हिन्दू नारीहरूको महान चाड हो, हरितालिका तीज। धार्मिक ग्रन्थहरूमा उल्लेख भएअनुसार हिमालय र मेनकाले आफ्नी सुपुत्री पार्वतीको विवाह विष्णुसँग गरिदिने अठोट गरेका थिए तर पार्वतीले भने बाल्यकालदखि नै महादेव (शिव) लाई वरण गरिसकेकी थिइन्। त्यसैले विष्णुसँग विवाह नहोस् भनेर आफ्ना संगिनीहरूसँग भागेर जंगल पुगेकी पार्वतीले महादेवलाई पतिका रुपमा पाउनका निम्ति हरितालिका तीजको व्रत बसेकी थिइन्।
यसै कुरालाई विश्वास गरेर हिन्दू महिलाहरू तीजका दिन निराहार व्रत बस्ने चलन रहेको छ। विशेष गरी विवाहित महिलाहरू आफ्नो पतिको सु-स्वास्थ्य र दीर्घायुको कामना गर्दै व्रत बस्छन्। अविवाहितहरूले तीजको व्रतले आफ्नो मनोकाङ्क्षा पूरा हुने विश्वास राख्दै आफूले चाहे जस्तै वर पाउँ भनी व्रत बस्ने प्रचलन रहेको छ। त्यस्तै विधवा महिलाहरू आफ्नो स्वर्गीय पतिको आत्माको चीर शान्तिको कामना गर्दै व्रत बस्ने चलन छ।
हरेक देशको आ–आफ्नो परम्परा, चालचलन र संस्कृति रहेको हुन्छ। त्यस्ता चालचलन र संस्कृतिलाई जीवन्त राख्न संरक्षण तथा संवर्द्धन गर्नका लागि चाडपर्वहरूलाई भव्यताका साथ मनाइन्छ। अझ नेपाल त झन् भाषा र संस्कृतिमा सम्पन्न मुलुक हो।
धार्मिक र सांस्कृतिक मूल्य मान्यतालाई बिर्सिएर अश्लील नग्नता प्रदर्शन गर्दै पप र रक शैलीका गीत संगीतहरूले गर्दा हाम्रो परम्परा मेटिएर हाम्रा सन्ततीहरूले तीज पर्वलाई परिभाषित गर्न नसक्ने अवस्था नआओस्। अर्थात् इतिहास नमेटियोस्।
यस्तै तीज एउटा धार्मिक र सांस्कृतिक महत्व राख्ने सांगीतिक चाड पनि हो। शिवजीको व्रतका साथ मनाइने भएकाले तीजका गीतहरूमा शिवजीका महिमागान गाउनु स्वभाविक रहेको छ। यो पर्व भाद्र शुक्ल तृतियाका दिनदेखि पञ्चमीसम्म मनाइन्छ। व्रत बस्ने अघिल्लो दिन विशेष गरी दूधका विभिन्न परिकारहरूका साथै फलफूल र मिठाइहरू दरका रुपमा खाने, खुवाउने र भोलिपल्ट दिनभरि व्रत बस्ने तथा तेस्रो दिन ऋषिपञ्चमीको पूजाआजा र व्रत बसी तीज समापन हुन्छ।
पहिले-पहिले नेपालका ९५ प्रतिशत मानिसहरू कृषि पेशामा निर्भर थिए। त्यसताका विवाह भएर आफ्नो कर्मघर गएका महिलाहरूलाई असार महिनादेखि नै धान रोप्ने, गोड्ने, मकै भाँच्ने, कोदो रोप्ने जस्ता कामहरूको चटारो हुन्थ्यो। अझ घरमा पनि बिहान उठेर कुचो लगाउने, घर लिप्ने गर्नु पर्थ्याे। अहिले जस्तो घरघरमा पानीको धारो हुँदैनथ्यो। पानी लिनलाई निक्कै टाढासम्म कुवा वा पँधेरामा जानुपर्थ्याे। लुगा धुने, घरका सम्पूर्ण सदस्यहरूलाई पकाउने, खुवाउने, गाईवस्तुहरूलाई घाँसपातलगायत एउटी कुशल गृह सञ्चालिका भएर घरमा बस्नुपर्ने बाध्यता थियो।
