हेलिकप्टर दुर्घटना (अपडेट): घाइते पाइलट खतरामुक्त

तस्बिर : सामाजिक सञ्जाल
तस्बिर : सामाजिक सञ्जाल

मनाङ एयरको ‘एन–एनजे’कलसाईन हेलिकप्टर दुर्घटना भएको छ। सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एयरको हेलिकप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणको क्रममा आज बिहान दुर्घटनाग्रस्त भएको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार दुर्घटनामा घाइते हेलिकप्टरका पाइलट प्रकाशकुमार सेडाइको उद्धार गरी अहिले काठमाडौँको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ।

पाइलट सेडाइ खतरामुक्त रहेको अस्पतालले जनाएको छ। लोबुचेको हेलिप्याड नजिकै दुर्घटनाग्रस्त हेलिकप्टरमा पाइलट सेडाइ मात्र थिए। हेलिकप्टरकमा आगलागी भएको छ।

दुर्घटनाग्रस्त हेलिकप्टरका पाइलटलाई फिस्टेल एयरको हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याइएको हो। उक्त हेलिकप्टर लुक्लामा सामान झारेर पर्यटक लिन लोबुचे उडेको थियो।

हेलिकप्टर के कारणले दुर्घटना भयो भन्नेबारे थप अनुसन्धानपछि मात्रै थाहा हुने प्राधिकरणले जनाएको छ। प्रारम्भिक जानकारीअनुसार हिमाली क्षेत्रमा तीव्र हावा चलेको र सोही हावाको बेगले अवतरणको क्रममा हेलिकप्टर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति: : 2023-10-14 10:57:00

प्रतिकृया दिनुहोस्