६० किलो सुन तस्करी प्रकरणमा ५० जना प्रतिवादी

File Photo
File Photo

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ६० किलो सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएको छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा सिआइबीले बुझाउन लगेकाे प्रतिवेदनमा ५० जनालाई प्रतिवादी बनाएको हाे।

सीआइबीका अनुसार उक्त प्रकरणमा ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार छन्।

पक्राउ परेकामा भन्सार कार्यालयका कर्मचारीसहित नेपाल, भारत र चिनियाँ नागरिक पनि रहेका छन्। उक्त प्रकरणमा भन्सार एजेन्ट र सुन व्यापारीसमेत मुछिएका छन्।

हङ्कङबाट तस्करी गरी ल्याइएको झण्डै ६१ किलो सुन प्रकरणको अनुसन्धान प्रतिवेदन सिआइबीले आज जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउँदै छ। मङ्गलबार प्रतिवेदन तयार पारेको सिआइबीले आज रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउन लागेको हो।

आरोपीहरुविरुद्ध सङ्गठित अपराध, सुन चोरी पैठारीलगायत कसुरमा मुद्दा चलाउन राय दिने तयारी गरेको सिआइबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले बताइन्।

सङ्गठित अपराध कसुरमा म्याद थप गरेर सिआइबीले घटनाको अनुसन्धान गरेको थियो। उक्त प्रकरणमा प्रहरीले अनुसन्धानका लागि ६० दिन म्याद पाउँछ। यही भदौ ३१ गते ६० दिन पुग्ने भएकाले सो मितिसम्ममा मुद्दा अदालतमा पुर्याइसक्नुपर्ने हुन्छ। त्यसैले सरकारी वकिललाई तीन दिन मिसिल अध्ययन गर्न समय बाँकी हुन्छ।

गएको साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङ्कङबाट ब्रेक शुमा हालेर ल्याइएको उक्त सुन सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो।

विभागले आवश्यक अनुसन्धान सकेर १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)लाई दिएको थियो। ब्रेक शुसहितको सुन एक सय ५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो सात सय १६ ग्राम फेला परेको थियो। सुन अहिले राष्ट्र बैंकको संरक्षणमा छ।

प्रकाशित मिति: : 2023-09-13 11:53:00

प्रतिकृया दिनुहोस्