‘म पनि किसानकी छोरी हुँ’ प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा उम्मेदवारी दिएपछि आरजु राणाले पत्रकारहरूसँग भनिन्, ‘किसानकी छोरी भएका नाताले यहाँ के भइरहेको छैन भन्ने कुरा मलाई थाहा छ।’
खासमा न आरजु किसानकी छोरी हुन्, न उनका कुनै पूर्खा किसानी थिए। राणा खानदानमा जन्मिएकी आरजुका पिता पूर्खा धेरैजसो जर्नेल नै थिए।
पाँच पल्ट प्रधानमन्त्री भइसकेका र सबैभन्दा ठुलो पार्टी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाकी श्रीमती हुन्, आरजु राणा। जो पटक-पटक ‘महिला’ कोटाबाट समानुपातिक सांसद हुँदै आएकी छिन्। धनी र सम्पन्न परिवारमा जन्मिएकी आरजु सामाजिक, सांस्कृतिक दृष्टिले पछाडि परेकी महिला वा आर्थिकरुपमा विपन्न खस आर्यभित्र पनि पर्दैनन्।
संविधानको परिकल्पना यस्तो विल्कुलै होइन। संविधानले भनेको त महिला हुनु वा तोकिएका जात–जातिका आधारमात्र समानुपातिकमा पर्ने होइन, समानुपातिकमा पर्ने अन्य समाजिक, सांस्कृतिक, आर्थिक शैक्षिक दृष्टिकोणले पछाडि परेको पनि हुनुपर्छ।
‘खस, आर्य महिला’को कोटामा पटक-पटक संसद छिरिरहेकी आरजु अब फेरि ‘किसानकी छोरी’ बनेर संसदीय समितिलाई हातमा लिँदैछिन्।
देउवाको जीवनको छाया शक्ति
बेलायतमा पढेर फर्केका शेरबहादुर देउवा २०४८ सालमा डडेलधुराबाट पहिलोपल्ट चुनाव जित्नासाथ गृहमन्त्री भए। फुक्काफाल जिन्दगीमा शक्तिशाली राजनीतिक जीवन बाँचिरहेका देउवाको जीवनमा गाँसिन आएकी आरजु त्यसपछि शेरबहादुरकी छायाशक्ति बनिरहिन्।
शक्ति पनि यति शक्तिशाली कि देउवाका हरेक राजनीतिक जीवनको फैसला उनले आफ्नै हातमा लिइसकेकी छिन्।
पहिलो संविधानसभाको सदस्यदेखि अहिलेसम्म उनी कुनै न कुनै रुपमा प्रतिनिधिसभा छिरिरहेकी छिन्। एकपटक प्रत्यक्ष निर्वाचनमा पराजित भएबाहेक। र, संसदीय समितिमा उनी पहिलोपटक होइन। यसअघि पनि संविधान मस्यौदा समितिको सदस्य र महिला संसदीय समन्वय समितिको अध्यक्ष भइसकेकी छिन्।
सन् १९६२ को जनवरी २६ मा काठमाडौँकै राणा परिवारमा जन्मिएकी आरजुले यहीँको सेन्टमेरिज स्कुलमा पढिन्। उच्चशिक्षा भने उनले भारतबाट पूरा गरिन्।
भारतको पञ्जाब विश्वविद्यालयबाटै उनले ‘मनोविज्ञान’मा पिएचडी गरिन्। त्यसपछि उनले एउटा क्यानेडियन आइएनजिओ (आइयुसिएन)काम गर्थिन्। त्यही बेला उनको शेरबहादुर देउवासँग भेट भयो।
राणा खानदान अनि शिक्षित परिवार। उनी आफैँमा एक ‘शक्तिशाली’ महिला त हुन् नै। जीवनको यो लगनगाँठो आरजुका लागि मात्रै होइन, देउवाको राजनीतिक जीवनमा पनि धेरै ‘फलिफाप’ भयो।
डडेल्धुराको एउटा गाउँबाट काठमाडौँ छिरेका देउवा आफ्नो राजनीतिक जीवनकालमा पाँचौं पटक प्रधानमन्त्री भइसकेका छन्। पार्टीभित्रै र आफ्नै खलकमा पनि सबैभन्दा ‘भाग्यमानी’ सन्तानका रुपमा चिनिने देउवाको राजनीतिक यात्रा अविराम र अपराजित नै रह्यो।
देउवाका यी अविराम शक्तिपाइलाहरू आरजुले राम्रैसँग पछ्याउन सकिन्।
