बिहानीले लेखेको एउटा प्रेम–कथा

कुसुम गौतम

म्यान्मार
File Photo
File Photo

एकाबिहानै चर्किएको असारमासे घाम। चैते गर्मीका दिन जस्तै छ। झरी त छ। तर पनि मौसम हप्प छ। घाम र पानीको प्रतिस्पर्धामा घाम नै विजेता बनेको यो असार महिना।

बिहानको ५:४५ मा सूर्यनारायणले दर्शन दिनुहुन्छ। कति आतुर छन् सूर्यनारायण आफ्नो दायित्व पूरा गर्न। हामी मनुष्य पनि एक सङ्घर्षशील प्राणी न हौँ। आफ्नो पेट र परिवार पाल्न सङ्घर्षको मार्गमा उत्रनैपर्ने।

म पनि बिहानको नित्यकर्म सकेपछि सूर्यनारायणको चुनौतीलाई स्विकार्दै स्कुटी टिपेर पसल खोल्न बजारतिर लाग्छु।

के घाम, के पानी! यी बहानामा बस्न नमिल्ने। हामीले सानामा पढेका थियौँ नि ‘नगरी काम पुग्दैन खान साँझ र बिहान’ भने झैं।

बजार पुगेर हलभित्र पस्ने बित्तिकै उफ्... गर्मी।

हिजो बेलुकादेखि गएको बिजुली, खै कतिबेला आउने हो अत्तोपत्तो छैन। यस्तै हो आजकल कुनै कुराको निश्चय नै छैन। शासकको आदेशमा चलेको छ देशको बागडोर। देशको उथलपुथल परिस्थिति। जीवनका हरेक सुविधाहरू खोसिएको छ। जे होस् बाँच्नुपर्ने बाध्यता।

म पसल लगाउन थाल्छु। पसल पूरा खोलिसक्न पनि एक–डेढ घण्टा त लाग्छ नै। हाते पङ्खाले कतिसम्म साथ दिन सक्छ र !

पसलको अगाडि, छेउतिर हेर्छु सबै पसलेहरू हाते पङ्खा हम्काउँदै पसल खोलिरहेका छन्। निधारको पसिना पाइतालासम्म तप्किन्छ। तर पसिनाको मूल्य बुझ्दैन शासक।

सामानको भाउ बढेकाले कोही पनि फाल्तु खर्चमा लाग्दैनन्। हातमुख जोड्न कठिन भएको परिस्थितिमा लत्ताकपडा किन्न ध्यान पुर्‍याउँदैनन्। चामल, तेलको महँगाइ सुन्दा धेरै जहान भएका परिवार कसरी जीवन धान्दैछन् होला जस्तो लाग्छ।

‘चिया..चिया’ भन्दै नेपाली दाइ चिया बेच्दै आउँछन्। जतिसुकै गर्मी भए पनि चियाको लत भने छुट्दैन मेरो। दाइसँग एक कप चिया मागेँ। यी नेपाली दाइ हरेक दिनको बिहानीमा मात्र ७–८ थर्मस चिया बेचेर जीविका चलाइरहेका छन्।

छन् उनका पनि आफ्नै कथा व्यथा। विदेशिएर केही पैसा जम्मा गरेर आफ्नो देश फर्किने। चिया पसल खोलेका थिए। चल्थ्याे पनि। तर कोरोना महामारीमा बन्द भएको त्यो चिया पसल आजसम्म खोल्न सकेका छैनन्। पहिला कोरोनाको प्रकोप, त्यसपछि राजनीतिको डढेलोमा उनका सपना, अभिलाषाहरू सबै जलेर खरानी भए। र पनि उनी भन्ने गर्छन्, ‘बिहानी अवश्य ब्युँझिने छ।’

यस्तै यावत् कुराहरूमा रुमलिँदै चियाको कप समाएर म घोत्लिरहेँ। त्यसैबेला अगाडिको पसलमा ग्राहक आउँछन्।

दुई अभिभावकसँग ६–७ वर्षकी फुच्चीकेटी। एउटा पहेँलो गाउन ट्राइ गरिदिन्छन्। अनि फेरि अर्को गर्दै तीन–चार जोडी कपडा हेर्छन्। तर त्यो फुच्चीकेटीको आँखा पहेँलो गाउनमाथि पुग्छ र त्यसै गाउनका लागि जिद्दी गर्छे। त्यही गाउनलाई औँल्याउँदै .याया..याया.. भन्दै कराउँछे।

मैले उसको भाषा बुझ्न सकिनँ। त्यसैले अलिक ध्यान दिएर सुनेँ...कठै ! त्यो नानीको वाक्य नै रहेनछ। बोल्नै नसक्ने पो रै छे। उसको भाषामा ऊ बोलेकी होला ‘मलाई यही गाउन नै मनपर्‍यो।’

