किन कुटाइ खान्छन् डाक्टरहरू?

मिनु गोले

काठमाडौं

बिहीबार बिहानदेखि एउटा भिडियो सामाजिक सञ्जालमा शेयर भइरहेको छ। उक्त भिडियोमा एक हुल मानिस छन्। त्यही हुलभित्रका केही व्यक्तिले दुई जनालाई कुटेका छन्। ताकिताकि अनुहारमा प्रहार गरेका छन्। कोही लात्ति प्रहार गरेका छन्। 

यो कुनै ग्याङ फाइट (समुहबीचको लडाइ) होइन। यो त एक हुल मानिसले डाक्टरलाई सामुहिक कुटपिट गरेको दृष्य हो। बुधबार (हिजो) बिहान करिब १० बजेको थियो। मकवानपुरको हटौडामा रहेको सञ्चो अस्पतालमा डा. विकास थापा र प्रशान्त विडारी बिरामीको उपचारमा थिए। 

बिरामी बचाउन खटिएका यी दुई डाक्टरलाई अस्पतालभित्रबाट थुतेर बाहिर निकालेर एक समुहले कुटपिट गर्यो। त्यही हुलको कुटाइबाट डा. थापाको अनुहारमा गम्भीर चोट लागेको छ। उनको गालाको हड्डी भाँचिएको र अप्रेसन गर्नुपर्ने अवस्था रहेको सञ्चो अस्पताल प्रशासनले बिएल नेपाली सेवालाई बतायो। 

अर्का डा. विडारीको पनि अनुहारभरी चोट छ। दुबै जना अहिले अस्पताल रेष्टमा छन्। 

डाक्टर किन कुटिए?
कारण एउटै छ। एक महिना अघि सञ्चो अस्पतालमा उपचार गर्न आएका एक बिरामीको मृत्यु भएपछि त्यसको क्षेतिपूर्ती माग गर्दै आफन्तले डाक्टरमाथि कुटपिट गरेका हुन्। साउन २२ गते हेटौडाबाट आएका एक बिरामीलाई डेङ्गु र निमोनियाँ देखिएपछि २३ गते चितवन मेडिकल कलेजमा रेफर गरिएको थियो। 

रेफेर गरिएका बिरामीको चितवन मेडिकल कलेजमा साउन २५ गते उपचारका क्रममा मृत्यु भयो। आफन्तले सञ्चो अस्पतालले रेफर गर्न ढिलाइ गरेका कारणले बिरामीको मृत्यु भएको आरोप लगायो। 

र, बिरामीको मृत्यु भएको एक महिनापछि हिजो बुधबार बिहान डाक्टरमाथि कुटपिट गर्यो। चौतर्फी दबाबपछि कुटपिट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरिसकेको छ।  

०००

२०७७ सालको जेठमा काठमाडौंको नेपाल मेडिकल कलेजमा उपचारका क्रममा एक बिरामीको मृत्यु भयो। बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तले डाक्टरमाथि हातपात गरे। बिरामीका आफन्तले हातपात गरेपछि काममा जान नसकिने भन्दै डाक्टहरु आन्दोलनमा उत्रनु पर्यो। 

यतिमात्र होइन, गएको बैशाख २८ गते दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि यस्तै तानब सृजना भयो। घोराहीकी एक सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु भएपछि प्रतिष्ठानमा उनका आफन्तले आन्दोलन गरे। 

अस्पताल ल्याउँदा राम्रै रहेकी सुत्केरीको नर्सले उपचारमा लापर्वाही गरेका कारण मृत्यु भएको आफन्तको आरोप थियो। उनीहरुले क्षेतिपूर्ती माग गर्दै अस्पतालमा आन्दोलन गरेपनि प्रहरी प्रशासनको उपस्थितिले अप्रिय घटना भने हुन पाएन। 

