गणतन्त्रका १७ वर्षसम्म पनि राजसंस्था ब्यूँताउन संघर्ष गरिरहेको राप्रपा छोडेर हिँडेका थापा फेरि राप्रपाको उही आदिम दोबाटोमा आइपुगेका छन्। जहाँबाट यिनै कमल थापा राप्रपा, राजसंस्था अनि राजेन्द्र लिङ्देनहरूलाई सराप्दै ‘राप्रपा नेपालको’ त्यो प्राचीन झोलीकुम्ला बोकेर पाइला मोडेका थिए।
‘यो गीता हातमा राखेर कसम खाँदैछु, राप्रपालाई कदापि फुट्न दिनेछैन…’ तीनतिर शीर घुमाएका तीन टापु राप्रपा एक हुँदा २०७६ साल फागुन २८ गते कमल थापाले कोटको खल्तीबाट गीताको एउटा सानो ‘पकेट बुक’ निकाल्दै भनेका थिए।
त्यसको करिब २१ महिनापछि उनकै पाइला पछ्याउँदै आएका राजेन्द्र लिङ्देनसँग पार्टी अध्यक्षको चुनाव हारेपछि ज्ञानेन्द्र शाहलाई गाली गर्दै राप्रपाबाट आफैं साइड लागे।
र, भने ‘राप्रपा फुट्न दिन्नँ भनेको हुँ। फुटाएको पनि छैन। ममात्रै अलग भएको हुँ।’
केही दिनपछि उनले राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) नेपाल ब्यूँताए। केही पुराना अनि नयाँ अनुहारहरूलाई अघि पछि लाए।
अनि फेरि उनै ज्ञानेन्द्रलाई गाली गर्दै भने ‘देश र जनताको भावनाको सम्मान गर्दै राजसंस्थाको एजेण्डा छोड्ने निर्णय गरेका छौं। राजसंस्था बोक्दासम्म हिन्दू राष्ट्र कहिल्यै हुँदैन।’
त्यसको करिब १८ महिनापछि फेरि उनले भनेका छन्- अब राजसंस्था नभइ भएन’ अनि धम्की पनि दिएका छन् ‘बरू त्यसका लागि तेस्रो जनआन्दोलन पनि हुनसक्छ।’
राजा, राप्रपा र कमल थापा
नेपालका केही राजा र कमल थापाको साइनो अजवगजवका कहानीहरूले भरिएका छन्। कहिले राजा रिसाउँथे कमल थापा फकाउँथे। कहिले कमल रिसाउँथे राजा फकाउँथे।
आज राजा छैनन्। कमल थापा पनि निर्णायक राजनीतिमा छैनन्। र, पनि सम्बन्धको त्यो चिनारी उस्तै छ।
राजशासनको ३० वर्षे यात्राको अन्तिम वर्ष थियो त्यो २०४६ साल।
जनआन्दोलन एकदमै चर्को भइसकेको थियो। दरबार आत्तिसकेको थियो। पञ्चहरू अत्तालिइसकेका थिए।
तत्कालीन राजा वीरेन्द्रका सामु बहुदल फर्काउनुबाहेक अर्को केही उपाय थिएन।
१७ सालमा खोसेका सारा अधिकार फिर्ता गर्नुबाहेक अरू केही विकल्पहरू सामुन्ने थिएनन्।
पञ्चायत त ढल्थ्यो नै। राजाको ‘राज’ पनि सकिन्थ्यो।
पञ्चायतको ३० वर्ष विरासत ढल्ने दिन नजिकिँदै गर्दा पञ्चहरू आफ्नो अस्तित्व कसरी जोगाउने भन्ने चिन्तामा थिए।
र, दरबार पनि चाहन्थ्यो कि ‘बहुदलीय’ व्यवस्थामा पञ्चहरूको पनि एउटा बलियो पार्टी बनोस्।
२०४७ मै राजा र उनको शासनकालमा सत्तामा पुगेका कुलीन पञ्चहरू मिलेर पार्टी गठनको तयारी गरे।
