बर्दियामा मिटरब्याज पीडितले कब्जा गरे खेत (भिडियाे)

बर्दियामा मिटरब्याज पीडितले खेत कब्जा गरेका छन्। साहुले लगेको खेतमा झण्डा गाडेर मिटरब्याज जिल्ला संघर्ष समिति बर्दियाले खेत कब्जा गरेको हो।

समितिले आइतबार खेत कब्जा गर्दै धान रोपाइँसमेत गरेको छ। गुलरिया नगरपालिका–११ गणेशपुरका राजेन्द्र मुनियारको जग्गा साहु रामकुमार गुप्ताले मिटरब्याजमा पैसा दिएकै आधारमा हडपेका थिए।

सोही जग्गामा मिटरब्याज संघर्ष समितिले कब्जा गर्दै धान रोपाइँ गरेको छ। सरकारले उच्चस्तरीय आयोगमार्फत मिटरब्याज समस्या समाधान गर्ने प्रकृया थालेको भएपनि साहु गुप्ता छलफलमा बसेका छैनन्।

‘जिल्ला प्रशासन, प्रहरी कार्यालयमा छलफलका लागि रामकुमार गुप्तालाई बोलाउँदा छलफलमा आउनुभएन, हिजो (आइतबार) खेतमा रोपाइँ गर्न थाल्नुभएछ,’ मिटरब्याज पीडित संघर्ष समिति बर्दियाकी संयोजक सरस्वती सुनारले भनिन्, ‘त्यसपछि हामीले जग्गा कब्जामा लिएर धान रोपाइँ गरेका छौँ।’

के हो विवाद?

खेतका धनी मुनियारले साहु गुप्तासँग ७ लाख रुपैयाँ ऋण ल्याउँदा खेत गुप्तालाई पास दिएका थिए। तर खेत जोतभोग गर्दै आएका पनि थिए। 

यसवर्ष ऋण चुक्ता नगरेको भन्दै साहु गुप्ताले खेत आफ्नो भएको र आफैँ खेती गर्ने बताए। आइतबार उनले रोपाइँ पनि गर्न थाले।

यसअघि छलफलका लागि साहु गुप्तासहित पीडित मुनियारलाई जिल्ला प्रशासन कार्यालयले बोलायो। तर गुप्ता छलफलमा गएनन् र खेत हडप्ने योजना बनाए। उनी छलफलमा नगएपछि मिटरब्याज पीडित संघर्ष समितिले उनलाई मुनियारको खेत जोतभोग गर्न नपाइने भन्यो।

गुप्ताले मानेन् र आइतबार रोपाइँ गर्न थाले। त्यसपछि पीडितहरुले त्यहाँ रापाइँ गर्न गुप्तालाई दिएनन्। आफैँले खेत रोपेका छन्।

गुप्ताले ७ लाख ऋण दिँदा ११ कट्ठा २ धुर जग्गा आफ्नो नाममा बनाएका थिए। यसअघि १ लाख ५० हजार ऋण दिँदा गुप्ताले मुनियारसँग ५ लाखको तमसुक (कागज) बनाएका छन्।

यस्तै १० लाख रुपैयाँको चेक पनि गुप्ताले मुनियारबाट लगेका छन् भने ७ लाखको ९ लाख ९५ हजार रुपैयाँको अर्को तमसुक पनि बनाएको संयोग सुनारले बिएल नेपाली सेवासँग बताइन्।

बर्दियामा मिटरब्याजबाट धेरै पीडित भएको उनको भनाइ छ। यस्तै जिल्लाका अन्य ठाउँमा पनि साहुले लगेको जग्गा फिर्ता गराउने अभियान चलिरहेको सुनारले बताइन्।

यसअघि मिटरब्याज संघर्ष समितिले गेरुवा गाउँपालिकामा साहुले हडपेको एक घर पीडितलाई फिर्ता गराएको थियो।

साथै संयोजक सुनारले आफूहरुले खेतमा गाडेको झण्डा प्रहरी प्रशासन लगेको भन्दै उक्त झण्डा फिर्ता नदिएमा आन्दोलन गर्ने चेतावनी दिइन्।

प्रकाशित मिति: : 2023-07-31 14:40:00

प्रतिकृया दिनुहोस्