परराष्ट्र मन्त्रालयले भन्याे- इजरायलमा केही नेपाली हताहत भएको हुनसक्छ

नेपाल सरकारले प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमाथि गरेको आक्रमणमा केही नेपाली हताहत भएको हुनसक्ने बताएको छ।

परराष्ट्रमन्त्री एनपी साउदले आइतबार संसदलाई जानकारी दिँदै हमास समूहले आक्रमण गरेकाे स्थलमा अध्ययनका लागि रहेकाे १७ नेपालीमध्ये २ जना सकुशल रहेकाे र ३ जना घाइतेकाे अस्पतालमा उपचार भइरहेकाे बताए।

‘राजदूतावासको अनुसार यो स्थान गाजा क्षेत्रबाट नजिक रहेका र त्यही हमास समूहबाट आक्रमण भएकाले १७ जना नेपालीहरूमध्येबाट २ जना सकुशल रहेको तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। बाँकी १२ जना सम्पर्कमा नभएको र केही हताहत भएको हुँदा स्थिति यकिन गर्न संयन्त्र परिचालन गरिएको छ’, उनले भने।

मन्त्री साउदकाअनुसार ४ हजार ५०० नेपाली इजरायलमा केयर गिभरका रुपमा कार्यरत छन्। २६५ जना विद्यार्थी इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रममा अन्तर्गत गएका थिए।

कृषि विश्वविद्यालयबाट ११९, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए। सुदूरपश्चिम विश्विद्यालयबाट गएका ४९ जनामध्ये १७ जना नेपाली दक्षिणी इजरायलको किबुज अलुमिम भन्ने स्थानमा अध्ययनरत थिए।

प्रकाशित मिति: : 2023-10-08 14:19:00

प्रतिकृया दिनुहोस्