यी घटना केही प्रतिनिधिमुलक हुन्। डाक्टरमाथि भइरहेको पटक–पटक आक्रमणले अधिकारकर्मीदेखि राजनीतिक नेतृत्वलाई चिन्तित बनाएको छ। अधिकारकर्मी मोहना अन्सारीले हेटौडामा भएको घटनापछि ट्वीटरमा लेख्दै डाक्टरको सुरक्षाको जिम्मा कसको भन्दै प्रश्न उठाएकी छिन्। 

के सुरक्षा अगुवापछुवा लिएर हिन्नेका लागि मात्र हो? उनले प्रश्न गरेकी छिन्। उनले भनेकी छिन्, ‘के नेपालमा स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति दिलाउने जिम्मा लिने निकाय छैन? के स्वास्थ्यकर्मी कुटिनु र कामको सम्मान नहुनुको पर्यायवाची बन्दै गएको हो? के सुरक्षा अगुवापछुवा लिएर हिड्नेलाई मा हो?’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले चिकित्सक माथिको कुटपिट अराजकताको पराकाष्ठा भएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले डाक्टरको लापर्वाही, जटिलता आम जीवनले सजिलै छुट्याउन सकिने कुरा नभएको उनको भनाइ छ। 

उनले भनेका छन्, ‘चिकित्सक माथिको कुटपिट अराजकताको पराकाष्ठा हो। लापर्वाही र जटिलाता, आमा जीवनले सजिलै छुट्याउन सकिने कुरा हुँदै होइन। त्यसैले कुनैपनि बहानामा हुने यस्ता क्रियाकलापप्रति खेद प्रकट गर्दछु। चिकित्सक कुटुनेमाथि कडा भन्दा कडा कारवाहीको माग गर्दछु।’

पछिल्लो समय डाक्टर माथिको कुटपिट, अस्पतालमा तोडफोड जस्ता अराजकता बढ्दै गएको छ। समयमै डाक्टरले उपचार नगरेको, उपचारमा लापर्वाही गरेको भन्दै बिरामीका आफन्तले आन्दोलन गर्ने गरेका छन्। 

नेपाल चिकित्सक संघका महासचिव डा. सन्जिव तिवारीले पछिल्लो वर्षहरुमा डाक्टरमाथि हातपात गर्ने, अस्पताल तोडफोड गर्ने घटना बढिरहेको बताउँछन्। वर्षमा कति जना डाक्टरमाथि कुटपिट हुन्छ भन्ने तथ्यांक कुनै पनि निकायसँग नभएपनि हप्तामा एक दुई वटा घटना हुने गरेको महासचिव तिवारीले बताए। 

सरकारले सुरक्षा दिन नसकेका कारण यस्ता घटना बढिरहेको उनको भनाइ छ। ‘सरकार डाक्टरको सुरक्षा गर्न, अस्पतालको सुरक्षा गर्न सकिरहेको छैन। त्यसैको परिणाम हो डाक्टर कुटपिट घटना बुढ्नु हो,’ उनले बिएल नेपाली सेवासँग भने। 

तिवारीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ छिटो कार्यान्वयन गर्न सरकारलाई आग्रह गरे। उनले भने, ‘ऐन संशोधन हुने तर कार्यान्वयन नहुने भएपछि डाक्टरलाई जे गरेपनि हुने भन्ने अवस्था छ। त्यसैले यो ऐन कार्यान्वयन हुनुपर्छ।’

अहिले डाक्टरअनुसार बिरामीको चाप अत्याधिक भएका कारणले बिरामीले गुणस्तरीय स्वास्थ्य सेवा पाउन सक्ने अवस्था नरहेको उनको भनाइ छ। त्यसले गर्दा पनि लापर्वाही नगर्ने भन्दाभन्दै पनि डाक्टरहरु एउटैले धेरै बिरामी हुर्नेपर्ने बाध्यतामा रहेको बताए।
 

प्रकाशित मिति: : 2023-09-14 20:26:00

प्रतिकृया दिनुहोस्