आफ्नो क्षेत्रबाट उनले कहिलै चुनाव हारेका छैनन्। गिरिजाप्रसादसँगको लफडापछि कांग्रेस नै फुटाएर हिँडे। तैपनि प्रधानमन्त्री भए। फेरि कांग्रेसलाई एक बनाए अनि फेरि पार्टीको नेतृत्वमा हाबी भए। फेरि पनि प्रधानमन्त्री भए। राजाको सक्रिय शासन होस् वा गणतन्त्र, उनी सत्ता र शक्तिमा सधैं रहे। राजनीतिको नेतृत्वमा रहिरहे।
देउवाको यो अविराम सफलताको धेरै फाइदा भने आरजुले राम्रैसँग लिन सकिन्।
२०६१ सालमा कांग्रेस महाधिवेशन सदस्य भएपछि आरजुका राजनीतिक पाइला अझै दरिला भए। २०६४ र २०७० को दोस्रो संविधानसभामा दुई पटक नै उनी कांग्रेसका तर्फबाट समानुपातिक सांसद भइन्।
२०७४ सालको आम निर्वाचनमा त उनका लागि देउवाले कैलालीको चुनावी क्षेत्र नै छोडिदिए। त्यसअघि कैलालीको त्यही ठाउँबाट शेरबहादुर देउवा नै लडेका थिए। उनी त्यो बेला डडेल्धुराबाट पनि चुनाव लडेका थिए। दुवै ठाउँबाट जितेपछि उनले कैलाली भने छोडे।
शेरबहादुरको अपराजित चुनावी पाइला पछ्याउँदै गएकी आरजुले त्यो चुनाव भने जित्न सकिनन्। पार्टीभित्रैको असन्तुष्टि अनि एमाले र माओवादी गठबन्धन उनका लागि निकै भारी पर्याे।
नेकपाको त्यो गठबन्धनबाट उम्मेदवार भएका नारदमुनि राना थारू २७ हजार २ सय २ मत ल्याएर चुनाव जिते। आरजुले २२ हजार ३ सय २२ मत ल्याइन्।
उनकै पार्टीका स्थानीय नेता-कार्यकर्ताले ‘टुरिष्ट क्यान्डिडेट’ अर्थात् ‘पर्यटक उम्मेदवार’ भनेर आलोचना गरेपछि आरजुले कैलालीको धनगढीमा ३ करोडमा एउटा घर नै किनिदिइन्।
उनलाई देखाउनु- थियो म पनि यहीँको बासिन्दा हुँ। तैपनि उनको चुनावी यात्रा सफल हुन सकेन।
आरजुमात्रै होइन, पराजित भएको त्यो चुनावी परिणाम शेरबहादुर देउवाको राजनीतिक जीवनका लागि समेत एउटा ठुलो धक्का थियो।
शेरबहादुरको शक्तिको आडमा आरजु शेरबहादुरकै ‘अनुपस्थिति’मा खेलिदिन्छिन्। त्यसका लागि उनले पार्टीभित्रै एउटा यस्तो घेरा बनाएकी छिन्, पार्टीका नेता अनि कार्यकर्ताहरू शेरबहादुर कहाँ पुग्नुअघि आरजुको त्यो घेरा छुनैपर्छ। जहाँ आरजुकै हुकुम चल्छ।
उनले देउवालाई यसरी घेरा हाल्छिन् कि कुनै-कुनै कुरा देउवाले मान्नैपर्छ तर त्यहाँ आरजु आफैँ कतै देखिएकी हुँदैनिन्। तर, हठ भने छोड्दैनिन्।
उसै पनि देउवा धेरै कुरामा प्रतिक्रिया जनाउँदैनन्। आफूलाई चासो नलागेको कुरामा उनी बोल्दै बोल्दैनन्। बोल्नैपरे पनि धेरै छोटोमै कुरा सकिदिन्छन्।
२०७९ सालको चुनावमा माओवादी, एकीकृत समाजवादी अनि कतिपय ठाउँमा जसपालगायतसँग ‘गठबन्धन’ गरेरै भए पनि देउवाले नेपाली काँग्रेसलाई संसदमा सबैभन्दा पहिलो पार्टी बनाए।
गठबन्धनको सल्लाहअनुसार उनी नै प्रधानमन्त्री हुन खोजिरहेका थिए। तर, प्रचण्डले बिचमा ‘झेली’ गरिदिए। ५ वर्षमा ३ भाग छुट्याएर तीन जना देउवा, प्रचण्ड र माधव नेपाल प्रधानमन्त्री हुने कुरा त थियो। तर, विवाद भयो, पहिला को हुने ?
