सत्र वर्षको उमेरमा प्रेम विवाह गरेकी देवी परियारले केही वर्षको अन्तरालमा तीन सन्तान जन्माइन्। चौथो बच्चा गर्भमा हुँदा श्रीमान् टाढिए। अनेक मानसिक दबावपछि उनी घरबाट निकालिइन्।
आफ्नो भागी विवाहले बुवाको मन भाँचिएको थाहा पाए पनि उनी सौतेनी आमा भित्रिएको माइती पुगिन्, केही महिना बिताएपछि सानी आमाको शरण परिन्।
गर्भावस्थाको पेटभन्दा गह्रौँ मन बोकेर बाँचिरहेकी देवीले ठानेकी थिइन्- "मेरो नभए पनि आफ्नो रगतको मायाले श्रीमान् लिन आउँछन्।"
तर त्यसो भएन। कहिलेकाहीँ घर पुग्थिन् तर हार्दिकता परको कुरा 'रत्तीभर दयासमेत नराखी' त्यहाँबाट लखेटिएको उनले सुनाइन्।