माथिल्लो मुलपानी क्रिकेट मैदानको नाम जयकुमार शाह राखेको भन्दै कागेश्वरी मनहराका स्थानीयबासीले नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय कार्यालयमा नाराबाजी गरेका छन्।
क्यानले शुक्रबार बसेको बोर्ड बैठकमा माथिल्लो मुलपानी क्रिकेट मैदानको नाम क्यानका पूर्व स्वर्गीय अध्यक्ष जयकुमार शाहकाे नामबाट राख्ने निर्णय गरेकाे थियाे। सोही निर्णयको विराेधमा आइतबार स्थानीयले नाराबाजी गरेका हुन्। यसअघि सो मैदानलाई माथिल्लो मुलपानी किकेट मैदानको नामबाट चिनिन्थ्याे।
क्यानले गरेको उक्त निर्णयको कागेश्वरीका मेयर उपेन्द कार्कीले पनि सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका थिए। क्यानविरूद्ध उनले लेखेकाे
स्टाटसलाई समर्थन जनाउँदै स्थानीयले कार्यालय घेरेका हुन्।
क्यानले नगरपालिकासँग छलफल नगरी क्रिकेट मैदानको नाम परिवर्तन गरेकाले विराेध गरेकाे कागेश्वरीका स्थानीय शाहिल पुडासैनीले बताए। 'क्यानले नगरपालिका र स्थानीयहरूसँग कुनै छलफल गरेन', उनले बिएल नेपाली सेवासँग भने, 'मैदानको नाममा मुलपानी नै नआएपछि हाम्रो ठाउँको अस्तित्व गुम्यो।' स्थानीयले मैदानकाे पुरानाे नाम नराखे कार्यालय बन्द गरिदिने चेतावनीसमेत दिएका छन्।
स्थानीय सुदिप फुँयाल भन्छन्, 'मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानकाे नामले परिचित भएपछि याे मैदानले ओडिआई मान्यता प्राप्त भएको हो। क्यानले रगंशालाबारे हरेक पटक नगरपालिकासँग सहकार्य गरिरहन्थ्याे तर यसपटक काेहीसँग सल्लाह-सुझाव नलिएर मैदानको नाम परिवर्तन गरिदियो।'
यता, क्यानका सचिव दुर्गाराज पाठकले ४० वर्षदेखि क्रिकेट क्षेत्रमा योगदान दिएका जयकुमार शाहको सम्मानमा मैदानकाे नामकरण गरिएको बताए।
'हामीले नेपाली क्रिकेटमा चार दशक योगदान दिएका क्यानका पूर्व स्वर्गीय अध्यक्ष जयकुमार शाहको सम्मानमा नाम राखेका हाैँ। आजको विरोधपछि क्यानले यहाँको नगरपालिकासँग छलफल गरेर यस नामबारे टुंगो लगाउँछ', उनले भने।