रविको मुद्दामा एकपछि अर्को खुलासा, फेरि अर्की जाहेरीकर्ताले भनिन्ः मेरो नाम दुरुपयोग भयो

Break n Links
Break n Links

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट ठगिएका एकपछि अर्का पीडितले आफूहरूले रवि लामिछानेविरुद्ध नाम तोकेर जाहेरी नै नदिएको खुलासा गर्न थालेका छन्।

केही समयअघि प्रहरीले रविविरुद्ध मुख्य जाहेरीकर्ता बनाएका नारायण पहराईले आफूले रास्वपा सभापति रवि लामिछानेविरुद्ध जाहेरी नदिएको खुलासा गरेका थिए। 

अहिले अर्की जाहेरीकर्ता गीता आचार्यले पनि आफूले रविविरुद्ध जाहेरी नदिएको र आफूले रकम फिर्ताका लागि दिएको उजुरीलाई प्रहरीले अनुमतिविना रविविरुद्ध प्रयोग गरेको बताएकी छन्। उनले आफ्नो नाम दुरुपयोग भएको आरोप लगाएकी छन्।

गीताले सामाजिक सञ्जालमार्फ भनेकी छन्, ‘म पनि सुम्रिम सहकारी बचतकर्ता हो। उजुरीकर्ताको सूचीमा मेरो पनि नाम आउँदा म आश्चार्यचकित भएकी छु। मैले अलिकति दैनिक बचत गरेकी थिएँ, त्यसैले आफ्नो रकम फिर्ता पाइन्छ कि भनेर निवेदन दिएको हो। तर यहाँ कुनै व्यक्ति विशेषलाई उजुरी हालेको होइन। कसैको नाम नै दिएर हालेको पनि होइन र मलाई कुनै आधिकारिक ठाउँबाट कुनै जानकारीसमेत पाएकी छैन। तर उजुरीकर्ताको नामलिस्टमा मेरो नाम कसरी जोडिन पुग्यो, कृपया जानकारी र निष्पक्ष छानबिनको माग गर्दछु।’

यसअघि सुप्रिम सहकारीबाटै पीडितमध्येका एक नारायण पहराईले पनि आफूले रास्वपा सभापति रवि लामिछानेविरुद्ध जाहेरी नदिएको खुलासा गरेका थिए।

उनले सहकारीले रकम फिर्ता नदिएपछि प्रहरीले उजुरी मागेअनुसार इलाका प्रहरी कार्यालय, बुटवलमा कोही व्यक्ति लक्षित नगरी उजुरी दिएको बताएका छन्।

उनले आफूलाई प्रहरीले एक वचन पनि नसोधी र आफ्नो सहमति नलिइ रवि लामिछानेसहित विरुद्ध आफूलाई मुख्य उजुरीकर्ता जसरी प्रस्तुत गरेर अनुसन्धान प्रतिवेदन बनाइएकोप्रति असन्तुष्टि व्यक्त गरेका थिए।

उनले सरकारले पीडितलाई न्याय दिने भन्दा आफूहरूजस्ता पीडितलाई देखाएर राजनीति गरिएको आशंका व्यक्त गरेका छन्। उनले आफूहरूको उजुरी देखाएर कसैले स्वार्थ पूरा गर्न खोजेको भए आफूले मुद्दा फिर्ता लिन तयार रहेको पनि बताएका थिए।

उनले पीडितहरूको माग बचत फिर्ता मात्र भएकोले न्यायका नाममा पीडितलाई मात्र हाेइन अन्यलाई पनि निरन्तर अन्याय भएपछि बाेल्न बाध्य भएको र निर्दोष फसाएर दोषी उम्काउने र सहकारी पीडितको पैसा फिर्ता पाउनुपर्ने मुख्य सवाललाई विषयान्तर गर्ने दुष्कर्मविरुद्ध सबै पीडितले खबरदारी गर्न आग्रहसमेत गरेका छन्।

एकपछि अर्का जाहेरीकर्ताको यस्तो बयान सार्वजनिक हुन थालेपछि सहकारी ठगीमा रवि लामिछानेविरुद्ध चलिरहेका मुद्दामाथि नै गम्भीर प्रश्न उठेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सभापतिमाथि राजनीतिक प्रतिशोध साँधिएको बताइरहँदा सहकारीबाट पीडितहरूले नै आफ्नो उजुरी र नामको दुरुपयोग भइरहेको बताइरहँदा रास्वपाको आरोपमा बल पुगिरहेको जानकारहरू बताउँछन्।

सुप्रिम सहकारी ठगी प्रकरणमा सुरुमा रवि लामिछानेविरुद्ध जाहेरी परेको थिएन। तर, प्रहरीले पछि रविविरुद्ध पूरक जाहेरी लिएको थियो। पुरक जाहेरीमा प्रहरीले नारायण पहराईसहित बुद्धबहादुर गुरुङ, पूजा न्यौपाने पाण्डे, मदन भुसाल, हुमलाल गैरे, बेलकुमारी घर्ती र मनरूपा पौडेलको नाम सार्वजनिक गरेको थियो।

रविविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर हुँदा इलाका प्रहरी कार्यालय बुटवलमा डीएसपी विजयराज पण्डित प्रमुख थिए। अहिले उनको सरुवा भइसकेको छ। उनको ठाउँमा डीएसपी इन्द्रबहादुर राना आएका छन्।

बुटवल प्रहरीले एक/दुई जना जाहेरीकर्ताले फिर्ता लिँदैमा मुद्दा प्रभावित नहुने बताएको छ। यद्यपि यस्तो अवस्था आउनुको कारणबारे अनुसन्धान आवश्यक रहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: : 2025-05-11 14:20:00

प्रतिकृया दिनुहोस्