बाबु पुस्ताले गरेको त्याग र बलिदानको जगमा नवयुवराजहरु लुट मच्चाए: रवि लामिछाने (भिडियाे)

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक परिवर्तनका लागि बाबु पुस्ताले गरेको त्याग र बलिदानको जगमा छोरा पुस्ताले लुट मच्चाएको आरोप लगाएका छन्।

प्रतिनिधिसभाकाे बुधबारको बैठकमा बोल्दै सभापति लामिछानेले बुबा पुस्ताको त्यागतपस्याको बलमा नवयुवराजहरुको याे नाच निन्दनीय रहेको बताए।

‘बाबुआमाले गोलीसँग नडराएर ज्यानको बाजी लगाएर लडेको युद्ध, आन्दोलन परिवर्तनका लागि गरेको त्याग तपस्याको बलमा आएका नवयुवराजहरु, उहाँका छोराछोरीहरुको कुन हर्कत र कुन तहको क्रियाकलाप आएको छ हामीले देख्दै आएका छौं’, उनले भने, ‘नवयुवराज भन्नुपर्ने हुन्छ किनकी यो परिवर्तनमा बुबा पुस्ताले गरेको त्यो त्याग र बलिदानको जगमा छोराछोरी पुस्ताले गरेको यो नाच सर्वत्र देखिएको छ, यो निन्दनीय छ।

माओवादी केन्द्रका कतिपय नेताका छोराछोरी विभिन्न अनियमितता प्रकरणमा मुछिएकोतर्फ लक्षित गर्दै लामिछानेले ‘नवयुवराज’हरुमाथि अनुसन्धान हुनेमा आशंका रहेको बताए।

‘यो अनुसन्धान नवयुवराजहरुतिर आयो भने फेरि सरकारले भनेको सुशमसन बालुवाटार जग्गा प्रकरणमा जस्तो, भुटानी शरणार्थी प्रकरणमा जस्तो सुन तस्करी प्रकरणमा जस्तो अड्किने त होइन ?’ उनले प्रश्न गरे, ‘एक ठाउँमा पुगेपछि अर्को कहिँ संकेत हुन थालेपछि अड्किने त होइन?’

प्रकाशित मिति: : 2023-08-23 17:27:00

प्रतिकृया दिनुहोस्