बाआमाले छोरीको चाहना पूरा गरिदिए। उसलाई मनपर्ने त्यही गाउन प्याक गर्न लाउँछन् पसलेलाई। त्यसपछि त्यो फुच्ची फनक्क मेरो पसलतिर फर्किँदै मेरो पसलभरि आँखा डुलाउन थाल्छे। पसलको अगाडिको भागमा राखेका सुन्दर गुन्यु हेर्दै खुब रमाउन थाल्छे। गुन्युहरूलाई औँलाले छुँदै, थप्थपाउँदै फेरि याया..याया भन्दै कराउन थाल्छे।

उसकी आमाले ‘छेरी यी गुन्यु तैँले लागाउने हैन। चुप लागेर बस्’ भन्छिन्। (मैले पसलको अगाडिको भागको आधामा स्त्रीले लाउने गुन्यु र आधा भागमा पुरुषले लाउने गुन्यु राखेकी छु। बर्मामा स्त्री, पुरुष दुवैले गुन्यु लगाउने गर्छन्। म्यान्माको राष्ट्रिय पोशाक नै गुन्यु हो। पुरुषले लगाउने गुन्युलाई(पस्सो) भन्छ।)

तर ऊ कहाँ चुप लागेर बस्थी र! चञ्चले केटी। बोल्न मात्र नजानेकी। तर निक्कै चलाख छे। उसका मातापिताले अगाडिकै पसलमा अरू कपडा पनि किनिरहेका थिए। ऊ भने मेरो पसलमा रमाइहेकी थिई। बेलाबेला उसका निर्दोष आँखाले मलाई पुलुक्क हेरेर एउटा मृदुमुस्कान पनि दिने गर्छे।

अचानक उसले उसको बाबाको हात तानेर मेरो पसलतिर ल्याउँछे। अनि पस्सोका थाकमाथि थप्थपाउँदै उसैको भाषामा के के भन्न थाल्छे। छोरीका इशाराका कुरा सुन्दै उसको बाबाले भन्छन्, ‘छाेरी बाबासँग यस्ता खाले पस्सो धेरै छन् के घरमा। बाबालाई चाहिँदैन नि। अहिले त छोरीकालागि गाउन किन्न पो आएका। बाबासँग फाल्तु पैसा पनि छैन। यी हेर त’ भन्द‌ै पैसा नभएको अभिनय गर्छन्।

तर त्यो जिद्दी केटी खुट्टा बजार्दै याया..कि याया भन्न थाल्छे। एकछिनपछि खै के सोचे कुन्नि प्याक पारेको उसको गाउन निकालेर राखिदिन्छे। अनि इशाराले उसको बाबासँग धेरै कुरा गर्न थाल्छे।

मलाई पनि मनभित्र फुच्चीको भाव बुझ्ने उत्सुकता जागेर आउँछ। अनि उसको बाबासँग सोध्छु, ‘सर! छोरीले के भनेकी। हजुरलाई पस्सो, किन्न बाध्य बनाएकी त हैन?’ उसका बाबाले भन्छन्, ‘हेर्नुस् न बैनी! पैसा छैन। तेरो गाउन किनेर पैसा सकियो। बाबासँग पस्सो किन्ने पैसा छैन भनेपछि उसको गाउन फिर्ता गरिदिएकी रे। अनि पैसा फिर्ता लिएर मैले पस्सो किन्नु रे। कस्ती जिद्धि केटी होला यो!’

‘यही त हो, छोरीहरूको विशेषता। छोरी भनेका सानैदेखि प्रेमका खानी हुन्छन्। मसँग दुई छोरी छन्। त्यसैले म आफू आफैँलाई धेरै नै भाग्यमानी ठान्छु बैनी। उसैका लागि नयाँ कपडा लिन भनेर आएको। झन् उसले पो उल्टै मलाई पस्सो किनिदिन्छु भन्छे हा..हा!’ भन्दै रुन्चे हाँसो हाँस्छन्।

पिताको आँखामा हर्षका केही थोपा छछल्कीरहेको देखेँ मैले।

बाउछोरीको यो कस्तो प्रेमिल सम्बन्ध! छोरीका धनी भएर आफैँलाई भाग्यमानी ठान्ने पिताहरूको कमी रहेनछ संसारमा। नबोल्ने छोरीको पिताप्रतिको यो प्रेम देखेर मेरा पनि आँखा रसाउँछन्

धुम्मिएको आकाशका काला, बाक्ला बादलका टुक्राहरू पन्छाउँदै झुक्किएको बिहानी सूर्यझैँ चम्किलो थियो, प्रेमको मीठो दृश्य।

प्रकाशित मिति: : 2023-07-22 18:50:00

प्रतिकृया दिनुहोस्