सिरहामा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ, भने २५ जना यात्रु घाइते भएका छन्।
आइतबार दिउँसो सप्तरी राजविराजबाट जनकपुरतर्फ आउँदै गरेको ना ४ ख ७१८७ नम्बरको यात्रुबाहक बस स्प्रिङ पट्टा भाँचिएर मिर्चैयाको मारुती सिमेन्ट फैक्ट्री नजिक अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको हो।
प्रहरीका अनुसार दुई जना पुरुषको घटनास्थलमै मृत्यु भएको छ। यस्तै बसमा सवार २५ जना यात्रुहरू घाइते भएका छन्। मृतकको हालसम्म सनाखत हुन सकेको छैन।
घाइतेहरूको गोलबजारस्थित हस्पिटलहरुमा उपचार भइरहेकाे छ। घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।