प्रचण्डलाई थाहा छ उनलाई अनि उनको सरकार ढाल्न ‘धूप बालेर’ हिँड्नेहरू उनकै वरिपरि छन्।
आफूले आफैँलाई बिथोल्दै, भित्रभित्रै आफूआफैँमा चिथोरिएको जीवन बाँचिरहेका प्रचण्ड के त्यो ‘आनन्दको मृत्यु वरण गर्लान् ?’ पटक-पटक मृत्युको त्यो ‘आनन्दपन’ पुकार्ने प्रचण्डको डर त्यही हो- ढुक्कसँग मर्न पाइन्न कि !
प्रचण्डलाई किन मर्ने रहर जाग्छ ?
प्रचण्ड आफैँमा जागेको वा जाग्ने रहर होइन यो। आफूलाई सुन्ने मान्छेका अनुहार पढेर अनि भीडको मनोदशा हेरेर प्रचण्डले आफूले आफैँलाई मार्ने वा मर्ने रहर जगाउँछन्।
कहिले ‘आत्महत्या’ को कहानी सुनाउँछन्। कहिले भक्कानिन खोज्छन्। कहिले मृत्युका कुरा सुनाउँछन्। अनि कहिले ‘एक्लोपन’को डरले आफैँ-आफैँ अत्यासलाग्दो भइदिन्छन्।
उनलाई नजिकबाट बुझ्नेहरूकाअनुसार ‘प्रचण्ड भावुकता’को यो एउटा चरम रुप हो। जहाँसम्म प्रचण्ड पटक-पटक पुगिसकेका छन्, युद्धकालमा होस् या संसदीय राजनीतिको यो यात्रामा।
करिब २ वर्षअघि प्रचण्डले भनेका थिए ‘म पनि आफूले आफैँलाई सुसाइड गर्ने कि ? लड्ने कि मर्ने ? भन्ने अवस्थामा पुगिसकेको थिएँ।’
त्यो बेला उनले भगतसिंह सिनेमामा देखाइएको एउटा दृश्यको उदाहरण पनि दिएका थिए। जहाँ चन्द्रशेखर आजादको कथा पनि छ।
अंग्रेजले मृत्युदण्ड सुनाएका आफ्ना ‘क्रान्तिकारी योद्धा’ भवतसिंहलाई बचाउनका लागि एउटा मन्थन गर्दैगर्दा चन्द्रशेखर आजादलाई अंग्रेजका सिपाहीले घेरा हाल्छन्।
आफूसँग भएको एउटा पेस्तोल चलाएर उनले एक/दुई सिपाही त ढाल्छन् तर उपाय केही थिएन। पेस्तोलमा पनि एउटामात्रै गोली थियो।
अनि एकमुठ्ठी माटो हातमा लिएर उनले ‘भारतमाता’सँग क्षमा माग्छन् र त्यही बचेको गोली आफैँलाई दाग्छन्। ‘दुश्मनबाट मारिनुभन्दा आफूले आफैँलाई मारेर’ उनी सहिद हुन्छन्।
अनि कार्ल मार्क्सका छोरी ज्वाइँहरूको आत्महत्याको उदाहरण दिँदै प्रचण्डले भनेका थिए ‘सुसाइड सबै नराम्रोमात्रै हुँदैन है साथीहरू…।’
विद्यार्थी र तन्नेरी कार्यकर्ताको तालीबीच प्रचण्ड त्यहाँ धेरै भावुक पनि भएका थिए। अवरुद्ध बोली निखार्दै अनि प्रचण्डले भनेका थिए, ‘लड्ने नै हो। मरे पनि लडेरै मर्ने हो…।’
त्यो एउटा यस्तो समय थियो, जहाँ प्रचण्डले आफ्नै पार्टी (तत्कालीन नेकपा)का अध्यक्ष केपी शर्मा ओलीविरूद्ध एउटा सडक युद्धको सुरुवात गरेका थिए।
पार्टी खलबलिन थालेपछि ओलीले पटक-पटक प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरे। तर, सर्वोच्चले निर्णयहरू खारेज गरिरह्यो।
प्रचण्डले माधव नेपाल, झलनाथ खनाल अनि वामदेव गौतमहरूलाई त्यहाँबाट निकालेर फेरि एउटा ‘अनिश्चित लडाइँ’को सुरुवात गरेका थिए। जसको अन्त्य नेपाली कांग्रेससँगको गठबन्धनमा पुगेर भयो। माधव नेपालहरूको नयाँ पार्टी बन्यो। प्रचण्डको माओवादी र ओलीको एमाले पनि आआफ्नै हैसियतमा फर्किए।
त्यही बेला प्रचण्डले आफू एक्लिएको कुरा पनि गर्थे। आफूलाई घेराबन्दीमा पारिएको र हत्या गर्न खोजिएको पनि भन्थे।
चरम अलमलको यो बाटोमा प्रचण्ड आफैँले आफैँलाई बुझाउन सकिरहेका थिएनन् कि अब कुन बाटो जाने ?
