प्रचण्डको राजीनामा छोडेर ओली अल्झिएको ‘विज्ञप्ति’मा के छ?

File Photo
File Photo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामालाई ‘बटम लाइन’ बनाएका प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली अब प्रधानमन्त्रीका प्रेस सल्लाहकारको राजीनामामा आएर अलमलिएका छन्।

चार दिनसम्म प्रधानमन्त्रीको राजीनामाभित्र सिङ्गो राजनीतिलाई अलमल्याएका ओली आइतबार बिहानसम्म प्रचण्डको स्पष्टीकरण संसदमै सुन्न राजी भएका थिए। तर संसद भवन पुग्दा नपुग्दै उनलाई कसैले प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले असार २१ गते जारी गरेको विज्ञप्ति पढेर सुनायो। त्यसपछि आइतबार संसदको बैठक नै बसेन।

सोमबार दिउँसोतिर ओली फेरि प्रधानमन्त्रीसँग कुरा गर्न सिंहदरबार पुगे। केहीबेरको कुराकानीपछि उनी देउवासँगै सिंहदरबारबाट बाहिरिए। बाहिर कुरिरहेका पत्रकारहरूलाई देउवाले ओलीतिर संकेत गरेर बोल्न भनेका थिए। गाडीमा चढ्दाचढ्दै ओलीले भने- जे हुन्छ, अब संसदमै हुन्छ।

प्रचण्ड एक्लै हतारिएका थिए। उनले पत्रकारहरूतिर हेर्दै नहेरी भनिदिए- संसदबाट सम्बोधन गर्दैछु।

असार १८ गते काठमाडौँमा आयोजित एक कार्यक्रममा ‘आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह दिल्ली धाएको’ भन्ने अभिव्यक्ति दिएका थिए। र त्यो अभिव्यक्तिपछि एमालेले उनको राजीनामा माग गर्दै संसद अवरोध गरेको थियो।

त्यो अभिव्यक्तिको चारैतिर आलोचना हुन थालेपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले एउटा विज्ञप्ति निकाल्दै एमालेलाई विभिन्न आक्षेप लगाएका थिए।

विज्ञप्तिमा के छ?

प्रचण्डकाे अभिव्यक्तिको बचाउ गर्न उनका प्रेस सल्लाहकार आचार्यले निकालेको विज्ञप्तिमा सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई अपव्याख्या गरेर त्यसकै आडमा राजनीतिक अभीष्ट पूरा गर्न खोजिएको भन्दै एमालेप्रति नै उनले ‘गम्भीर ध्यानाकर्षण’ भएको बताएका थिए।

संसदबाट निर्वाचित प्रधानमन्त्री प्रचण्ड सदैव संघीय संसदप्रति जवाफदेही भएको भन्दै संसदमा प्रष्टिकरणको मौकासमेत नदिई उनको भनाईको आशयविपरीत एकपक्षीय ढंगले प्रचारप्रसार गरिनु दुर्भाग्यपूर्ण भएको विज्ञप्तिमा उल्लेख छ।

‘दलगत राजनीति र लोकतान्त्रिक प्रणालीप्रति नै वितृष्णा सिर्जना गर्न विभिन्न कोणबाट भइरहेको हमलाविरुद्ध लोकतन्त्रको रक्षा र सुशासनको प्रत्याभूतिका लागि सरकारले चालेका कामबाट ‘केही हुँदैन’ भन्ने निराशावादी मनोविज्ञानको ठाउँमा ‘गरे हुने रहेछ’ भन्ने आसलाग्दो वातावरण सिर्जना भइरहेको बेला प्रधानमन्त्रीको राजीनामा मागिनु भ्रष्टाचार र जनताका पक्षमा सञ्चालित अभियान रोक्ने मनसाय रहेको कुरा स्पष्ट नै छ।’

प्रकाशित मिति: : 2023-07-10 16:16:00

प्रतिकृया दिनुहोस्