बिएल संवाददाता
कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन्।
थापालाई प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
काँग्रेसका २९, सभामुख बाबुराम गौतमसहित माओवादीका १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सहित ४७ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।
कोशी प्रदेशका काँग्रेस संसदीय दलका नेता थापा नेता कृष्णप्रसाद सिटौलानिकटका मानिन्छन्।
वि.सं २०१४ साल मंसिर १५ गते जन्मिएका उनी झापाको अर्जुनधारा नगरपालिका-४ का स्थायी बासिन्दा हुन्।
पार्टीको प्रदेश सभापतिमा थापा नेता सिटौलाको साथ पाएर पार्टीभित्रको राजनीतिमा सफल छन्। झापाबाटै राजनीति गरिरहेका काँग्रेसका केन्द्रीय महामन्त्री विश्वप्रकाश शर्मासँग ‘लाइन संघर्ष’ भए पनि उनलाई सिटौलाले सहयोग गरिरहेका छन्।
सिटौलाकै संरक्षणमा राजनैतिक प्रभाव जमाइरहेका उनी पार्टीको प्रदेश १ को पहिलो सभापति बन्न सफल भए। विद्यार्थी काल २०३४ सालबाट काँग्रेसको राजनीति सुरु गरेका थापा पार्टीको दुई पटक झापा जिल्ला सभापति बनिसकेका छन्।
२०३५ सालको जनमत संग्रहमा पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा उनको महत्वपूर्ण योगदान छ। पञ्चायती व्यवस्थाविरुद्धको प्रचार अभियानमा थापाले जननायक विपी कोइरालाको सुरक्षा दस्ताका रूपमा काम गरेका थिए।
काँग्रेस अर्जुनधारा गाउँ समितिको सचिव र सभापतिमा एक–एक कार्यकाल काम गरेको अनुभव उनीसँग छ। झापा क्षेत्र नम्बर २ को क्षेत्रीय सभापति भएका उनी जिल्ला सचिव, उपसभापति र दुई कार्यकाल जिल्ला सभापति बन्न सफल भइसकेका छन्।
काँग्रेसको केन्द्रीय राजनीतिमा प्रभाव जमाएका गुरुराज घिमिरेलाई पराजित गर्दै काँग्रेस तत्कालीन प्रदेश १ को सभापतिमा उद्धव थापा विजयी भएका थिए। गत आम निर्वाचनमा उनी समानुपातिक प्रदेश सांसद भएका थिए।
२०६२/०६३ को दोस्रो जनआन्दोलनमा होमिएका बेला पक्राउ परेका थापालाई तत्कालीन शाही नेपाली सेनाले झापाको चारआलीस्थित ब्यारेकमा राखेर यातना दिएको थियो।
वाणिज्य शास्त्रमा स्नातक गरेका उनलाई पार्टीभित्रको आन्तरिक राजनीतिमा फलिफाप भए पनि संसदीय राजनीति भने अफपशिद्ध जस्तै भएको थियो। उनी प्रतिनिधिसभा निर्वाचनमा झापाबाट दुई पटक पराजित भएका थिए।
नेपाली कांग्रेसको १३औँ महाधिवेशनपछि नेपाली कांग्रेस झापाको राजनीतिमा पूर्वको अवधारणा अघि सारेर जिल्लाव्यापी राजनीतिक प्रशिक्षण अभियान सञ्चालन गर्ने कार्यक्रमका परिकल्पनाकार थापा एक विकासवादी, व्यावहारिक राजनीतिक योजनाकार पनि हुन्।
पाँच ‘व’ को नीतिअन्तर्गत विचारमा कांग्रेस, व्यवहारमा कांग्रेस, व्यवसायमा कांगे्रस, विकासमा कांग्रेस र विपद्मा कांग्रेसको नीतिलाई साथसाथै लगिएन भने राजनीति जटिल र कठिन हुने ठम्याइसहित थापाकै अगुवाइमा जिल्लाव्यापी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएका थिए।
वाणिज्य शास्त्रमा स्नातक गर्नुभएका थापाले एक स्पष्टवादी, निडर, कार्यकर्ताको पीरमर्का बुझ्न र सहयोग गर्न सक्ने, कार्यकर्तालाई माया र न्याय गर्न सक्ने विवेकशील नेताको छवि निर्माण गरेका छन्।
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला कम्युनिष्टको लालकिल्लामा कार्यकर्ताको सुरक्षा गर्दै पार्टी सङ्गठनलाई विस्तार गर्न थापाले कठोर मेहनत गरेका छन्।
प्रजातान्त्रिक आन्दोलन र सङ्गठन विस्तारका क्रममा सङ्घर्षको मैदानबाट खारिएर आफूलाई राजनीतिमा अब्बल साबित गरेका थापा राजनीतिलाई राष्ट्रहित र जनताको सेवामा समर्पित गर्नुपर्छ भन्ने मान्यतामा अडिग रहँदै आएको नेपाली कांग्रेस झापाका सभापति देउमान थेवेले बताए।
नेपाली कांग्रेसभित्र सबै जाति, भाषाभाषी र समुदायको उपस्थिति, सम्मान र सुरक्षामा विशेष चासो राख्ने थापा नेविसङ्घ एकाइ हुँदै कांग्रेस पार्टीको तल्लो एकाइ समितिबाट नेतृत्व विकास गर्दै राष्ट्रिय राजनीतिको वर्तमान अवस्थामा आफूलाई उभ्याउन सफल लोकतन्त्रका पहरेदार सिपाहीका रूपमा चर्चित छन्।
कोशी प्रदेशसभाको दोस्रो निर्वाचनमा नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएपछि उनी प्रदेशसभाको छैठौँ बैठकसम्म र तेस्रो अधिवेशनको पहिलो बैठकसम्म आफ्ना धारणा, विचार र सिद्धान्तमा अडिग रही अत्यन्त प्रभावशाली ढङ्गले सदनमा प्रस्तुत भएका थिए।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया