पुटिनलाई बाेलाएर तेस्रो बेल्ट एन्ड रोड फोरम आयोजना गर्दै चीन

चीनले यही अक्टोबर १७ र १८ मा राजधानी बेइजिङमा तेस्रो बेल्ट एन्ड रोड फोरमको आयोजना गर्ने भएको छ। उक्त कार्यक्रममा धेरै विदेशी नेताहरू सहभागी हुने अपेक्षा गरिएको छ।

‘चिनियाँ राष्ट्रपति सि जिनपिङले फोरमको उद्घाटन समारोहमा मुख्य सम्बोधन गर्नुहुनेछ र फोरममा भाग लिन आउनुभएका विदेशी नेता र अन्तर्राष्ट्रिय सङ्घसंस्थाका प्रमुहरूका लागि स्वागत भोजको आयोजना गर्नु हुनेछ’, चीनको विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले भने।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी हप्ता हुने उक्त कार्यक्रममा आफू सहभागी हुने बताएका छन्। रुसका विदेशमन्त्री सर्गेई लाभरोभ उक्त कार्यक्रममा सहभागी हुने र आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग वार्ता गर्ने रुसी विदेश मन्त्रालयले मङ्गलबार बताएको छ।

‘बेइजिङ आएर सहयोग योजनाहरूमा छलफल गर्न र साझा विकासको खोजी गर्न हामी बेल्ट एन्ड रोड इनिसिएटिभमा सहभागी हुन आउने मुलुक र साझेदारहरूलाई स्वागत गर्दछौँ’, विदेश मन्त्रालयका प्रवक्ता माओ निङले गत महिना भनेका थिए।

यो कार्यक्रममार्फत् चीनले बेल्ट एन्ड रोड पूर्वाधार पहलको १०औँ वार्षिकोत्सव मनाउने छ। चीनले मङ्गलबार श्वेतपत्रमा उसको बेल्ट एन्ड रोड इनिसिएटिभ पूर्वाधार परियोजनाले विश्वभर २० खर्ब अमेरिकी डलरको सम्झौता गरेको बताएको थियो। उक्त रकम विश्वका केही ठूला अर्थतन्त्रको आकार बराबर हो।

चिनियाँ विदेश मन्त्रालयका अनुसार उक्त कार्यक्रममा १ सय ३० भन्दा बढी मुलुकका प्रतिनिधिहरूले सहभागिता जनाउने बताएको छ।

प्रकाशित मिति: : 2023-10-11 11:43:00

प्रतिकृया दिनुहोस्