बितेकाे आठ महिनामा सुदूरपश्चिममा आठ सय ७७ जनालाई डेङ्गुको संक्रमण देखिएको छ। सुदूरपश्चिममा सबैभन्दा बढी संक्रमण कैलाली, कञ्चनपुर र पहाडी जिल्ला दार्चुलामा देखिएको छ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल सुपरभाइजर अधिकृत हेमराज जोशीले डेङ्गु संक्रमणबाट कञ्चनपुरमा दुई र दार्चुलामा गरी गरी तीन जनाको मृत्यु भएको बताएका छन्। ‘तथ्याङ्कअनुसार यहाँ गत माघयता आठ सय ७७ जनामा संक्रमण देखिसकेको छ।’ जोशीले भने, ‘तर पछिल्लो समय संक्रमण नियन्त्रण हुँदै आएको छ।’
यहाँ सुदूरपश्चिम प्रदेश सरकारले सङ्क्रमित बिरामीको व्यवस्थापनमा सहजीकरण गर्ने, जिल्लाका स्वास्थ्य कार्यालयले सोसम्बन्धी सचेतना र कर्मचारीको क्षमता अभिवृद्धि गर्ने र स्थानीय पालिकाले लामखुट्टेको लार्भा नष्ट अभियान सञ्चालन गरिरहेको जानकारी दिएका छन्।
यहाँ गत माघदेखि हालसम्म कैलालीमा तीन सय ७६, दार्चुलामा एक सय ९६, कञ्चनपुरमा एक सय ५९, अछाममा ५२, बाजुरामा ३२, डोटीमा १९, बझाङमा १३ र बैतडीमा नौ जनामा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
गर्मी हुने क्षेत्रमा देखिँदै आएको डेङ्गुको संक्रमण यस पटक सुदूरपश्चिमका पहाडी जिल्लामा समेत देखिएको छ। सङ्क्रमितमा ज्वरो आउने, आँखा दुख्ने, हात खुट्टा र ढाड दुख्नेलगायतका लक्षण देखिने गरेको छ।
त्यसैगरी स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले डेङ्गु रोकथाम र सचेतना अभियान नौवटै पालिकामा सञ्चालनमा रहेको बताएका छन्। ‘कञ्चनपुरमा सङ्क्रमितमध्ये ८५ प्रतिशत भीमदत्त नगरपालिकामा प्रभावित छन्’, उनले भने, ‘भीमदत्तका १९ वटै वडामा रोकथामका लागि सक्रियता बढेको छ।’
उनले वडा-वडामा माइकिङ गर्ने, जोगिने उपायबारे नागरिकलाई जानकारी गराउनेलगायतकाे काम चलिरहेको बताएका छन्। ‘स्थानीय तहसँग मिलेर ‘लार्भा खोज, नष्ट अभियान’ पनि सबै पालिकामा सञ्चालन गरेका थियौँ’, उनले भने, ‘पानी पर्ने क्रम चलिरहेकाले अझै यसको जोखिम कायम छ।’ उनले यसको रोकथामका लागि जिल्ला प्रशासन कार्यालयबाट पनि नौवटै पालिकालाई पत्राचार भएको जानकारी दिएका छन्।