हृदयघातसँगै प्राण त्यागेका संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई ‘राजकीय सम्मान’ दिने निर्णय गर्दैगर्दा सरकार आफैँ अन्योलमा थियो- शोक बिदा कहिले दिने?
कारण थियो- नेम्वाङका दुई भाइ छोरा र अरू परिवार पनि नेपालमा थिएनन्। मंगलबार अबेरमात्रै परिवारले निर्णय सुनायो, बिहीबारमात्रै अन्त्यष्टि हुनेछ। त्यतिञ्जेल विदेश गएका छोराहरू र अरू परिवार पनि जुटिसक्नेछ।
अनि सरकारले बिहीबारका लागि शोक मनाउन सार्वजनिक बिदा दिने निर्णय सार्वजनिक गर्यो।
अस्पतालले मृत घोषणा गरेकाे करिब ४८ घण्टापछिमात्रै उनको अन्त्यष्टि गरिनेछ।
मंगलबार बिहान ३ बजे त्रिवि शिक्षण अस्पालमा हृदयघातका कारण नेम्वाङको मृत्यु भएको थियो। मृत्यु भएको दुई दिनपछि बिहीबार बिहान ११ बजे पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिँदैछ।
यो समयसम्म नेम्वाङको शवले दुई छोरालाई कुरिरह्यो। दुबै छोरा विदेशी भूमिमा कर्म गरिरहेका छन्। जसका कारण उनीहरु बुवाको मृत्यु भएको २४ घण्टासम्म नेपाल आउन सकेनन्।
एमाले सचिव योगेश भट्टराईकका अनुसार जेठा छोरा मिङ्सो नेम्वाङ युकेबाट र कान्छा छोरा सुहाङ नेम्वाङ अष्ट्रेलियाबाट बुधबारमात्रै नेपाल आइपुगे। दुई छोरा आइनपुगेसम्म सुवासको दाहसंस्कार नगरिने परिवारले जनाएका थिए।
नेपालमा देशको नेतृत्व जुन दलले गरे पनि एउटा मुख्य एजेण्डा युवालाई स्वदेशमै रोजगारकाे अवस्था सिर्जना गर्ने भन्ने हुन्छ। तर देशकै नेतृत्व गरेका सुवासकै छोरा विदेशको भूमिमा हुँदा बुवाले अन्तिम सास लिँदै गर्दा साथमा भएनन्। अन्तिम बोली उनीहरूले सुन्न पाएनन्।
एमाले पार्टीको उपाध्यक्ष, दुई पटक सभामुख, दुई पटक संविधानसभाका अध्यक्ष भएका नेताका सन्तान नेपालमा बस्ने वातावरण नहुनु देशको चित्र कस्तो भन्ने देखिएको छ। नेता सुवासको मात्र होइन, मंगलबार सुवास सँग–सँगै संसार छाडेका लेखक तथा पत्रकार राजेन्द्र पराजुलीको अवस्था पनि उस्तै हो।
उनले पनि छोराको काखमा अन्तिम सास फर्ने पाएनन्। विदेशी भूमिमा रहेका छोरालाई पर्खँदा पराजुलीको अन्तिम दाहसंस्कार गर्न ढिलाइ भएको थियो। यद्यपि उनका छोरा साँझपख आएपछि मंगलबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरियो।
यो नेपालमा युवाहरु बस्ने वातावरण छैन भन्ने चित्र हो। गाउँ–गाउँबाट सहरमा र सहरबाट विदेशमा जानुपर्ने बाध्यतामा युवाहरू छन्।
देशमा रोजगार गर्ने वातावरण छैन। यस्तो हुनुका पछाडि देशको नेतृत्व गर्ने नेताहरुको कमजोरी देख्छन्, समाजशास्त्री माधव गौतम।
नेताहरुले समाजवाद भन्ने गरेपनि उनीहरुको चरित्र पुँजीवादी भएको परिणाम यस्तो अवस्था आएको गौतमले बताए।
उनी भन्छन्, ‘नेपालमा समाजवादी भनेर संविधानमा लेखिए पनि व्यवहारमा पुँजीवादी प्रवृत्तिको अर्थतन्त्र विकास भइसकेको सन्दर्भमा उच्च तह, शक्तिशाली बन्ने जुन मानसिकता छ, त्यसलाई देखाउनका लागि उच्च तहका मान्छेका छोराछोरीहरु बाहिर गएका हुन्।’
नेताहरूको सन्तानहरू बाहिर काम गर्न नजाने गरेको उनको भनाइ छ। ‘नेपालका माथिल्लो तहका अधिकांश नेताहरुको छोराछोरी नेपालमा छैनन्। उनीहरु पढ्ने नाममा, नोकरीको नाममा बाहिर गएका हुन्। अन्य आम नागरिकका छोराछोरीजस्तो खाडी मुलुकमा काम गर्न गएका होइनन्’, उनी भन्छन्।
उनले नेपालमा बस्न सक्ने अवस्था नै नरहेको बताए। ‘नेपालको शिक्षा, स्वास्थ्य सबै विदेशीको हातमा गइसक्यो। मध्यम तहका नागरिकका सन्तानले पढ्न सक्ने अवस्था छैन। तल्लो तहका नागरिकको अवस्था त बिकराल भएको छ’, गौतमले भने।
उनले अबको १० वर्षमा नेपालमा युवाहरु नै नहुने बताए। ‘समाजशास्त्री रुपमा हेर्न हो भने हामी अब विदेशीको दास हुन्छौँ,’ उनले भने, ‘१८ वर्षमुनि र ६० वर्ष माथिका मात्र नागरिक हुन्छन्। जसले गर्दा भोलि विदेशीले दिए खान पाउने र नदिए खान नपाउने अवस्था आउनेछ।’