सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज, टोलीसँगै चीन जान पाएनन्

नावालिग बलात्कार मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज हुने भएको छ। गत हप्ता न्यायाधीश अभावको कारण सुनुवाइ स्थगित गरिएको मुद्दा आज (आइतबार)को लागि तोकिएको छ।

यस मुद्दाको फैसला गर्न पटक–पटक पेसी तोकिए पनि विभिन्न कारण देखाउँदै मिति सार्ने गरिएको छ।

असोज १ गते नै मुद्दाको सुनुवाइ हुने भनिए पनि त्यस दिन तीज परेको कारण केही न्यायाधीशहरु बिदामा रहेको तथा केही न्यायाधीशहरुको सुरुवा र बढुवा भएका कारण सुदुवाइ स्थगित गरिएको थियो।

सन्दीपको मुद्दामा आज १८औँ पटक पेसी तोकिएको हो।

सन्दीपमाथि एक किशोरीमाथि बलात्कार गरेको आरोप छ। १७ वर्षीया किशोरीको उजुरीपछि सन्दीप गत वर्षको असोज २० गते त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए।

सन्दीपलाई काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव घिमिरेको इजलासले गत कात्तिक १८ गते पुर्पक्षको लागि थुनामा पठाएको थियो। तर, त्यसको करिब तीन महिनापछि पुस २९ गते उच्च अदालत पाटनले विभिन्न सर्तसहित २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

त्यसयता काठमाडौँ जिल्ला अदालतमा सन्दीपविरुद्धको मुद्दाको अन्तिम सुनुवाइको लागि पेसी तोकिँदै आएपनि फैसला हुन सकेको छैन।

एसियाडको लागि आज चीन जान पाएनन् सन्दीप

शनिबारदेखि सुरु भएको १९औँ एसियाली खेलकुद (एसियाड)को लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज चीन प्रस्थान गर्दैछ। तर, मुद्दाको पेसी आजै परेपछि सन्दीप लामिछाने टोलीसँग चीन जान नपाउने भएका छन्।

आजै पेसी परेको कारण सन्दीप टोलीसँग चीन नजाने सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले बताए।

सन्दीपलाई देश वा काठमाडौँ उपत्यकाबाहिर जानको लागि अदालतको अनुमति अनिवार्य गरिएको छ।

प्रकाशित मिति: : 2023-09-24 08:22:00

प्रतिकृया दिनुहोस्