अस्ट्रेलिया र न्युजिल्याण्डमा जारी नवौ फिफा महिला विश्वकपमा समूह चरणका खेलहरू विहीबार सकिएका छन् । शु्क्रबार आराम गरेपछि शनिबारदेखि नकआउट चरणका खेल सुरू हुनेछन् ।
यसैबीच शनिबारदेखि सुरू हुने प्रिक्वार्टर फाइनल खेलको तालिका सार्वजनिक गरिएको छ ।
तालिकाअनुसार शनिबार स्विटजरल्याण्ड र स्पेन तथा जापान र नर्वे आम्नेसाम्ने हुनेछन् भने आइतबार नेदरल्याण्डस् र दक्षिण अफ्रिका तथा स्वेडेन र अमेरिकाबीच खेल हुनेछन् ।
अस्ट्रेलिया र न्युजिल्याण्डमा जारी नवौ फिफा महिला विश्वकपअन्तर्गत समूह चरणका खेलहरू सकिएका छन् । शनिबारदेखि क्वार्टरफाइनलमा स्थान बनाउनका लागि प्रिक्वार्टरफाइनल चरणका खेल सुरू हुनेछन् ।
सोमबार नाइजेरिया र इङ्ल्याण्ड तथा अस्ट्रेलिया र डेनमार्क भिड्नेछन् भने मंगलबार कोलम्बिया र जमैका तथा फ्रान्स र मोरोक्को अन्तिम ८ का लागि आम्नेसाम्ने हुनेछन् ।
विजेताहरू आउने बुधबारदेखि सुरू हुने क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् भने पराजितहरू घर फर्कनेछन् ।
विहीबार समूह चरणअन्तर्गत समूह एच का अन्तिम दुई खेल सकिएसँगै समूह चरणको खेल सकिएको थियो । समूह चरण केही स्वभाविक र केही उथलपुथल नतिजाका साथ सकिएको छ । जर्मनी, अर्जेन्टिना, ब्राजिल, क्यानाडा, इटाली र चीनजस्ता शक्तिशाली टिमहरू अप्रत्यासित रूपमा समूह चरणबाटै बाहिरिए भने नाइजेरिया, मोरोक्को, जमैका, दक्षिण अफ्रिकाजस्ता देशहरू चमत्कारिक रूपमा नकआउट चरणमा पुगे ।