यस्तै घरायसी कामले मनोरञ्जन गर्ने फुर्सद पनि हुँदैनथ्यो। त्यस समयमा त अझ सासू, नन्द, आमाजू, सबैलाई खुसी नतुल्याए पाइलैपिच्छे कुरा काट्ने र नराम्रो दृष्टिकोणले हेर्ने चलन थियो। यस्तैयस्तै दुःख कष्टहरूले नारीहरूको मन उकुसमुकुस भएको हुन्थ्यो। अनि तीज आएपछि आ–आफ्ना दाजुभाइहरूले दिदीबहिनीहरूलाई माइतीघरमा ल्याई मिठामिठा परिकारहरू दरका रुपमा खुवाउने चलन थियो। दिदीबहिनीहरू पनि आफ्नो माइतीघरमा सम्पूर्ण दुःखहरू बिर्सेर आफ्नी आमाले बनाएका मिठामिठा परिकारहरू खाने र गीत गाउँदै नाचेर रमाइलो गर्ने प्रचलन रहेको थियो।
त्यसताका तीजका गीतमा नारीहरूले आफ्ना मनमा कुण्ठित रोदन र उत्पीडनहरूलाई चौतारी वा कसैको घरको आँगनीमा भेला भएर मादल, खैजडी, मुजुरा जस्ता लोक बाजाको धुनमा लय मिलाउँदै आफ्ना मनका कुण्ठाहरू पोखेर दुःख मुक्त हुन्थे। त्यसबेलाका गीतहरू हिन्दू समाजमा निर्धारण भएका धार्मिक र सामाजिक मूल्य मान्यतालाई समेट्दै आफ्ना जीवन भोगाइका शब्दहरू भर्दै लयात्मक शैलीमा हिन्दू महिलाहरू आफ्नो सौभाग्यको प्रतीक हरियो वा रातो पोते, सारी, चोली र चुराहरूमा सजिएर छमछमी नाच्थे। तीजमा आफ्नो दाजुभाइ अर्थात् माइती लिन आएनन्, दाजुभाइ परदेशमा छन् भने कर्मघर गएका नारीहरू सारै पिरोल्लिन्थे। दिनभरि माइतीको बाटो हेरेर रुँदै दिन काट्थे।
यसरी तीजको परम्परालाई हेरिल्याउँदा अहिले धेरै परिमार्जित भएको हामी सबैले महशुस गरेको कुरा हो। धार्मिक सांस्कृतिक आस्था बोकेको तीज परिमार्जित हुने क्रममा जति र जसरी परिमार्जित हुनुपर्ने हो त्यो भन्दा बिल्कुलै फरक बाटोमा देखिन्छ। समयानुसार परिमार्जित हुनु नराम्रो कुरा होइन। तर धार्मिक र सांस्कृतिक आस्थालाई पर सारेर अरुको नक्कल गर्दै तडकभडक गरेर महिनादिन अगाडिदेखि अर्धनग्न भएर महँगामहँगा फेसन र गरगहना प्रर्दशन गर्ने अवसरको रुपमा तीजलाई लिनु राम्रो होइन। तीजका गीतहरूमा समयानुसार दुःख र रोदन मात्र नसमेटेर रमाइला र ठट्यौला शब्दहरू समेटिए पनि अश्लीलता मिसाउनु राम्रो होइन।
समयानुसार सञ्चार माध्यमहरूको विकासले गीतहरू सुन्ने भन्दा पनि हेर्ने प्रचलन आएको छ। यो हाम्रो गौरवको कुरा त हो तर आधुनिकताको नाममा तीज गीतका भिडियोहरू परिवारसँग बसेर हेर्न नसकिने अवस्थालाई बिडम्वना मान्नुपर्छ। धार्मिक र सांस्कृतिक मूल्य मान्यतालाई बिर्सिएर अश्लील नग्नता प्रदर्शन गर्दै पप र रक शैलीका गीत संगीतहरूले गर्दा हाम्रो परम्परा मेटिएर हाम्रा सन्ततीहरूले तीज पर्वलाई परिभाषित गर्न नसक्ने अवस्था नआओस्। अर्थात् इतिहास नमेटियोस्।
पहिलेपहिले तीजमा दरको रुपमा खाइने दूधका परिकार र मिठाइहरू लत्याएर धूम्रपान र मध्यपानको प्रयोग गर्दै तीजमा डिस्कोमा गएर हातमा वाइनको गिलास समातेर नाचेको देखेर महादेव नरिसाउन्। आधुनिकताका नाममा तीजका रङ्गनढङ्गका अश्लील शब्दहरू भर्दै होडबाजीका साथ गायक गायिकाको कमाउने भाँडो मात्र नबनोस् तीज।