काँग्रेस बैठक: देउवालाई धन्यवाद, गठबन्धन जोगाउन र सरकार टिकाउन जोड

चौधौं महाधिवेशन सकेर करिब ११ महिनापछि सुरु भएको नेपाली काँग्रेस केन्द्रीय समिति बैठक पार्टी इतिहासमा पहिलोपल्ट सबैले प्रत्यक्ष देख्न पाए। 

बैठकका अजेन्डाहरू तय गर्न सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी छलफलमा देउवा आफैले बैठक प्रत्यक्ष प्रशारण गर्न प्रस्ताव गरेका थिए। 

सोही छलफलबाट तय भएका १० अजेन्डाहरू आइतबारदेखि सुरू भएको बैठकमा प्रवेश भएका छन्। 

बैठकको पहिलो दिन आज (मंगलबार) महामन्त्री गगनकुमार थापाले एक वर्षको सांगठनिक कार्यतालिका पेश गरे।

त्यस्तै बैठकमा प्रमुख सचेतक रमेश लेखकले संसद पार्टीको उपस्थिति तथा र उपप्रधान अनि रक्षा मन्त्रीसमेत रहेका पार्टी उपाध्यक्ष पूर्णबहादुर खड्काले सरकारमा काँग्रेसको सहभागिताबारे प्रतिवेदन प्रस्तुत गरे।

बैठकमा छलफल गर्नुपर्ने विषयहरु धेरै रहे पनि आज बोल्ने नेताहरूले सदन र सरकारमा पार्टीको उपस्थितिका बारेमा बोले।

उनीहरूले तत्कालीन समयमा गठबन्धन परिवर्तन भएपछि प्रतिपक्षमा पुगेको पार्टीलाई सरकारमा सहभागी बनाउने वातावरण सिर्जना गरेकोमा सभापति शेरबहादुर देउवालाई धन्यवाद दिए।

बैठकमा पुस १० गते आफ्नो पार्टीले नेतृत्व गरेको माओवादीसहित गठबन्धन भत्किएपछि सिर्जना भएको अवस्था र त्यसको १६ दिनपछि पुस २६ गते पार्टीले निर्णयबाट प्राप्त उपलब्धीबारे चर्चा भयो।

पार्टी प्रतिपक्षमा हुँदाहुँदै पनि पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वसको मत दिनु नै ‘टर्निङ पोइन्ट’ भएको सचेतक लेखकको भनाइ छ। ‘बडो प्रतिकुल अवस्था थियो। हामी प्रतिनिधिसभा बैठकमा विपक्षी दलका हैसियतले प्रवेश गर्‍यौं, विपक्षी दलका हैसियतले प्रवेश गर्दैगर्दा देशभरि नेता-कार्यकर्ताहरुमा एकखालको चिन्ता थियो,’ लेखकले भने, ‘नेपाली काँग्रेस प्रतिनिधिसभा सबैभन्दा ठुलो पार्टी हुँदाहुँदैको अवस्थामा पनि हामी प्रतिपक्षमा बस्नुपर्ने पीडा थियो तर नेपाली काँग्रेसले केही महत्वपूर्ण राजनीतिक निर्णयहरु गरेर सत्ता पक्षमा गयौँ।’

उनले काँग्रेस सरकारमा समावेश भएपछि संसदमा केही मत्वपूर्ण विधेयकहरु पेश भएको दाबी गरे।

हाल जारी गठबन्धन कायम राख्नु नै पार्टीका सबैभन्दा महत्वपूर्ण जिम्मेवारी रहेको उनको भनाइ छ।

त्यस्तै उपाध्यक्ष पूर्णबहादुर खड्काले राजनीतिक प्रतिकुलता बावजुद पनि पार्टीले सरकार निर्माणका क्रममा विजयी प्राप्त गरेका बताए।

उनले पुस १० गते देउवा नेतृत्वमा रहेको गठबन्धन भत्किएपछि सडकमा पुगेको काँग्रेस पुस २६ गते फेरि सरकारमा सहभागी हुने अवस्था आउनु ठुलो उपलब्धी भएको बताए। ‘पुस २६ गते वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वलाई विश्वासको मत दिने निर्णयमा पुग्यौँ। त्यही विश्वासको मत दिने विश्वासको वातावरण जुन बनाइएको थियो। त्यही विश्वासको मतबाट पुस १० गते भत्किएको गठबन्धन पुस २६ गते बन्ने एउटा वातावरण बन्यो,’ खड्काले भने। सो वातावरणको कारण आफ्ना वरिष्ठ नेता रामचन्द्र पौडेले राष्ट्रपति बनेको उनको भनाइ छ।

उनले तत्कालिन समयमा माओवादी र एमाले बिचको गठबन्धन भत्काउनु नै ठुलो सफलता रहेको बताए। ‘...छलफल गर्दा विभिन्न तहमा यदि राष्ट्रपतिमै पनि सम्झौता गर्नुपर्‍यो भने पनि माओवादी र एमालेबीचको गठबन्धनलाई परिवर्तन गर्नुपर्छ भन्ने तहको त्याग गर्न समेत तयार थियौँ,’ खड्काले भने।

उनले यो वातावरण सिर्जना गर्न सफल भएकोमा पार्टी सभापति शेरबहादुर देउवालाई धन्यवाद दिए।

ठुलो प्रयासपछि फर्किएर आएर परिस्थिति भत्किने गरी काम नगर्न सबैलाई उनको आग्रह थियो। 

‘मेरो अनुरोध छ, हाम्रा गतिविधिबाट, हाम्रा बोलिहरुबाट कहीँ पनि यो राजनीतिक परिस्थिति फर्किएर आएको छ, त्यसलाई भत्किने बिग्रिने तहमा पुग्ने गरी जानु हुँदैन,’ उनले भने।

मंगलबार दुई घण्टा ११ मिनेटसम्म चलेर स्थगित भएको बैठक भोलि (बुधबार) बिहान ११ बजेबाट सुरु हुने सभापति देउवाले बताए।

प्रकाशित मिति: : 2023-07-18 18:06:00

प्रतिकृया दिनुहोस्