मितेरी गंगादेवी शान्ति पुरस्कार तीन जनालाई

विश्व शान्ति दिवसकाे अवसरमा मितेरी गंगादेवी शान्ति पुरस्कार तीन जनालाई प्रदान गरिएको छ।

पुरस्कार पाउनेमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाकी स्त्रीरोग विशेषज्ञ डा. सुवी बस्न्यात, कालिकोटका सामाजिक अभियानता हिक्मत बहादुर मल्ल र बझाङकी गंगुदेवी खडायत रहेका छन्।

उनीहरुलाई बिहीबार विश्व शान्ति दिवसको अवसर पारेर एक औपचारिक कार्यक्रममार्फत प्रमाण पत्र, दोसल्लासहित नगद ६ हजार ६९३ रुपैयाँ पुरस्कार प्रदान गरिएको हो।

पुरस्कृत हुनेमा डा.बस्न्यात कर्णाली जस्तो पिछडिएको क्षेत्रमा लामाे समयदेखि स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान दिँदै आएकी छिन् भने कालिकोटका मल्ल वि.स २०७५ सालदेखि जिल्लामा भइरहने सामाजिक गतिविधिमा संलग्न छन्।

उनले कोरोना कालमा १ हजारदेखि १२ सय जना कोरोना पीडितका लागि 'आपसमा युवा अभियान' सञ्चालन गरेका थिए। यस्तै उनले जातीय विभेद तथा छुवाछुत निर्मूल पार्नका लागि सडक नाटकदेखि चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन्।

यस्तै बझाङकी खडायतले जिल्लामा पहिलोपटक हलो जोतेकी थिइन्। उनी महिलाको हकहितको लागि आवाज उठाउने, समाजमा शान्ति स्थापना, महिला हिंसाविरुद्धको अभियानमा लाग्दै आएकी छन्।

एक्सन वर्क्स नेपालका संस्थापक अध्यक्ष राधा पौडेलको पुस्तक 'खलंगामा हमला' ले २०७० सालमा मदन पुरस्कार पाएको थियो। पुरस्कार राशीमा एक्सन वर्क्स नेपालले एक लाख रुपैयाँ थपेर पौडेलको आमा गंगामाया र बुबा देवी पौडेलको सम्झनामा पुरस्कार कोष स्थापना गरेकाे थियाे।

सोही रकमको आउने ब्याजबाट पुरस्कार प्रदान गरिँदै आइएको एक्सन वर्क्स नेपालका अध्यक्ष सम्झना पौडेलले बताइन्।

संस्थाले प्रत्येक वर्ष स्थानीय स्तरमा शान्ति स्थापनाका लागि योगदान पुर्‍याउने व्यक्तिलाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ।

गत वर्ष कालिकोटका कालीबहादुर शाही, जुम्लाकी गाँडे नेपाली र जुम्लाकै मिनराज शर्मालाई मितेरी गंगादेवी शान्ति पुरस्कार प्रदान गरेको थियो।

यसअघि अछामकी मथुरा कुँवर, जुम्लाका सरोज शाही, जुम्लाका चैते गिरी, पर्साका अकवाल अन्सारी, लमजुङका पदमावती लिम्बु, सिन्धुपाल्चोकका सीताराम श्रेष्ठ, जुम्लाका देवीकन्या आचार्य, मुगुका चित्रबहादुर मल्ल, बैतडीका कालु चन्द र बाराका सुगन्धी पासवासनले शान्ति पुरस्कार प्राप्त गरेका थिए। मितेरी गंगादेवी शान्ति पुरस्कारको सचिवालयले पुरस्कार छनोट गर्दै आएको छ।

प्रकाशित मिति: : 2023-09-21 13:40:00

प्रतिकृया दिनुहोस्