केदारनाथ पहिरोमा बेपत्ता नेपाली खोज र उद्धारमा सघाउन परराष्ट्रमन्त्रीको फोन

फाइल तस्विर
फाइल तस्विर

केदारनाथको पहिरोमा परेर बेपत्ता भएका नेपालीको खोजी तथा उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउदले भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसँग आग्रह गरेका छन्।

साउदले शनिबार बिहान फोन गरेर त्यहाँका मुख्यमन्त्री धामीलाई नेपालीको खोजी र उद्धार कार्यमा आग्रह गरेको उनको सचिवालयले जनाएको छ।

मुख्यमन्त्री धामीले बेपत्ता भएको खबर पाउनासाथ स्थानीय प्रशासन तथा उद्धारकर्मीहरूलाई निर्देशन दिएको र शनिबार पनि बिहानैदेखि त्यो काम जारी भएको भन्दै आश्वासन दिएका छन्।

भारतको उत्तराखण्ड राज्य, रुद्रप्रयाग जिल्लाको गौरीकुण्ड, केदारनाथ धामको पैदल यात्रा सुरु हुने स्थान नजिकै गएको पहिरामा परेर १९ जना बेपत्ता छन्। तीमध्ये कम्तीमा १६ जना नेपाली रहेको स्थानीय प्रशासनले जनाएको छ।

बेपत्ता हुनेमा जुम्ला जिल्लाका मात्रै ११ जना छन्। र, बाँकी कालिकोट जिल्लाका हुन्। जुम्ला पातरासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंहका अनुसार बेपत्ता हुनेमा तिला, तातोपानी र पातरासीका बढी रहेको बुझिएको छ।

सो ठाउँमा होटल व्यवसाय गरेर बसेका जुम्ला स्थायी बसोवास भएका एकै परिवारका सात जना, सोही स्थान नजिकै रोजगारीको सिलिसिलामा रहेका जुम्लाकै अन्य चार जना र कालीकोटका पाँच जनासहित १६ जना नेपाली नागरिक बेपत्ता भएको सोही स्थान नजिकै रहेका नेपाली नागरिकले अनुमान गरेका छन्।

भारतस्थित नेपाली दूतावासले पनि खोज र उद्धारका लागि समन्वय गरिरहेको जनाएको छ।

सञ्चार माध्यम र स्थानीय सरकारका पदाधिकारीका अनुसार बेपत्ता भएकाको खोजी कार्य जारी छ। तर नदीको सतह बढेको र प्रतिकूल मौसमका कारण खोजी कार्यमा कठिनाइ उत्पन्न भएको दूतावासले जनाएको छ।

शुक्रबार बिहान ९ बजेतिर मन्दाकिनी नदीको किनारामा फेला परेका तीन वटा शवमध्ये दुई नेपाली नागरिक र एक जना भारतीय नागरिक रहेको बुझिन आएको दूतावासले जनाएको छ।

दुई जना नेपाली नागरिकमध्ये एक जना कालिकोट निवासी टेकबहादुर कामीको सनाखत भएको र अर्को शवको अनुहारमा चोट लागेको कारण हालसम्म सनाखत हुन सकेको छैन।

प्रकाशित मिति: : 2023-08-05 14:19:00

प्रतिकृया दिनुहोस्