विद्युतीय सिगरेट (भेप)मा राखेर सुन तस्करी गरेकाे अभियाेगमा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महराका छाेराे राहुल महरासहित चार जानविरुद्ध मुद्दा दायर भएकाे छ।
जिल्ला सरकारी वकीलकाे कार्यालयले महरासहित लोकेन्द्रकुमार पौडेल, बेल्जियम घर भई हाल काठमाडौं बस्ने दावा छिरिङ र काठमाडौंका निमा गुरुङविरुद्ध बुधबार काठमाडाैँ जिल्ला अदालतमा मुद्दा दायर गरेकाे हाे। उनीहरूविरुद्ध अपराधिक विश्वासघात, भन्सार चौरी पैठारी तथा संगठित अपराधसम्बन्धी कसूरको मुद्दा लगाइएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा नियमित जाँचका क्रममा २९ माघ २०७९ मा दुई वटा सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० थान विद्युतीय सिगरेट (भेप) बरामद भएको थियो। जाँच गर्दा त्यसमा सुन भएको थाहा पाएपछि भन्सारका नायब सुब्बाको मिलेमतोमा गोदाममा भएको भेप साटफेर गरेर ९ किलो सुन बिक्री गरेको खुलेको थियो।
विद्युतीय सिगरेट बरामद पश्चात नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान व्युराे (सिआइबी)ले अनुसन्धान गर्दा माओवादी उपाध्यक्ष महरा र उनका छाेरा राहुलसहितकाे संलग्नता रहेकाे खुलेकाे थियाे। यद्यपि, मुद्दामा उपाध्यक्ष महरालाई प्रतिवादी बनाइएकाे छैन।
सिआइबीले बुझाएकाे अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकीलकाे कार्यालले आज काठमाडाैँ जिल्ला अदालतमा मुद्दा दायर गरेकाे हाे।
यस प्रकणमा प्रतिवादी बनाइएका दावा छिरिङ ६० केजी सुन प्रकरणमा पक्राउ परेका छन्।
पूर्णपाठ :