देउवाले आफू नै पहिलोपल्ट प्रधानमन्त्री हुने धोको राखे। प्रचण्ड पनि जागे। आफू नै पहिलो लटमा प्रधानमन्त्री हुने जिद्दी कसे।
देउवाको त्यो धोको आखिरमा आरजुको ‘इगो हठ’ बन्यो। अन्तिममा गठबन्धन जोगाउनकै लागि देउवा त प्रचण्डलाई पहिलो पालोमा प्रधानमन्त्री दिन तयार भइसकेका थिए। सिङ्गो काँग्रेस पनि त्यो निधोमा पुगिसकेको थियो।
तर, प्रचण्डलाई बालुवाटारको बैठक कोठामा कुराउँदै आरजुले देउवालाई खोपीमा लगिन् र त्यो अडान नछोड्ने खबर पठाइन्। अत्तालिएका प्रचण्ड सिधैँ बालकोट पुगे। अनि, केपी शर्मा ओलीको हात समाएर प्रधानमन्त्री बनेर फर्किए।
काँग्रेसको त्यो सत्ता यात्रामा आरजुको हठ निकै महंगो भयो। भलै देउवाले पछि प्रचण्डलाई साथ दिँदै फेरि केही दिनमै एमालेलाई बाहिर पठाए अनि आफ्ना र समाजवादीहरूलाई सरकारमा भित्र्याए।
विवाददेखि विवादैसम्म
गठबन्धन र प्रतिपक्षले भाग लगाएका कारण संसदका दश समितिमा लगभग निर्विरोध सभापति चयन हुनेछन्। तीमध्ये काँग्रेसको भागमा परेको एउटा समितिमा देउवाको पनि उम्मेदवारी छ। प्रक्रियागत रुपमा उनको उम्मेदवारी सोमबार निर्विरोध घोषणा हुने नै हो।
राजनीतिको यो यात्रासम्म आइपुग्दा आरजुको जीवन कहिल्यै विवादमुक्त हुन सकेन। उनले चलाएका एनजिओ र आइएनजिओदिख उनको अगुवाइमा नेपाल भित्रिएको युलियन्स स्कुलसम्मका विवादहरूमा आरजु गाँसिइरहिन्।
समानुपातिक उम्मेवार बनेर आफ्नै गृहजिल्ला डडेल्धुरामा भाषण दिँदा उनले काँग्रेसलाई नजिताउने ठाँउमा बजेट आउँदैन भन्दै विवादित भाषण गरिन्। काँग्रेसले जितेका पालिकाहरूमा युवाहरू ‘फ्रि भिसा, फ्रि टिकट’मा विदेश पठाइदिने भन्दै उनले स्तरहीन भाषण दिँइरहँदा यसपालि उनका धेरै चुनावी ‘मिम्स’हरू बने।
‘महिला’को कोटामा समानुपातिक सांसद बनेर प्रतिनिधिसभामा पाइला टेक्दै गर्दा नक्कली भुटानी शरणार्थी प्रकरणमा उनको नाम समाचारका हेडलाइन बनिरहेका थिए।
र, पनि उनले निरन्तर प्रतिवाद गरिरहिन्। त्यही प्रकरणमा समातिएकाहरूले बाहिर ल्याएको एउटा अडियोमा उनलाई २ करोड दिइएको भनिएको छ। त्यसको खोजिनीति गर्न पनि उनले उल्टै पुलिसमा उजुरी गरिन्। प्रहरीले त्यो आवाज आरोपीकै रहेको प्रमाणित गरिदियो।
उनकै एक जना विश्वासिलो नेता (पछिल्लो समय निजी सम्बन्ध केही बिग्रिएको) बालकृष्ण खाँण अहिले पनि जेलमै छन्। आरजुसँगै जोडिएकी अर्की नेता मञ्जु खाँण(बालकृष्णकी श्रीमती)सँग पनि पछिल्लो समय उनको खासै सम्बन्ध छैन।
अहिले पनि उनी गाँसिएको कैलाली टीकापुरको जग्गा घोटाला समाचारहरूमा आइरहेको छ।
यहीबीचमा आम नागरिकको दैनिकी र प्रत्यक्ष जनजीवनसँग जोडिएको एउटा संसदीय समितिको नेतृत्व गर्दै गर्दा फेरि उनले आफूलाई ‘किसानकी छोरी’का रूपमा चिनाएकी छिन्।
र, यो समितिमा रहँदा उनले सहकारीसँग जोडिएका अनेक विवाद र उल्झनहरूलाई चुनौतीका रुपमा लिएकी छिन्। अनि त्यसको समाधान गर्ने वाचा पनि गरेकी छिन्।
‘समितिमा मसिनोसँग मन लागेको विषयमा काम गर्न पाइन्छ’ आरजुलाई थाहा छ ‘समिति भनेको सरकारका हरेक मन्त्रालयहरूको रिपोर्ट लिने र आदेश दिने ठाउँ पनि हो।’
लाखौँ नागरिकको अर्बौ रुपैयाँ हिनामिना गरेर सहरकारी चलाउनेहरू भागिरहेका छन् अनि पैसा फिर्ता माग्दै बचतकर्ताहरू आन्दोलनमा छन्।
‘जनताको जीवन र दैनिकीसँग जोडिएका कुराहरू हुन्छन्। सहकारीको अनियमितता धेरै नै छन्’ आरजुले भनेकी छिन् ‘यसलाई नियन्त्रण गर्नुपर्ने चुनौती छ।’
चुनौतीमात्रै कहाँ यहाँ अर्बौं त पैसा पनि छ। कृषिमा अनुदान छ। सहकारीमा अर्बौं पैसा छ। अनि प्राकृतिक स्रोतमा त झन् पैसा नै पैसा छ। भलै त्यसको सही प्रयोग र दोहनको सवाल हो। र, आरजुका नजर पनि अब यतैतिर गढिसकेका छन्।