‘डाक्टर कुटे न्याय पाइन्छ’ भन्ने गलत पाठ पढाइँदा स्वास्थ्यकर्मी असुरक्षित बने: डा.तिवारी (अन्तर्वार्ता)

मिनु गोले

काठमाडौं
BreaknLinks
BreaknLinks

गत साउन २५ गते डेंगी संक्रमणबाट चितवनमा मृत्यु भएका मकवानपुरका राजेश प्रधानको विषयलाई लिएर भदौ २७ गते हेटौँडास्थित सञ्चो अस्पतालका दुई चिकित्सकमाथि कुटपिट भयो।

४१ वर्षीय प्रधानलाई डेंगी संक्रमण भएपछि साउन २२ गते दिउँसो सञ्चो अस्पताल ल्याइएको थियो। डेंगीसँगै निमोनियाबाट ग्रस्त प्रधानको स्वासप्रस्वासमा समस्या देखिएपछि अस्पतालले त्यसको भोलिपल्ट साउन २३ गते चितवन मेडिकल कलेजनमा रिफर गरेको थियो। त्यहाँ पुगेको दुई तीनपछि साउन २५ प्रधानको उपचारको क्रममा निधन भयो।

आफन्तको निधनपछि शोकमा डुबेको प्रधानको परिवार मृत्यु भएको एक महिनापछि उत्तेजित भएर बुधबार (भदौ २७ गते) सञ्चो अस्पताल पुगेर डा.प्रशान्त बिडारी र डा. विकास थापामाथि आक्रमणमा उत्रियो।

आक्रमणबाट दुवै चिकित्सक घाइते छन्। ती मध्ये डा.थापाको काठमाडौँमा उपचार भइरहेको छ।

घटनालाई लिएर अस्पतालका चिकित्सकहरु आन्दोलित छन्।

यसरी चिकित्सकमाथि बिरामीका आफन्तले आक्रमण गरेको यो पहिलो घटना भने होइन्।

गत वर्षको असारमा ललितपुरको आरोग्य प्रतिष्ठानमा कार्यरत डा.कुलबहादुर घिसिङलाई एक प्रहरी जवानले कुटपिट गरेका थिए। गत वर्ष नै जिल्ला अस्पताल गोरखाका डा.अविनाश पराजुलीमाथि पनि बिरामीका आफन्तले आक्रमण गरेका थिए।

२०७८ जेठमा कोरोना संक्रमणबाट बिरामीको निधन भएपछि बाँकेको भेरी अस्पतालका चिकित्सकहरुमाथि आफन्तले आक्रमण गरेका थिए। त्यतिबेला बिरामीका आफन्तले स्वास्थ्यकर्मीहरुलाई लखेटी–लखेटी कुटेका थिए। त्यसक्रममा चिकित्सकहरु अस्पताल भवनको माथिल्लो तलाको झ्यालबाट हाम फाली भागेर ज्यान बचाएका थिए। जसक्रममा चार स्वास्थ्यकर्मी घाइते भएका थिए।

त्यस्तै २०७७ जेठमा मा त्रिवि शिक्षण अस्पतालमा कार्यरत शम्भु खनाल, तेजप्रकाश साह र विकास शाहमाथि प्रहरी वरिष्ठ उपरीक्षकले आक्रमण गरेको घटना बाहिरिएको थियो।

आखिर किन बिरामीका आफन्तले स्वास्थ्यकर्मीलाई अस्पतालमा थुनेर, बाटो छेकेर वा लखेटी–लखेटी कुटपिट गर्छन् ? नेपाल मेडिकल एसोसिएनका महासचिव डा.सञ्जीव तिवारीलाई बिएलकर्मी मिनु गोलेले प्रश्न गरेकी छन्।

प्रस्तुत छ, डा.तिवारीसँग गरिएको कुराकानी :


स्वास्थ्यकर्मीमाथि किन भइरहेको छ कुटपिट ?

कुनै डाक्टरमाथि सन्तोष लागेन भने अर्को डाक्टर रोज्न सकिन्छ। डाक्टरको कमजोरी भयो भने विभिन्न निकायहरुमा जान सकिन्छ। निकाय भनेको मेडिकल काउन्सिल, अदालत वा जिल्ला प्रसाशन कार्यालय हाे। अनि, हामीलाई पनि बताउन सकिन्छ। तर, यहाँ डाक्टरहरुमाथि कुटपिट भइरहेकाे छ। डाक्टरलाई कुट्यो वा तोडफोड गर्‍यो भने न्याय पाइन्छ भनेर मान्छेहरुलाई गलत पाठ पढाइएको छ। अनि, मान्छे जता भीड छ, त्यतैतिर जान्छन्। नेपाल सरकारले यस्ता कुरामा जनतालाई सचेत गराउनुपर्छ। यदि तपाईंलाई चित्त बुझेन भने सम्बन्धित ठाउँमा जानुपर्छ। त्यसका लागि सहयोगी निकायहरु तयार छन्।

बिरामीहरुले डाक्टरलाई ‘भगवान’को रुपमा लिन्छन्, तर तिनै भगवानरुपी डाक्टरहरुमाथि किन अविश्वास बढ्दैछ ?

