भूकम्पले निरन्तर हल्लिरहेको सुदूरपश्चिमको बझाङ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सदरमुकाम नजिकैको एउटा क्याम्पसको चउरमा त्यहाँका जनप्रतिनिधिले फूलमाला लगाइदिए। अनि सोफामा बसाएर भूकम्पको क्षतिबारे सुनाए।
तीन दिनपछि शुक्रबार भूकम्प पीडितलाई भेट्न र उनीहरूका पीडा सुन्नका लागि बझाङ गएका प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधानमन्त्री एंव रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री एनपी साउद र सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहहरू सोफामा बसेको फोटो शुक्रबारदेखि सामाजिक सञ्जालमा ‘भाइरल’ भइरहेको छ। र, उत्तिकै आलोचना पनि।
हेलिकप्टरबाट त्यहाँ पुगेका प्रधानमन्त्री र मन्त्रीहरूको त्यो टोलीले केही ठाउँमा भूकम्पबाट भएको क्षति हेरेका थिए। अनि पीडितहरूलाई तत्कालका लागि ५० हजार रुपैयाँ राहत दिनेलगायतका केही आश्वासन दिएर उनीहरू फर्किन नपाउँदै सामाजिक सञ्जालमा फोटो अनि भिडियोहरू भाइरल हुन थाल्यो।
अनि पीडितहरूले पनि प्रधानमन्त्रीलाई आफ्नो पीडा भन्न नपाएको अर्को पीडा समाचारका हेडलाइन बनेर छाउन थाले।
उनीहरू फर्किएसँगै फेरि बझाङ वरिपरीको जमिन भूकम्पले हल्लाउन थाल्यो। शनिबार बिहानसम्म पनि पटकपटक भूकम्पले हल्लाइरहेको छ।
प्रधानमन्त्रीहरू शुक्रबार नै फर्किए। त्यहीँ बसेका मुख्यमन्त्री शाहलाई भने स्थानीयहरूले गासबासको व्यवस्थापनका लागि अनुरोध गरिरहेका छन्।
शनिबार बिहान मुख्यमन्त्रीलाई आफ्ना पीडा सुनाउँदा सुनाउँदै फेरि बझाङको जमिन बेस्सरी हल्लियो।
पीडितहहरूले आफ्नो जीवनको सबै पसिना खन्याएर बनाएका घरगोठ ध्वस्त भएपछि मुख्यमन्त्रीसँग उनीहरूले घर बनाइदिन आग्रह गरेका छन्।
‘गास र बरु मागेरै टारौँला। बस्ने घर त भत्किसक्यो, अब कहाँ बास लाउने?’, बुङ्गल नगरपालिका-२ गिरौका स्थानीय कलक धामीले मुख्यमन्त्रीसँग भने, ‘सरकारले घर बनाइदिए हामीले गुन मान्ने थियौँ।’
आफ्नो घर भत्किएपछि उनी आफन्तको घरमा शरण परेका छन्। मुख्यमन्त्रीसँग उनले आफूहरूले केही छाक त भोकै भए पनि टार्ने भन्दै जीवनभरिको कमाइ हालेको घर भत्किँदा झन् पीडा भएको बताए।
‘गाउँघरमा दाजुभाइ, आफन्तसँग मागेर छाक त टर्छ, अब घर कसरी बनाउनु’, उनको पीर छ, ‘अरूले दिएको त्रिपालमुनि कतिदिन बिताउँला र?’
त्यहीँका स्थानीय गोपाल धामीको घर पनि मंगलबारको भूकम्पले भत्काइदिएको छ। त्यो दिनदेखि निरन्तरका पराकम्पले अहिले लगभग सबै गाउँलेहरू खुला आकाशमुनि नै छन्।
त्यहाँ पुगेका मुख्यमन्त्री शाहसँग धामीजस्ता सबै पीडितहरूले गास, बास र लत्ताकपडासमेत मागे।
‘सम्पत्तिको नाउँमा त्यै एउटा झुपडी थियो’, मुख्यमन्त्री शाहलाई धामीले सुनाए, ‘एउटा टहरा बनाइदिए सबलाई राहत हुन्थ्यो। एकसरो लुगा पनि पुरिएका छन्।’
बझाङका भूकम्प पीडितहरूलाई विभिन्न व्यक्ति तथा संस्थाहरूले राहत वितरण गर्न थालेका छन्।
भूकम्पले घरबारविहीन भएका उनीहरूलाई त्रिपाल, खाद्यान्न, लत्ताकपडालगायतका सामाग्री सहयोग गर्न थालिएको छ। तर अहिले राहत वितरणमा अनियमितता नहोस् भनेर जिल्ला प्रशासनले एकद्वार प्रणालीबाट राहत वितरण गर्ने भनेको छ।
वितरणका लागि स्थानीय प्रशासनले सबै सरोकारवालाहरूसँग छलफल गरिरहेका कारण राहतजति धेरैजसो जिल्ला प्रशासनमै थुप्रिएको छ। पीडितहरूले भने त्रिपाल र खानेकुरा समेत नपाएको गुनासो गरिरहेका छन्।
मंगलबारको भूकम्पपछि लगातार गइरहेको पराकम्पका कारण बझाङका स्थानीय घरभित्र पस्न सकेका छैनन्। सदरमुकाम चैनपुर आसपास केन्द्रविन्दु भएर सयौँपटक भूकम्पका पराकम्पन गइसकेका छन्। भूकम्प गएको पाँच दिन भइसक्दा पनि यहाँका पीडितहरूले सरकारको तर्फबाट कुनै गतिलो राहत भने पाइसकेका छैनन्।