तर, तयारीको सुरूवातमै नेताहरू बाँडिए। मतभेद भयो। २०४७ साल जेठमा सँगसँगै दुईवटा राप्रपा बने। सूर्यबहादुर थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (थापा) बनाए। लोकेन्द्रबहादुर चन्दले राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) बनाए।
राजावादीको गर्भरचनामै त्यो राप्रपा ‘जुम्ल्याहा’ भइसकेको थियो।
बहुदलीय व्यवस्था फर्किएपछि २०४८ मा आमनिर्वाचन भयो। सुरूवातमै टुक्रिएका यी कुलीन पञ्चहरू त्यो निर्वाचनमा यसरी पछारिए कि, थापाको पार्टीले १ र चन्दको पार्टीले ३ सिटमात्रै जित्यो।
पञ्चायत ढलिसकेको थियो। त्यसैमाथि त्यो चुनावी परिणामले रन्थनिएका यी दुई पार्टीहरू फेरि मिले।
सुरूमै फुटेर मिल्नुपर्ने राप्रपा, त्यो बेलादेखि नै टुटफुटको उस्तै नियति बेहोर्दै आयो।
राप्रपाको त्यही टुटफुटको श्रृङ्खलामा रचित एउटा ‘भ्रुण’ थिए, कमल थापा।
जो अहिले राप्रपाबाट कहिल्यै अलग हुनसकेनन्। राजा र राजसंस्थाबाट कहिल्यै टाढा रहन सकेनन्। भलै कहिले पार्टीबाट अलग भए तर बरू नामको अघिपछि केही अक्षर झुन्ड्याउँदै राप्रपासँगै लगिरहे। कहिले राजासँग रिसाए, राजसंस्था चाहिन्न भने। तर, छोडिगएको राजसंस्थामुनि फेरि फर्की फर्की आइरहे।
मकवानपुरका कर्नेल छत्रबहादुर थापाका छोरा हुन्, कमल थापा।
कुनै बेलाका चर्चित फुटबल खेलाडी। कमल थापाले नेपाली फुटबलको राष्ट्रिय टोलीको समेत नेतृत्व गरिसकेका छन्।
२४ वर्षकै उमेरमा अखिल नेपाल फुटबल संघको अध्यक्ष बनिसकेका थापाले २०४४ सालमा दशरथ रंगशालामा भएको एउटा दुर्घटनापछि त्यो पदबाट राजीनामा दिएका थिए। त्यो बेला एउटा फुटबल प्रतियोगिता भइरहेका बेला आँधीहुरीसहितको असिना पानी पर्यो। अनि भागाभाग हुँदा कम्तीमा ९३ जना मानिसको मृत्यु भएको थियो।
उनका भाइ गणेश थापा पनि फुटबल खेलाडी हुन् र अर्का दाजु नेत्रबहादुर थापा पनि नेपाल आर्मीबाट फुटबल खेल्थे।
फुटबलमात्रै होइन, उनी टेनिस पनि खेल्छन्। लङ टेनिसमा उनलाई हराउने नेपाली खेलाडी बिरलै छन्।
६७ को उकालो चढिसकेका थापा अहिले पनि देशको प्रतिनिधित्व गर्दै टेनिस खेल्न विदेश गइरहन्छन्।
फुटबलबाट खेलको यात्रा अनि विद्यार्थी संगठनबाट राजीतिक यात्रा सुरू गरेका थापा २०५२ सालमा पहिलोपटक कानुन न्याय तथा संसदीय व्यवस्था र स्थानीय विकासमन्त्री भएका थिए।
त्यो बेला शेरबहादुर देउवा प्रधानमन्त्री थिए। तर, थापाकै राष्ट्रिय प्रजातन्त्र पार्टीले नै देउवाविरूद्ध अविश्वासको प्रस्ताव ल्यायो र २०५३ साल फागुनमा देउवा सरकार ढल्यो।