तपाईंले जनता भन्नु भयो, म पनि त जनता हो। जनताको छोरा जनता हो। मेरो पेसा चिकित्सक हो, म बिरामी जाँच्ने काम गर्छु। तपाईं पत्रकार हो, तपाईं घटनाबारे अनुसन्धान गर्नुहुन्छ। भन्नुको अर्थ हामीले आ–आफ्नो ठाउँमा बसेरका काम गर्छौँ र हामी कुनै पनि भगवान होइनौँ, हामी सबै जनता हो। अब जनताबाट कहिलेकाहिँ त्रृटि भएकाे महसुस भयाे भने सम्बन्धित ठाउँमा जानुपर्छ।

अब स्वास्थ्यकर्मी भनेको चाहिँ जुन २०४६ सालको दरबन्दी अनुरुप चलिरहेको छ। अहिले २०८० साल भइसक्यो भने हामी ३४ वर्ष पुरानो संरचनामा चलिरहेका छौँ। २२ वर्ष अगाडि ३३ हजार स्वास्थ्यकर्मीहरु रहिछन् भने अहिले ३१ हजारमात्र छन्। भनेपछि, २२ वर्षमा जनसंख्या बढ्यो तर जनशक्ति उल्टो भयो। अब तपाईं कसरी राम्रो सेवा सुविधा पाउनुहुन्छ ?

नेपाल सरकारले जनताप्रति घोर अन्याय गरेको छ। यसमा जनता पनि जाग्न जरुरी छ, स्वास्थ्य भनेको जनताको नैसर्गीक अधिकार हो। तर, अधिकारबाट जनता बञ्चित भएका छन्। किनकि, सरकारले दरबन्दी थपेको छैन। भएको दरबन्दी पनि हटिसकेको छ। यसको जिम्मेवारी कसले लिने ? नेपाल सरकारले लिनुपर्छ, हामी सहयोग गर्छाैँ भनिरहेका छौँ। हामी त जहिले पनि नेपाल सरकारलाई घचघचाइरहेका छौँ, ‘ए सरकार दरबन्दी बढाइदिनुस्’ भनेर।

बिल्डिङ मात्रै बनाएर हुँदैन उपकरण पनि त्यहीअनुसार राख्नु पर्‍यो। अनि पो जनताले सेवा सुविधा पाउँछन्। एउटा बिल्डिङ बनायो, एउटा डाक्टर र नर्स पठायो यसरी पनि हुन्छ ? साधान चाहिन्छ एउटाले मात्रै हुँदैन टिम चाहिन्छ।

एउटा अस्पतालमा सामान्य रहेको बिरामी अर्काे अस्पतालमा जाँदा मृत्यु हुन्छ भने त्यहाँ त लापर्बाही भएन र ?

लापर्बाही भनेको जनताको भीडले निर्क्याेल गर्ने होइन। त्यो हेर्ने नेपाल मेडिकल काउन्सिल छ। जस्तो तपाईं पत्रकार हुनुहुन्छ तर मलाई पत्रकारितामा के हुन्छ भन्ने कुरा थाहा हुँदैन। तपाईंबारे के राम्रो भन्ने कुरा एउटा पत्रकारको समूहलाई थाहा होला नि। डाक्टरको गल्ती कमजोरी पनि सम्बन्धित संस्थालाई थाहा होला नि, जनतालाई त थाहा हुँदैन। मेडिकल काउन्सिलले कारबाही गरेका उदाहरणहरु धेरै छन्।

त्यसैले सरकारले जनतालाई पहिला सुसुचित गर्नुपर्छ कि चित्त बुझेन भने उजुरी दिनुहोस्। त्यहाँबाट अनुसन्धान हुन्छ, सत्य तथ्य बाहिर आउँछ।

डाक्टरहरुमाथि हुने आक्रमण रोक्न के गर्नुपर्छ ?

डाक्टरमाथि आक्रमण गर्न मिल्दैन र कोहीमाथि पनि आक्रमण गर्न पाइँदैन। कानुनी राज्य छ चित्त बुझेन भनेर आएर हिर्काउन त मिलेन नि। सम्बन्धित निकायमा कम्प्लेन गर्नु पर्‍यो। कारबाही गर्ने संस्थाहरु छन्।

जस्तै हेटौँडमा मान्छे बितेको छ साउन २५ गते, अनि २७ गते डाक्टरमाथि सांघातिक हमला भयो। त्यहाँ मान्छेले सुरक्षाकर्मीकै अगाडि यदि कसैले उजुरी हाल्यो भने म त्यसलाई काट्छु र १० वर्ष जेल बस्छु भन्दा चाहिँ सुरक्षाकर्मी चुप लागेर हेर्छ भने मान्छेले के बुझ्छ। अब त जे गर्नुपर्छ त्यही गर्ने हो। यसरी नै गर्ने हो भने अपराधले प्रोत्साहन पाउँछ।

भिडियाे :

थप सामाग्री :
प्रकाशित मिति: : 2023-09-16 20:00:00

प्रतिकृया दिनुहोस्