संविधानले सबैलाई समेटेको छ: पूर्वराष्ट्रपति यादव

फाइल तस्बिर
फाइल तस्बिर

पूर्वराष्ट्रपति डा रामवरण यादवले नेपालको संविधानले सबै वर्ग र समुदायलाई समेटेको बताएका छन्।

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकास्थित सूर्यपुरामा विपी कोइरालाको शालिक अनावरण गर्ने क्रममा आज पूर्वराष्ट्रपति यादवले संविधानले सबै नागरिकको हक र अधिकारलाई सुनिश्चित गरेको उल्लेख गरेका हुन्।

एक सय १०औँ बिपी जयन्तीका अवसरमा बिपी कोइरालाको अर्धकदको शालिक अनावरणका लागि यहाँ आइपुगेका उनले सबैका हक र अधिकार स्थापित गरेको नेपालको संविधान विश्वकै उत्कृष्ट भएको बताए। उनले बिपीको राष्ट्रवादलाई सबैले अङ्गाल्नुपर्नेमा जोड दिएका छन्।

नेपालका प्रथम राष्ट्रपति डा यादवले अहिले नेपालीहरु परजीवी बन्दै गएको बताए। ‘हामीले पहिले भारतलगायत अन्य मुलुकमा कृषिजन्य उत्पादन निर्यात गर्थ्यौँ, तर त्यहीँ तिनै वस्तुमा भारतलगायतका देशमा परनिर्भर हुनुपरेको छ। यो दुःखद् अवस्था हो,’ उनले भने।

अहिले तराई क्षेत्रमा भइरहेको चुरे दोहनका विषयमा पूर्वराष्ट्रपति डा यादवले चिन्ता व्यक्त गर्दै चुरेको संरक्षण गर्न नसक्दा तराई मरुभूमिजस्तै बन्न थालेको उल्लेख गरे। प्राकृतिक स्रोतहरुको चरम दोहनले भोलिका दिनमा मानव सङ्कट पर्ने बताउँदै उनले प्राकृतिक सम्पदाको दोहन रोक्नुपर्नेमा जोड दिएका छन्। 

प्रकाशित मिति: : 2023-10-02 20:49:00

प्रतिकृया दिनुहोस्