त्यसपछि राप्रपाकै लोकेन्द्रबहादुर चन्दले एमालेसँग मिलेर सरकार बनाए। कमल थापा पशुपति समशेरतिर लागे। २०५५ सालमा वीरगन्जमा भएको पशुपति समशेर राणा नेतृत्वको राप्रपाको अधिवेशनबाट थापा पार्टीको प्रवक्ता भए।
त्यसपछि पनि उनी पटक-पटक उनी सरकारमा भइरहे। २०६१ सालमा राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि उनलाई समर्थन गर्ने कि नगर्ने भन्नेबारे विवाद चर्किएपछि उनले पार्टी नै फोडे।
र, राप्रपा नेपाल बनाए। त्यसपछि राजाको शासनकालमा उनी गृहमन्त्री भए। जनआन्दोलनमा ‘दमनकारी’ गृहमन्त्रीका रुपमा चिनिएका थापाले अवसरहरूलाई कहिल्यै छोडेनन्।
०६२-२०६३ को जनआन्दोलनपछि पनि पटक-पटक सत्तामा उक्लिए। केपी ओलीसँग पनि उनी सरकारमा बसे। कुनै बेला ‘दुश्मन’ भनेर टाउकाको मूल्य तोकेका पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा पनि उनी साझेदार भए। शेरबहादुर देउवाको सरकारमा पनि फेरि उनी सामेल भए।
यी उनै कमल थापा हुन्, जो आफैंले फुटाएको अनि फेरि आफैंले जोडेको राप्रपा छोडे। अनि फेरि त्यही राप्रपा एक टुक्रा मान्छेहरू बटुलेर गन्तव्य कहिल्यै नभेटिने राजनीतिक अभीष्टको यात्रामा लागेका छन्।
टुक्रा-टुक्रा इतिहास बोकेको राप्रपा एकीकरणका लागि २०७३ साल मंसिर ६ गते एउटा संयोगपूर्ण दिन बन्यो।
पशुपति समशेर राणाले नेतृत्व गरेको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकीकरण भयो र ‘राप्रपा’ बन्यो। त्यही वर्षको फागुन ६ गते एकता महाधिवेशन भयो। तर, त्यो एकता ६ महिना पनि टिकेन। २०७४ सालमा फेरि थापा र राणा छुट्टिए। त्यो बेला राप्रपा थापासँगै रह्यो। राणाले राप्रपाको पछि ’प्रजातान्त्रिक’ थपे।
२०७४ साल मंसिरमा भएको निर्वाचनमा दुवै पार्टीको ‘शर्मनाक’ हार भयो। त्यो बेला कांग्रेसको गढ झापा क्षेत्र नं. ३ बाट जितेर राजेन्द्र लिङ्देन राप्रपाको एकमात्रै ‘इज्जत’ बने।
त्यसपछि अत्तालिएका राप्रपाका तीन ‘टापु’हरू फेरि एकैठाउँ मिसिए। २०७६ साल फागुन २८ गते फेरि एउटै राप्रपा बन्यो। तर, त्यसका अध्यक्षहरू भने तीन जना भए- कमल थापा, पशुपति समशेर राणा र प्रकाशचन्द्र लोहनी।
त्यसको करिब २१ महिनापछि ३१ वर्षको इतिहासमा पाँच पटक फुटेर पाँचौ पटक जोडिएको राप्रपाको महाधिवेशन २०७८ मंसिर १५ गतेदेखि काठमाडौंमा भएको थियो।
राप्रपाको इतिहासमा पहिलोपल्ट अब अध्यक्षलगायत केही पदाधिकारीहरूले पनि निर्वाचन भएको थियो।
यही निर्वाचनमा राजेन्द्र लिङदेनले थापालाई पछारिदिए।
अनि ज्ञानेन्द्रलाई बेस्सरी गाली गर्दै उनले आफैंले एउटा बनाएको राप्रपा छोडे। गीता छोएर खाएको कसम तोडे। अनि केही निराश मनहरू बटुलेर फेरि उही पुरानो ‘राप्रपा’ ब्यूँताए पछाडि ‘नेपाल’ झुन्ड्याएर।
