आज बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा बुढी पोल्ने पर्व मनाइँदैछ। हरेक वर्ष असोज १ गते यो पर्व यहाँ धुमधामसँग मनाउने प्रचलन छ।
विजय उत्सवका रुपमा मनाइने यो पर्वमा बुढी अर्थात राक्षसीे पुतनालाई पोल्ने गरिएको संस्कृतिका जानकार जयानन्द भट्टले बताएका छन्। परम्परागत किंवदन्तीअनुसार भगवान श्री कृष्णले राक्षसी प्रवृतिकी पुतनालाई मारेपछि उनका साथी ग्वाला (गोठाला)हरूले पुतनाको शव दहन गरेको कथन छ।
द्वापर युगमा विषाक्त दुध सेवन गराई बाल–बालिकाको ज्यान लिने राक्षसी पुतनालाई भगवान श्रीकृष्णले दुध चुसी मारेको र भगवान श्रीकृष्ण बाँचेको खुशियालीमा असोज संक्रान्तीका दिन यो पर्व मनाउने गरिएको भट्टको भनाइ छ।
सुदूरपश्चिममा भाद्र संक्रान्तीका दिन गाडिएको सल्लाको वा अन्य बोट विरुवाको लिङ्गोमा आज साँझपख बुढी पोलिने र सोही ठाउँमा काक्रा खाँदै लुतो बाँड्ने प्रचलन छ। ओल्के संक्रान्तिका दिन गोठालाहरुले बुढीको प्रतिमा राखेपछि दैनिक त्यसमा रुखका हाँगाहरु थप्ने गर्छन्। दैनिक थप्दा केही स्थानमा निकै ठूलो बुढी बन्ने गर्छन्।
गाई गोठालाहरुले बाँझा जग्गा र दोबाटामा सल्ला, बाँज, खर्सुलगायत रुखहरुबाट निर्मित बुढीको पुतनालाई साँझपख जलाउने गरिन्छ। दोबाटोमा जलाएको पुतना राक्षसनीको आकृतिबाट जलेको खरानीको तिलक गाईलाई लगाउने चलन छ। यसो गरेमा पशु चौपायामा कुनै रोग नलाग्ने धार्मिक जनविश्वास रहेको बैतडीको दोगडाकेदार ३ श्रीकोटका गणेश वियटको भनाइ छ।
ओल्के संक्रान्तिका दिन गाउँ नजिकका अलिक उच्चो टाकुरामा सबै जना मिलेर रूखका हाङ्गा झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ। यो थुप्रोलाई स्थानीय भाषामा ‘बुढी हालेको’ भन्ने गरिएको छ। यो बूढीलाई नै आज असोज संक्रान्तिका साँझ प्रत्येक घर घरबाट आगोको राँको एकैपटक निकाली एकैसाथ पोलेर ‘बूढी पोल्ने’ पर्व मनाउने परम्परा छ।
पुतनाको स्वरुपमा तयार गरी सिङ्गारिएको बाबियोलाई आज बिहान गोठबाट निकालेर दिनभरी घाममा सुकाइ साँझ दोबाटोमा लगेर जलाउने गरिन्छ। साँझपख काँक्रो चपाएर जलेको पुतनामा फाल्दै जोडले थुई बुढी थुई भन्ने गर्छन्।
त्यस्तै बुढी पोलेर घर फकिर्ने क्रममा बाटो–बाटोमा बलेको दियो पनि गाड्दै जाने प्रचलन छ। यस पर्वमा रातभर देउडा खेल्ने चलन भए पनि युवापुस्ताले ध्यान नदिँदा पछिल्लो समयमा यस्ता चलनहरु लोप हुँदै गएका छन्।