शताब्दी घरमा गुन्जिए अक्षरयात्रीका कविता

‘जीवन र जगतको यथार्थवोधको लागि अक्षरयात्रा’ मूलमन्त्र बनाई गजलसन्ध्या र नवनीत साहित्य सागरद्वारा २०६२ असार १८ गतेदेखि निरन्तर रुपमा सञ्चालन भैरहेको यात्रा साहित्यसँग सम्बन्धित कार्यक्रम ‘अक्षरयात्रा’को द्विशतक श्रृंखला फरक पर्वत कुश्मास्थित शताब्दी घरमा सम्पन्न भएको छ।

कालीगण्डकी बचाऔँ अभियान एवं कुश्मा कला परियोजनाका परिकल्पनाकार, अभियन्ता आरके अदीप्त गिरीको स्थानीय निम्तो र आयोजनामा शताब्दी घरमा आयोजित कार्यक्रममा पोखराबाट दुई दर्जन बढी कवि, लेखक, पत्रकारले सहभागिता जनाएका थिए। शताब्दी घरको सिरान तलामा आयोजित कार्यक्रममा अक्षरयात्राको द्विशतक श्रृंखला कार्यक्रम संचालित भयो।

कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व प्रसिद्धि कवि तीर्थ श्रेष्ठले कालीगण्डकी र आफ्नो जीवनका बीचमा प्रगाढ सम्बन्ध भएकाे भन्दै आफ्नी माताको सम्झना गरे। उनले आफू तीन वर्षको हुँदा आमाको देहान्त भएको र यही कालीगण्डकी नदीमा दाहसंस्कार भएको भएको कुरा सुनाए। आफू १३ वर्षको उमेरमा यो नदी हेर्न आएको कुरा सुनाएर सबैलाई भावुक बनाए।

अभियन्ता आरके अदीप्त गिरीले कालीगण्डकीको संरक्षण र नेपाली वास्तुकलाको संरक्षणमा एक्लै सत्तिसालझैं उभिएको कुराको प्रशंसा गर्दै राज्यले गर्नुपर्ने काम एउटा व्यक्तिले गर्नु ठूलो आँट र साहस रहेको विचार व्यक्त गरे। कला र संस्कृतिले देश र समाजको आवाजलाई बोल्नुपर्ने विचार श्रेष्ठको थियो।

उनले भने, ‘कला मनोरञ्जनका लागि मात्र नभएर कला जीवनका लागि हो। कलाको विकास भएमा मात्र हामीले सोचेको समृद्ध नेपालको विकास सम्भव हुन्छ। देशको कुना–कुनामा रहेका हाम्रा कला र संस्कृतिको जगेर्ना गर्नु तपाईं हाम्रो कर्तव्य हो।’ श्रेष्ठले कालीगण्डकी, शालिग्राम र शताब्दी घरलाई जोडेर काव्य वाचनसमेत गरेका थिए।

परिवर्तन र विकासको नाममा हामी हाम्रा मौलिक परम्परा, संस्कार, संस्कृति र रीतिस्थित बिर्सिरहेका छौँ। त्यही हामीले भुल्दै, बिर्सिंदै गएको आफ्नोपनको आभासलाई जोगाउने प्रयत्न स्वरुप आफूले कुश्मा कला परियोजनाको परिकल्पना गरेको कार्यक्रममा संस्थाका अध्यक्ष आरके अदीप्त गिरीले स्वागत मन्तव्यका क्रममा बताउनु भयो। यही संस्थाले फरक आवश्यकता महशुस गरी शताब्दी घरको परिकल्पना गरेको हो। 

'हामी शताब्दी घरलाई पूर्णता दिन अथक प्रयत्न गरिनै रहेकाछौँ। विकासका नाममा मानव ज्ञानमाथिको अतिक्रमण बन्द गरी ऐतिहासिक धरोहरहरूको जीर्णोद्धार गरी संरक्षण–संवर्द्धन गरिनु अहिलेको प्रमुख आवश्यकता पनि हो' गिरीले बताए। 

कार्यक्रममा प्रसिद्ध लोक गायिका हरिदेवी कोइरालाले आफूले जीवनमा ३ सय वर्षभन्दा पुरानो घरको तेस्रो तल्लामा बसेर यस्तो साहित्यिक कार्यक्रममा पहिलो चोटी भाग लिन पाएकोमा फरक अनुभूति भएको बताउँदै कालीगण्डकीमा समर्पित केही गीत र असारे भाका सुनाइन्।

यसैगरी कार्यक्रममा पचासी वर्षीय साहित्यकार शान्तिनारायण श्रेष्ठले उत्साहपूर्वक गीत र गजल सुनाए। प्राज्ञ सरस्वती श्रेष्ठ सरु, अक्षरयात्राका परिकल्पनाकार दीपक समीप, अर्का परिकल्पनाकार लक्ष्मण थापा, नेपाली लेखक संघ, गण्डकी प्रदेशका अध्यक्ष डा. ईश्वरमणि अधिकारी, गनेश पौडेल, सन्जीव पौडेलले आआफ्ना धारणासहित रचना वाचन गरेका थिए।

त्यस्तै एन पि घायल, सागर उदास, रीता अधिकारी ऋतु, अमृत क्षेत्री, घायलश्री, लक्ष्मण बिश्वकर्मा, श्रीराम अधिकारी गोर्जे, ठाकुर रसाइली, साबित्री गिरी, रोशन तिमिल्सिना, छन्दमणि त्रिपाठीलगायतले कालीगण्डकी र शताब्दी घरकै सेरोफेरोमा रहेर स्थानीय रुपमा सिर्जना गरिएका कविता, मुक्तक, गीत र गजल सुनाएका थिए।

शताब्दी घर तथा कुश्मा कला परियोजना, पर्वतका अध्यक्ष आरके अदिप्त गिरी र गजलसन्ध्याका अध्यक्ष वसन्त विनोदको संयुक्त सभापतित्वमा सञ्चालित कार्यक्रममा साहित्यकार एवम् रंगकर्मी प्रान्जलले कार्यक्रमको सञ्चालन गरेका थिए।

प्रकाशित मिति: : 2023-07-02 18:09:00

प्रतिकृया दिनुहोस्