नेपाली राष्ट्रिय फुटबलका फरवार्डर विमल घर्ती मगरले बढ्दो जिम्मेवारी र आफ्नो उज्ज्वल भविष्य बनाउनको लागि अष्ट्रेलिया आएको बताएका छन्।
उनले सोमबार सामाजिक सञ्जालमार्फत यस्ताे बताएका हुन्। ‘उमेरको बड्दो क्रमसङै जिम्मेवारी र व्यवहारिकपन पनि बढ्ने रहेछ, त्यसै क्रममा आफ्नो र परिवारको उज्ज्वल भविष्य बनाउनको निम्ति आफ्नो प्राण प्यारो देशप्रतिको माया र लगावलाई एक्छिन थाती राखेर अष्ट्रेलिया आउने निधो गरेँ’, उनले लेखेका छन्।
विमलले विगत १० वर्षदेखि फुटबल खेल्दै आएका थिए। १५ वर्षकै उमेरमा साफ च्याम्पियनसिपअन्तर्गत पाकिस्तानविरुद्ध जित्नै पर्ने खेलमा महत्वपूर्ण गोल गरेर उनी एकाएक चर्चामा आएका थिए।
विमल गत शुक्रबार मात्रै अष्ट्रेलिया गएका थिए। तर उनी नेपाल सुपर लिग (एनएसल) खेल्न पुन: नेपाल फर्किने भएका छन्। उनलाई फुटबल क्लब (एफसी) चितवनले आइकन खेलाडीको रुपमा अनुबन्ध गरेका छ। उनले एफसी चितवनलाई आफूलाई मौका दिएकोमा धन्यवादसमेत दिएका छन्।
उनले लेखेका छन्, ‘मलाई माया गरेर पुन: मलाई आउँदै गरेको नेपाल सुपर लिगमा आइकनिक प्लेयरको रुपमा फेरि पनि आफ्नो माटोमा खेल्ने सुबर्ण मौका दिनुभएकोमा चितवन एफसिलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छु। यो अवसर सिर्जना गरिदिनुहुने आदरणीय व्यक्तित्वलगायत मेरा सम्पूर्ण शुभचिन्तकहरुमा हार्दिक नमन टक्राउन चाहन्छु!! जय नेपाल जय नेपाली फुटबल!!’