त्यो बेला राजेन्द्र लिङ्देनलाई ज्ञानेन्द्रले नै जिताएको भन्दै आरोप लगाएर उनले ‘निर्मल निवास’लाई खुब गाली गरेका थिए।
‘निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्रको नांगो हस्तक्षेपको भने म घोर भत्सर्ना र निन्दा गर्दछु’ सामाजिक सञ्जाल अनि विज्ञप्ती नै लेखेर उनले भनेका थिए ‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शीरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार पाइयो। मलाई राजनीतिक रुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्।’
फेरि उही बाटो
राप्रपाको गर्भरचनादेखि अहिलेसम्म बाँचिरहेका केही वयोवृद्ध नेताहरूलाई राजेन्द्र लिङ्देनको साथै छोडेर हिँडेका कमल थापाले सुरुमा त अब ‘राजतन्त्र चाहिँदैन’ भनेका थिए।
१८ महिनाको यो यात्रामा उनी ‘राप्रपा नेपाल’ बोकेर एक्लैजसो लर्खराइरहे। यहीबीचमा चुनाव पनि आयो। एमालेले उनलाई मकवानपुरको क्षेत्र नं १मा कृपा गरिदियो। उसकै ‘सूर्य’ च्यापेर फेरि एकपटक थापा चुनावी मैदानमा पनि भिडे।
तर, विडम्बना कुनै बेलाका उनकै सहयात्री (लिङ्देन नेतृत्व) राप्रपाका उपाध्यक्ष दीपक सिंहले उनलाई हराइदिए। राजनीतिको एक्लो दौडमा लरबर्रिएका उनका हातपाउहरू झन त्यहीँनेर खुत्रुक्कै भए।
यो धङधङको १८ महिने यात्रापछि अहिले आएर उनले फेरि राजा, राजसंस्था अनि हिन्दू राष्ट्रको पुकार गरेका छन्।
‘अब संवैधानिक राजसंस्थासहितको प्रजातन्त्रसमेत राप्रपा नेपालको मूलभूत विचार हुनेछ’ काठमाडौंमा भएको राप्रपा नेपालको केन्द्रीय कार्यसमिति बैठकमा उनले आफ्नो राजनीतिक कार्यपत्र पढ्दै भनेका छन् ‘राजसंस्थाको पुन:स्थापना राप्रपा नेपालको मुख्य कार्यनीतिक एजेन्डामध्ये एक हुनेछ।’
यतिमात्रै होइन उनले त्यसका लागि तेस्रो जनआन्दोलनको धम्कीसमेत दिन भ्याएका छन्।
‘विकृत कवचको जगमा खडा भएको वर्तमान भ्रष्टतन्त्र अन्त गर्न विद्यमान ‘खेलको नियम’ नै परिवर्तन गर्न आवश्यक छ। त्यो भनेको जनआन्दोलन हो’ उनले भनेका छन् ‘अर्थात् नेपालको तेस्रो जनआन्दोलन। नेपाली संस्करणको मौलिक प्रजातन्त्र स्थापनाका निम्ति, नेपाली जनताद्वारा नेपाली जनताका निम्ति नेपाली जनताकाको आन्दोलन नै तेस्रो जनआन्दोलन हो।’
गणतन्त्रका १७ वर्षसम्म पनि राजसंस्था ब्यूँताउन संघर्ष गरिरहेको राप्रपा छोडेर हिँडेका थापा फेरि राप्रपाको उही आदिम दोबाटोमा आइपुगेका छन्।
जहाँबाट यिनै कमल थापा राप्रपा, राजसंस्था अनि राजेन्द्र लिङ्देनहरूलाई सराप्दै ‘राप्रपा नेपालको’ त्यो प्राचीन झोलीकुम्ला बोकेर पाइला मोडेका थिए।