सहरमा पैसा छैन अचेल, महँगीमात्रै छ, ब्यापार छैन सटरमात्रै छन् त्यो पनि खाली

एकीन तथ्याङ्क नभए पनि सहरका लगभग ४० प्रतिशत सटरहरू बन्द छन्। कुनैबेला ती सटरहरूमा कुनै न कुनै ब्यापार र व्यावसायिक प्रयोजनका निम्ति खोलिएका थिए। 

सहरका सामान्य ब्यापारिक सटर होउन् वा ठुल्ठूला ब्यावसायिक मल वा व्यावसायिक भवनहरू छ। 

‘सटर खाली’ र ‘टू लेट’का पोस्टरहरू टाँसिएका घर र सटरहरू भेट्न मुस्किल छैन सहरमा। 

‘अहिले बजार चलायमान छैन। करिब ४० प्रतिशत सटर बन्द अवस्थामा छन्। जब कामहरु बन्द हुन्छन्, अनि स्वतः आम्दानी घट्छ’ संसदको अर्थ समितिका सभापति सन्तोष चालिसे बिएल नेपाली सेवासँग भनेका थिए ‘एक–दुई–तीन गरेर अहिले सबैको अवस्था त्यस्तै भइरहेको छ।'

०००

दोलखाका प्रेम चलाउनेले एक बोरा चामल किन्न छाडेको महिनौं भइसक्यो। हिँजोआज उनले किलोका हिसाबले चामल किन्छन्। पैसा भएको दिन मात्र उनको भान्सामा केही हरिया तरकारी पाक्छ।

थरिथरीका परिकार बनाएर नखाएको त धेरै भइसकेको छ। महँगीले चलाउनेको दैनिकी चलाउन धौ-धौ भइरहेको छ।

‘पहिला चामल सकिएपछि सधैं बोरा ल्याएर राख्थें, अहिले सबैभन्दा सस्तो चामल पनि दुई हजार भन्छ। त्यसैले धेरै पैसा हुँदैन किलोमा मात्र किन्ने गरेको छ,’ उनले भने, ‘के गर्नु मसँग धेरै पैसा हुँदैन।फेरि भातमात्रै खाएर भएन तरकारी खानै पर्‍यो। तरकारीको भाउ पनि उस्तै छ।’

बिहान उठेदेखि डोरी र नाम्लोमा उनको दैनिकी बित्छ। महाबौद्ध क्षेत्रमा उनी दिनभरि भारी बोक्नमै व्यस्त हुन्छन्। कहिले रित्तै घर फकिन्छन्। रितै फर्किएको दिन उनी भोकै सुत्छन्। 

र, अर्को बिहानीको प्रतीक्षा गर्छन्।

‘दिनभर काम भएमात्रै बेलुका खाना खान मन लाग्छ। भारी नपाएको दिन मन नै खल्लो हुन्छ, त्यहीँ भएर भोकै सुत्छु,’ उनले भने, ‘काम नै यही हो दिनभर कमाएर बेलुका खाने।’

महँगीले गर्दा चलाउनेको दैनिकी कठिन बन्दै गएको छ। जुन दिन काम पाइन्छ, सोही दिन मात्र उनी भेटभर खान खान्छन्। चाडवाड आएको छ। तर घर फर्किने कसरी उनलाई अर्को चिन्ता थपिएको छ। 

०००

भक्तपुरका पुन्यराम वनमाला सडकमा उभिएर मास्क, पानी बिक्री गर्छन्। त्यही बिक्रीबाट हुने आम्दानीले उनको दैनिकी चलेको छ। जुन दिन पानी, मास्क बिक्री हुँदैन त्यो दिन उनलाई साँझ–बिहानको छाक कसरी कटाउने चिन्ता हुन्छ। 

किनकी अहिले महंगी बढेको छ। मास्क, पानी बिक्री नहुने दिन उनीसँग चामल तरकारी किन्नका लागि पैसा हुँदैन। उनले दुई महिनाअघि १८ सयमा किन्ने गरेको चामल दुई हजार बढी पुगिसक्यो। चिनी ९० रुपैयाँबाट १४० रुपैयाँ पुगिसक्यो। मूल्यबृद्धिले तरकारी छुन सकिने अवस्था छैन। 

चाडपर्वको मुखमा खाद्यान्नको मूल्यबृद्धि हुँदा उनलाई कसरी चाडवाड मनाउने चिन्ता छ। ‘महंगीले धेरै गाह्रो भइसक्यो। यो पानी बिकेन, मास्क बिकेन भने साँझको छाक कसरी कटाउने भन्ने हुन्छ,’ उनले भने, ‘दसैं–तिहार कसरी मानाउने गाह्रो छ।’

सधैं के खाने भन्ने चिन्ता हुने बताउँदै महंगीले श्रमिक बाच्नै नसकिने अवस्थामा पुगेको उनको गुनासो। ‘चाडवाड आएको छ। केही मिठो खाउँ भने पनि पैसा हुन्न। सधैँ के खाने भन्नेकै पीर हुन्छ,’ उनले भने, ‘हुने खानेलाई त केही नहोला तर हामीजस्ता श्रमिकलाई बाँच्नै गाह्रो भयो।’

