केबलकारमा १० घण्टा यात्रु अलपत्र

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

इक्वेडरको राजधानी क्विटोमा रहेको विश्वकै सबैभन्दा अग्लो पर्यटकीय केबलकारमा करिब १० घण्टासम्म फसेका दर्जनौं मानिसलाई शुक्रबार बिहानै उद्धार गरिएको छ।

क्विटो नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै अग्निनियन्त्रक र प्रहरी सम्मिलित अभियानपछि ७५ जनालाई ‘सुरक्षित र स्वस्थ’ अवस्थामा उद्धार गरिएको जनाएको छ।

विद्युतीय समस्याका कारण प्रणाली अवरुद्ध भएपछि केबलकारमा रहेका आगन्तुकहरू ‘करिब १० घण्टा’ सम्म फसेका थिए।

करिब चार हजार मिटर (१३,१२० फिट) को उचाइमा रहेको प्रणालीको सबैभन्दा माथिल्लो टर्मिनलमा फसेका ४८ जनालाई सबैभन्दा पहिले सुरक्षित स्थानमा ल्याइएको विज्ञप्तिमा उल्लेख छ।

त्यसपछि केबलकारको तारमा रोकिएका अन्य १७ जनालाई केबलकारबाट नजिकैको सुरक्षित स्थानमा झारिएको थियो भने अन्य १० जना सेवा पुनः सुरु भएपछि भुइँमा आएका थिए।

उक्त केबलकार दुई टर्मिनलहरूबीच २.५ किलोमिटर (१.५ माइल) को दूरीमा फैलिएको छ भने सबैभन्दा कम उचाइ समुद्र सतहबाट तीन हजार १०० मिटरमा रहेको छ।

नगरपालिकाको ट्वीटर अकाउन्टमा रहेको भिडियो फुटेजमा मानिसहरूलाई केबलकारबाट सुरक्षित स्थानमा राखिएको देखाइएको छ। 

बालबालिकासहित अन्य व्यक्तिहरूलाई केबलकारहरू सुरक्षित रूपमा भुइँमा फर्केपछि कब्बल ओडाएर आवश्यक उपचारका लागि नजिकैको अस्पतालतर्फ पठाइएको छ। 
 

प्रकाशित मिति: : 2023-07-07 21:31:00

प्रतिकृया दिनुहोस्