‘ठूलो भूकम्प गएदेखि(मंगलबार)देखि हामी सबैको हालत यस्तै छ। आफन्तको घरमा मिलेर बसिरहेका छौँ तर त्यहाँ पनि बस्न डर लाग्छ, कतिबेला फेरि बेस्सरी हल्लाएर घर भत्काइदिने हो’, धामी भन्छन्, ‘धेरै मान्छे त घरभित्रै पस्न डराइहरेका छन्। हामी पनि बाहिरै बस्छौँ।’
बझाङका धेरैजसो गाउँपालिकाहरूमा भूकम्पले क्षति पुर्याएको छ। त्यसमा पनि थलारा गाउँपालिका सबैभन्दा क्षतिग्रस्त भएको जिल्ला प्रशासनले जनाएको छ।
गाउँघरतिर अहिले धान स्याहार्ने चटारो छ। त्यसैकारण धेरैजसो गाउँले किसानहरू दिनभरि खेतबारीमै व्यस्त हुन्छन् र रातमा पनि बाहिरै सुत्छन्। सदरमुकाम चैनपुरलाई भूकम्प र पराकम्पनहरूले पनि निरन्तर हल्लाइरहेको छ। त्यसैले धेरैजसो चैनपुरवासी बाहिरै खुल्ला चउरमा छन्।
थलारा गाउँपालिकाका उपाध्यक्ष रामबहादुर खातीका अनुसार पालिकामा करिब ६ सयभन्दा धेरै घरहरू बस्नै नमिल्ने गरी क्षतिग्रस्त भएका छन्। स्थानीहरू अहिले कोही खुला चउर र कोही गाउँपालिकाले दिएका त्रिपालमा बसिरहेका छन्।
‘हाम्रो त उस्तै बिजोक छ हजुर। राहत त आइरहेको छ। त्यसलाई अब मिलाएर बाँड्ने तयारी भइरहेको छ’, उनी भन्छन्, ‘घर स्कुल सबैजसो भत्किएका छन्। घरभित्र पस्ने नमिल्नेहरूलाई त्यस्तै पालहरू दिएर राखेका छौँ।’
उनका अनुसार निरन्तर भूकम्प गइरहेका कारण क्षति विवरण यकिन गर्न सकिएको छैन।
‘अहिले हामी त्यही काममा छौँ। भूकम्प आइरहेको छ। सबैजना त्रसित छन्’, उनी भन्छन्, ‘राहत मिलाइरहेका छौँ। घर भत्किएर भित्रै छिर्न नसक्नेहरूलाई पनि मिलाएर राखेका छौँ। हामी सबै मिलेर एकअर्कालाई सघाइरहेका छौँ।’
हल्लिरहेछ बझाङ
बझाङ केन्द्रविन्दु भएर शनिबार बिहान पनि दुईपटक भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकाअनुसार शनिबार बिहान ११:४५ बजे ५.३ रेक्टर स्केलको र दोस्रोपटक अपराह्न १२ : ३२ बजे ४.३ रेक्टर स्केलको भूकम्प गएको छ।
बझाङको सदरमुकाम चैनपुर केन्द्रविन्दु भएर गत मंगलबार ६.३ रेक्टर स्केलको भूकम्प गएको थियो। यो भूकम्पमा परेर एक जनाको मृत्यु भएको थियो भने दर्जन बढी घाइते भएका थिए।
शनिबारको भूकम्पका कारण घरको पाली भत्किएर मष्टा गाउँपालिका वडा नम्बर ४ का ८६ वर्षका सुको फराडा घाइते भएका वडाअध्यक्ष उत्तम जोशीले जानकारी दिएका छन्।
त्यस्तै चैतपुरस्थित जयपृथ्वी एफ.एम. नेटवर्कको कार्यालयसमेत क्षति पुगेको नेटवर्कका अध्यक्ष प्रताप ओलीले जानकारी दिएका छन्।
बझाङ केन्द्रबिन्दु भएर गएको मङ्गलवारपछि चार रेक्टरस्केलभन्दा माथिका १५ वटा भूकम्प गएका छन्। अरु स-साना सयौँ पराकम्प आइरहेका छन्।
वरिष्ठ भूकम्पविद् विजयप्रसाद कोइरालाका अनुसार सुदूरपश्चिम क्षेत्रमा ठूलो शक्ति सञ्चित भएर बसेकाले भूकम्पको उच्च जोखिम छ।
शनिबारको भूकम्प मङ्गलबार गएको भूकम्पको पराकम्प हुनसक्ने उनको भनाइ छ।
‘सन् १५०५ यता त्यहाँ ठूलो भूकम्प गएको छैन। त्यसैले त्यस क्षेत्रमा ठूलो शक्ति सञ्चित भएको छ। दुईवटा प्लेट जुधेर सञ्चित भएको शक्ति निकास हुने भनेकै भूकम्पबाटै हो’, वरिष्ठ भूकम्पविद् कोइरालाले भने, ‘मङ्गलबार मझौला खालको भूकम्प गएको थियो र त्यसका पराकम्प अझै आइरहेका छन्। अझै केही दिन यस्ता पराकम्प आउन सक्छन्।’
सुदूरपश्चिम क्षेत्रमा सञ्चित भएर बसेको शक्ति निकासका लागि कुनै समय ठूलै भूकम्प जानसक्ने अनुमान विज्ञहरूको छ। स-साना कम्पनबाट त्यस्तो शक्ति निकास भएमा ठूलो कम्पनको सङ्कट टर्ने कोइराला बताउँछन्।