महँगीले चलाउने र वनमाला मात्र होइन। यस्ता हजारौँ श्रमिक परिवार अहिले कठिन दैनिकी बिताइरहेका छन्। काठमाडौंमा सडक व्यापार बन्द भएपछि धेरैको रोजिरोटी गुमेको छ। रोजिरोटीका लागि उनीहरु पटक–पटक आन्दोलनमा उत्रिरहेका छन्। 

निम्न आयश्रोत भएका नागरिक महँगीको चपेटामा परेका छन्। खाना पकाउने ग्यास महँगिएको छ। चामल महागिएको छ। तेल, नुन सबै खाद्यान्न महंगिएपछि दसैं नजिकिदै गर्दा निम्न आयश्रोत भएका नागरिक पर्व कसरी मनाउने भन्ने चिन्तामा छन्। 

बजार पनि सुनसान 
दसैंमा बजार जसरी चलायमान हुनुपर्ने हो, अहिले हुन सकेको छैन। दसैंको सोह्रश्रद्धा सुरु भइसकेको छ। यो समय बजारमा किनमेलको भिड हुने समय हो। 

तर बजार सुनसान जस्तै छ। काठमाडौंको व्यस्त बजार मानिने न्यूरोड क्षेत्रका बजार नै चलायमान हुन सकेको छैन। कतिपय व्यापारी सटर बन्द गरेर पलायन भइसकेका छन्। 

अहिले सटर खोलेर बसेका व्यापारी पनि ग्राहक कुरेर बस्नु पर्ने अवस्था छ। वर्ष दिन जम्मा गरेर राखेर पनि दसैं भने धुमधामका साथ मनाउनु पर्ने चलन छ। त्यसैकारणले पनि दसैंलाई खर्चिलो पर्व भनिन्छ। 

नेपाल राष्ट्र बैंकका सूचना अधिकारी डिल्लीराम पोखरेलकाअनुसार दसैं तिहारका अवसरमा नेपालीले बजार ३० देखि ४० अर्ब खर्च गर्ने गर्छन्। यसअघिका वर्षहरुमा ३० देखि ४० अर्ब रुपैयाँ बजारमा आउने भएपनि यस वर्ष उक्त रकम आउने कि नआउने भन्ने अन्योल छ। 

उनले भने, ‘अघिल्लो वर्ष दसैं, तिहारको दुई–तीन महिनाको अवधिमा करिब ३०–४० अर्बको पैसा बजारमा सर्कुलेसन भएको थियो। तर यो वर्ष कति हुने हो त्यो भन्न सकिने अवस्था छैन।’ 

व्यापारी निरास छन्ः श्रेष्ठ
नेपाल उद्योग वाणिज्य महासंघकी उपाध्यक्ष ज्योत्सना श्रेष्ठले बजार शिथिल बन्दै गएको बताएकी छिन्। 

बिएल नेपाली सेवासँग गर्दै उनले भनिन्, ‘व्यापार एकदमै शिथिल छ। सबै सामानको भाउ बढेको छ। मान्छेहरुको बैंकमा पैसा छैन। व्यापारीले व्याज नै तिर्न सकेको छैन। व्यापार हुन सकेको छैन।’

कोरोनाको पछिल्लो वर्ष बजार राम्रै भएपनि अहिले अवस्था थप बिग्रदै गएको बताइन्। कोरोनापछि उपभोक्ताको बैंकमा पैसा भएकाले राम्रै रहेकाले बजार चलायमान भएको र पछिल्लो समय सरकारका नीतिका कारण बजार थप कमजोर हुँदै गएको श्रेष्ठको भनाइ छ। 

‘राष्ट्र बैंक, सरकारको नीतिले गर्दा अहिले गाह्रो भइरहेको छ। अहिले व्याज बढेको छ। यसले व्यापारी मारमा परेको छन्,’ उनले भनिन्, ‘यता बैंकले व्याजदर बढाएर व्यापारीलाई सेक्ने र अर्कोतर्फ नागरिकलाई महँगीले गर्दा किन्न नसक्ने बनाएको हुँदा व्यापारको अवस्था राम्रो छैन।’ 
तीजमा पनि व्यापार राम्रो नभएको उनले बताइन्। 

‘तीज पनि व्यापार राम्रो भएन। व्यापारीहरु भोलि के होला भन्ने अवस्थामा पुगिसकेका छन्। अब यो दसैंतिहारमा केही हुन्छ कि भन्ने आशा मात्र छ,’ श्रेष्ठले भनिन्। 

याे पनि

बेलगाम महँगी

सहरका सटर ‘डाउन’ (फाेटाे/भिडियाे)

प्रकाशित मिति: : 2023-10-03 20:30:00

प्रतिकृया दिनुहोस्