आजदेखि मौसममा क्रमिक सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ।
नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तर पूर्वी भू–भागमा रहेको न्यून चापीय क्षेत्र र बंगलादेशको उत्तरी भूभागमा रहेको न्यून चापीय क्षेत्र समेत प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी, मधेस र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र मधेस प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
देशका पहाडी भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
राति कोशी, मधेश र बागमती प्रदेशमा सामान्य बदली रहि बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।