औद्योगिक वातावरण निर्माण गर्नु सरकारको लक्ष्य छ: मन्त्री रिजाल

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार उद्योगी व्यवसायीको समस्यालाई समाधान गरी मुलुकमा औद्योगिक वातावरण बनाउन लागिपरेको बताएका छन्।

मन्त्रालयद्वारा आज वीरगञ्जमा आयोजित सरकारको वाणिज्य नीतिसम्बन्धी मधेस प्रदेशस्तरीय अन्तरक्रिया तथा छलफलमा उनले उद्योगी व्यवसायीले उठाउँदै आएको लेवलिङ, कर तथा आयात र निर्यात लगायतका समस्याप्रति सरकार गम्भीर रहेकाले छिट्टै समाधान हुने बताए।

‘मुलुकको अर्थतन्त्रका मेरुदण्ड उद्योग, व्यवसायी भएकाले उद्योगी व्यवसायीको समस्या समाधान गरी मुलुकमा औद्योगिक वातावरण निर्माण गर्नु सरकारको लक्ष्य छ’, मन्त्री रिजालले भने, ‘त्यसैले सरकारद्वारा ल्याउन लागिएको वाणिज्य नीतिका विषयमा सरोकारवालासँग छलफल अघि बढाइएको हो।’ सरोकारवालाको सुझावका आधारमा सरकारले वाणिज्य नीति ल्याउने उनको भनाइ थियो।

राजनीतिक परिवर्तन भए पनि आर्थिक, सामाजिक लगायतका परिवर्तन अझै परिवर्तन हुन नसकेकाले मुलुकको अर्थतन्त्र सुदृढ हुन नसकेको जिकिर गर्दै मन्त्री रिजालले अब राजनीतिक स्थिरता कायम गरी आर्थिक र सामाजिक रुपान्तरणमा सबैले ध्यान केन्द्रित गर्नुपर्ने बताए।

सरकारले घोषणा गरेको वीरगञ्ज–पथलैया आर्थिक करिडोरलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्दै त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाइसकेको जानकारी दिए।

प्रकाशित मिति: : 2023-09-10 18:51:00

प्रतिकृया दिनुहोस्