‘आहा ! रारा गोल्डकप’मा तीन लाख बचत

सहारा क्लब पोखराद्वारा आयोजित ‘आहा रारा गोल्डकप’को २२औँ संस्करणमा रु तीन लाख १८ हजार बचत भएको छ। 

मङ्गलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा क्लबका महासचिव रामजीप्रसाद अधिकारीले यस अघिका तीन संस्करण मध्ये दुईवटामा कोरोना महामारी, आर्थिक मन्दीलगायत कारणले रकम बचत गर्न नसकिएको जानकारी दिएका छन्। बाइसौँ संस्करणको गोल्डकप २०७९ पुस १४ देखि २३ सम्म पोखरा रंगशालामा सम्पन्न भएको थियो। 

महासचिव अधिकारीका अनुसार विभिन्न १० टिम सहभागी गोल्डकपमा टिकट विक्री एवम् विभिन्न प्रायोजकबाट ९४ लाख ६५ हजार आम्दानी संकलन भएको थियो। यस प्रतियोगितामा १० हजार जनाभन्दा बढी दर्शकले खेल हेरहेको र टिकट विक्रीबाट मात्रै १७ लाख ८६ हजार संकलन भएको आयोजकले जनाएको छ।

यस गोल्डकपको उपाधि संकटा क्लबले हासिल गरेको थियो भने अमेरिकी टिम भुटनीज युथ स्पोर्टस् क्लब मिनोसोना युएस उपविजेता बन्न सफल भएको थियो।

खेलको माध्यमबाट समाजका युवालाई कुलतबाट जोगाउन विसं २०५८ मा स्थापित क्लबले फुटबल खेलाएरै सहारा फुटबल एकेडेमी सञ्चालन गर्दै आएको छ।

‘खेलकूदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रुपमा विकास गरौँ’ भन्ने नारासहित प्रत्येक वर्ष आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिता क्लबले सञ्चालन गर्दै आएको छ। सो प्रतियोगितामा दर्शकले काटेको टिकटबाट बचेको रकम पोखरा महानगरपालिका–१७ दोभिल्लास्थित एकेडेमीमा एकेडेमी सञ्चालनमा उपयोग गर्दै आएको छ। 

विभिन्न जिल्लाबाट २८ बालकहरू राखेर सुरु गरिएको एकेडेमीले उनीहरूको गाँस, बास, कपासका साथै उचित शिक्षाको प्रबन्ध र फुटबल प्रशिक्षणको कार्य निःशुल्करूपमा गर्दै आएको छ।

प्रकाशित मिति: : 2023-08-30 06:22:00

प्रतिकृया दिनुहोस्