भन्छन्- ‘डान्चे हो, डान्चे भाटु।’

तर, आजकाल परिवेश बदलिएको छ। समाज बदलिएको छ। मोबाइलमा बज्ने गीत घन्किनछन्। मादल र मञ्जिरा हराउन थाले।

दसैँताका जाडो चडिसकेको हुन्थ्यो। जलवायु परिवर्तनले गर्दा तराई-मधेसमा उती चिसो हुँदैन पछिल्ला दशकमा दसैँताका पनि।

इन्टरनेटको क्रान्तिले एउटा वर्गलाई विश्व सधै दसैँझैं बनाइदिएको छ। आजकाल हामी चलचित्र हेर्छौं, यूट्युब र अन्य ओटिटीका श्रृखंलाहरूले आफ्ना रोजाइमा मनोरञ्जन पाइरहेका छौं।

डिजिटल पेमेन्ट गेटवेले घरमा बसेरै भुक्तान गरेको भरमा सबै कुराको उपलब्धता छ।

पिज्जादेखि ड्रिङ्क्स, समोसादेखि पास्तासम्म मुस्किलले चियासम्म आफ्नै किचनमा बन्छ। कतिपयले दसैँको फुर्सदलाई पुस्तकबाट मनोरञ्जन दिलाइरहेका हुन्छन्। पुस्तक पढ्नेका लागि कथा, कविता, उपन्यास र निबन्ध साहित्यका फराकिला फाँट छन् नेपाली साहित्यमा पनि। संसारभरि पुस्तक आ-आफ्नो रुचीअनुसार पढिन्छ। पुस्तक बजार पनि यही इन्टरनेटले विश्वव्यापी बनाइदिइसकेको छ।

यसबीच वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूको महान पर्व बडा दसैँको सप्ताह छ। दसैँ प्रतिपदा घटस्थापनादेखि पूर्णिमा-कोजाग्रतसम्म १५ दिनको हुन्छ।

पहिलो ९ दिनलाई नवरात्रि र दशौं दिनलाई दशमी वा दसैँ भनिन्छ। यो तिथिमा माताश्री दुर्गाले महिषासुर नामक दैत्यलाई तथा भगवान श्री रामचन्द्रले रावणलाई बध गरेर मानवजातिको कल्याण गरेको भन्ने पौराणिक कथन छ।

दसैँका लागि नयाँ कपडा किन्ने र मामाघर जाने बेग्लै रमाइलो हुन्थ्यो- बालापनमा। आफूभन्दा ठुला र मान्यजनसँग घर-घर पुगेर टीका थाप्नुको दौडधूपमा बेग्लै आनन्द मिल्थ्यो।

काँधमा सारङ्गी भिरेर संस्कृतिको जगेर्ना गर्ने गन्धर्व दाजु-भाइहरू दुर्गा सुनाउँदै दसैँ आएको आभाष दिलाउँदथे। अब त्यो परम्परा र सांस्कृतिक सम्पत्तिको जगेर्नाका धरोहर गन्धर्व समुदायको पेशा संकटग्रस्त भयो। यो ठुलो सांस्कृतिक संकट हो।

दसैँलाई भेटघाट र सम्बन्ध सुधारको अवसरका रुपमा मनाउन सक्नुपर्छ। समाज डिजिटल युगमा छ। सामाजिक सञ्जालले जोडिएको र भर्चुअल प्लेटफर्मको भेटघाटमा परिवारजन र आफन्त नजिक भएर पनि टाढा छन्। अनि सात समुन्द्रपारिका नजिकझैं लाग्छन्। यतिबेलाको युग सुहाउँदो तरिकाले परम्परागत चाडपर्वमा ह्रास आउन थालेको छ। सहरकेन्द्रित बसोबास बढेको छ। यद्यपि, अझैसम्म दसैँमा गाउँ फर्किने चलन कायम छ। यो हुनु पनि पर्छ।

दसैँमा सबैभन्दा अप्रमाणिक विषय पशुबलि दिइने चलन हो। यसरी दिइने पशुबलि किन र केका लागि भनेर शास्त्रले देखाउँदैन।

पशुबलिका विषय चर्वाकका भनाइ यस्ता छन्, ‘यदि यज्ञमा बलि चढाइएको पशु स्वर्ग जान्छ भने यजमानले आफ्ना बाबु आमालाई किन मार्दैन? यज्ञमा जुन पशुबलि हुन्छ यसले यज्ञलाई धर्म होइन अधर्म सिद्ध गर्छ।’

वैदिक दर्शनको यो एउटा महत्वपूर्ण विधा हो, चर्वाक दर्शन। जो साम्प्रदायिकताको खरो आलोचना गर्छ।

बर्खे बाली भित्र्याएर फुर्सदको समय मिल्छ किसानहरूलाई। दसैँ एउटा अवसर पनि हो भेटघाट र खुसी साट्ने। गच्छे अनुसारको मिठो मसिनो खाने मौका हो। अब त्यो परम्परागत परिवेश त रहेन तर विम्बका रुपमा दसैँ हर्सोल्लासको पर्व हो।

प्रकाशित मिति: : 2023-10-24 19:20:00

प्रतिकृया दिनुहोस्