कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन्।
संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
'नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम तपाईंलाई कोशी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गरेको छु', प्रदेश प्रमुखले दिएको पत्रमा भनिएको छ, 'मुख्यमन्त्री पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाईसहित कार्यकालको सफलताको कामना गर्दछु।'
थापाले सत्ता गठबन्धनका दलहरु नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीको समर्थनमा प्रदेश प्रमुख परशुराम खापुङसमक्ष बिहीबार दाबी पेस गरेका थिए।
थापाले सभामुख बाबुराम गौतमसहित ४७ जना सांसदको समर्थनमा दाबी पेस गरेलगत्तै मुख्यमन्त्री बनेका हुन्। ९३ सदस्यीय कोशीमा सरकार निर्माणका लागि ४७ जनाकै समर्थन चाहिन्छ।
कांग्रेसका २९, सभामुख गौतमसहित माओवादीका १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सहित ४७ सांसदको हस्ताक्षरमा थापा मुख्यमन्त्री नियुक्त भएका हुन्। थापा कांग्रेसमा नेता कृष्णप्रसाद सिटौलानिकटका हुन्।