‘कहिलेकाहिँ यस्तै हुँदोरहेछ…, एक-दुई वर्षपछि म पनि एक्लै हुने हुँ कि’ केही दिनअघि काठमाडौंमा भएको एउटा कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भनेका थिए, ‘माओलेजस्तै ‘म एक्लो हुँ’ भन्नुपर्ने हो कि ! दिमागमा यस्तै चित्र पनि आउँछ…!’
परिस्थितिले देखाइसकेको कुरा के हो भने, माओवादीको राजनीतिक जीवनमा अब प्रचण्ड ‘एक्लो’ चित्र हुन्। बेला-बेला निराश अनि भावुक भएर बर्बराइरहने प्रचण्डको ‘अवचेतन’ मनले स्विकारेको एउटा सत्य यही नै हो कि, उनी एक्ला छन्। भलै उनी बाहिर देखाउँदैनन्- अब उनका वरिपरि कोही छैनन्, सिवाय प्रचण्ड।
फेरि मर्ने रहर
भलै पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) तेस्रो पार्टी हो। तर, अहिले प्रचण्ड फेरि प्रधानमन्त्री छन्। दश वर्षे जनयुद्ध सकेपछि उनी तेस्रोपटक प्रधानमन्त्री भए।
यसलाई उनले आफ्नो जीवनको ‘लास्ट इनिङ’ भनिसकेका छन्।
र, फेरि एउटा रहर पेश गरेका छन्, ‘केही राम्रो गरेर आनन्दसँग मर्ने…!’
आफूले आफैँलाई बिथोल्दै, भित्रभित्रै आफूआफैँमा चिथोरिएको जीवन बाँचिरहेका प्रचण्ड के त्यो ‘आनन्दको मृत्युवरण गर्लान् ?’ पटक-पटक मृत्युको त्यो ‘आनन्दपन’ पुकार्ने प्रचण्डको डर त्यही हो- ढुक्कसँग मर्न पाइन्न कि!
सँगै युद्ध लडेर छुट्टिएका केही टुक्रा माओवादीहरू अनि आफ्ना ‘सहगोत्री’हरूलाई मिसाएर उनले सरकारी गठबन्धन बाहिर एउटा अलग्गै मोर्चा बनाएका छन् र त्यसलाई ‘समाजवादी मोर्चा’ भनेका छन्।
सरकार जोगाउन गठबन्धन अनि गठबन्धन जोगाउन त्यही मोर्चालाई उनले ‘समानान्तर’ हतियारका रुपमा उपयोग गरिरहेका छन्।
शुक्रबार वीरगन्जमा त्यही मोर्चाले गरेको एउटा ‘सन्देश सभा’मा प्रचण्डले भने आफ्नै ‘मृत्यु सन्देश’ बाँडे।
‘अब ढुक्कसँग मर्ने रहर छ। अरू केही छैन’ प्रचण्डले आफ्नो अन्तिम रहर भने ‘मर्ने बेलामा आनन्दसँग मर्ने रहर छ…’
मर्न त सबैलाई पर्छ नै। जीवनको यो साश्वत सत्यलाई उनले नकार्ने कुरै भएन। तर, जीवनको उत्तरार्द्धमा आइपुग्दा प्रचण्ड मनले ‘मृत्युको आनन्दपन’ खोजिरहेको छ।
थाहा छ उनलाई यतिबेला पनि चारैतिर सरकार ढाल्ने ‘दुश्मन’हरू छन्। युद्ध कालमा उनलाई घेर्दै आउने ‘काल’जस्तै यतिबेला पनि उनका अघिपछि उस्तै छन्।
अनि उनलाई थाहा छ, जति राम्रो काम गर्दा पनि अब प्रचण्ड स्वीकार्य छैनन्। भलै सरकारका राम्रा कामका लागि जनताले केही क्षण ‘हाईहाई’ गर्लान्। तर, प्रचण्ड ढुक्क छन्, गठबन्धन फोड्ने र सरकार ढाल्ने षड्यन्त्र पनि उत्तिकै भइरहेका छन्।
प्रतिपक्ष मान्दैन। स्विकार्दैन। सत्ता साझेदारहरू आफैँ आत्तिएका छन् नेतृत्वका लागि। सबैभन्दा धेरै त प्रचण्डकै गहिरो सानिध्यमा रहेका देउवा आत्तिएका छन्।
प्रधानमन्त्री बन्ने उत्कट चाहनाले देउवालाई अब एकै वर्ष कुर्न पनि धौ धौ छ।
‘यही गठबन्धनकै नेतृत्वमै देशमा केही राम्रो हुने हो। तर, के गरी यो प्रचण्डलाई ढाल्ने अनि के गरी यो गठबन्धनलाई ढाल्ने भनेर धुप हालेर लागेका छन्। मैले राम्रो गरेवाफत…’ प्रचण्ड अझै चुनौती दिँदैछन् ‘तर यो सब रोकिन्न। राम्रो यसैपालि हुन्छ। मलाई जीवनको यो उत्तरार्द्धमा आएर केही राम्रो गरेर ढुक्कसँग मर्ने रहर छ।’
प्रचण्डको यो युद्धकालीन शास्त्र नै हो। ‘मृत्यु’ नै बोकेर हिँडेपछि मर्न के को डर !
त्यसैले त बेला-बेला प्रचण्ड भन्ने गर्छन् ‘हिँज लड्न पाइनँ, पार्टीका लागि मर्न पाइनँ भन्नेहरू आज पद र पैसा पाइनँ भनेर मसँग लडिरहेका छन्…।’
यो उनकै सह-यात्रीहरूलाई प्रचण्डले भनेका हुन्। माओवादीभित्रका यी छताछुल्ल भइसकेका विषयहरू हुन्।
प्रचण्डले भनेको यही नै ‘अन्तिम प्रहर’ हो, उनकै भाषामा ‘लास्ट इनिङ’। राजनीतिक जीवनको ‘ह्याप्पी इन्डिङ’ खोजिरहेका प्रचण्डले भलै मनले खोजेको ‘उत्तराधिकारी’ भेटेका छैनन्। तर, जीवनको अन्त्य उनी ‘आनन्दमय मृत्यु’ चाहन्छन्।
थाहा छ प्रचण्डलाई यो ‘इनिङ’ कम्ता चुनौतीका पहाडले घेरिएका छैनन्। हिँजको जस्ता सहयोद्धाहरू छैनन्। त्यो जनयुद्ध सकेर सिधै संविधानसभाको निर्वाचनमा पाएजस्तो ‘जनमत’ पनि छैन। मच्चिएर केही ‘राम्रो’ गर्न खोज्छन् फेरि चिप्लिन्छन् अनि आफ्नै सतहमा थचारिन्छन्।
‘जति राम्रो काम गरेपनि जस पाइँदैन। कसैले राम्रो गर्यौ भन्दैनन्। माओवादीको हाइट बढ्छ, प्रचण्डको अझ हाइट बढ्छ भनेर हो कि कसैले राम्रो कामको जस नै दिँदैनन्’ अनि प्रचण्डलाई लाग्छ ‘बरू राम्रो काम गरेबापत त घेराबन्दी पो भइरहेको छ।’
प्रचण्डका आफ्नै नियतिले उनका आफ्नै साथी, सहयात्रीहरू छुट्टिइसकेका छन्। जिन्दगीको नियतिले पुटुपुटु आफन्तहरू निलिरहेको छ।
यी घनघोर उकालो चढिरहँदा प्रचण्ड जान्दछन् कि उनलाई यहीँनेर ढाल्न धूप बालेर हिँड्नेहरूको कमी पनि छैन।
‘मिसन २०८४’ ताकिरहेका अरू पार्टीहरूलाई पनि देखेका छन् प्रचण्डले। खस्किरहेको पार्टीलाई माथि उठाउनु पनि पर्नेछ।
‘जनयुद्ध’ सकिएको छ तर उनलाई राम्रोसँग याद छ, हजारौं योद्धा, घाइते अपाङ्गहरूले बाँचिरहेको जीवन अनि ‘जनयुद्ध’को त्यो ऋणको भारी त प्रचण्डकै टाउकोमा छ।
‘यो कुनै क्षणिक आवेगमा गरिहालौं न त भनेर गरेको कुरा होइन। यो बेला नभए कहिले हुन्छ। अहिले भएन भने नेपाल कहिल्यै केही हुँदैन’ र त, प्रचण्ड भनिरहेछन् ‘मलाई अब राम्रोबाहेक अर्को केही गर्नुपर्ने कुनै कारण पनि छैन। जीवनको उत्तरार्धमा राम्रो नै गर्ने हो। मर्न त सबैलाई पर्छ नै। मरेर जाँदा पनि सबैले सम्झिने गरी ढुक्कले मर्न सकूँ…’