रास्वपाले भन्याे– उपराष्ट्रपति पदको औचित्य छैन

प्रतिनिधिसभाकाे आजको बैठकमा उपराष्ट्रपति पदकाे औचित्यबारे प्रश्न उठेको छ। आर्थिक वर्ष २०८०/८१ बजेटअन्तर्गत उपराष्ट्रपति कार्यालयको विनियोजनसम्बन्धी छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिषकुमार झाले उपराष्ट्रपति पदको औचित्यबारे प्रश्न उठाएका हुन्।

नेपालमा संवैधानिक अभ्यासअन्तर्गत २०६५ जेठ २ गतेदेखि आजसम्म राष्ट्रपति कार्यालय स्थापना भएको ५ हजार १ सय १५ दिन भएको र यो अवधिमा चार वटा कार्याकाल र तीन वटा अनुहार राष्ट्रपति कार्यालयमा देखिएको बताउँदै उनले प्रश्न गरे,‘ती चार कार्याकाल र तीन अनुहार हेर्दा सम्झन लायक केही छ त ? यो ५ हजार १ सय १५ दिनमा हामी सम्झन लायक पाँच वटा कुरा सम्झन सक्छौँ ?’ उनले त्यसको जवाफ त्यो ५ हजार १ सय १५ दिनले नै दिने बताए।

उनले २०६५ सालदेखि २०७९ सालसम्म अग्नी खरेल, लक्ष्मणलाल कर्ण, राधेश्याम अधिकारी र खिमलाल देवकोटा सम्मिलित समितिले संविधानसभा मास्यौदा समितिलाई राष्ट्रियसभाको अध्यक्षलाई नै उपराष्ट्रपतिको पद दिएर खर्च कटौती गर्ने सकिने सुझाव दिएको स्मरण गराए।

उनले ती ५ हजार १ सय १५ दिनमा हामीले सम्झन लायक एउटा पनि कुरा नभएको अवस्थामा त्यो समितिले दिएको सुझाव मानेको भए आज सहज हुने दाबी गरे। ‘त्यसैले गर्दा रास्वपा र हामीले त्यो पदको परिकल्पना गर्दैनौँ। हामी यो पद आवश्यक छैन भन्छौँ । र, राष्ट्रियसभाको अध्यक्षले नै यो काम गर्न सकिन्छ र सक्छ भन्छौँ,’ उनले भने।

उनले उपराष्ट्रपतिहरुले पनि आफैं यो पदको औचित्य नरहेको टिप्पणी गरेको बताए।

उनले संविधान संशोधनको लागि आग्रहसमेत गरे।

भिडियाे :

प्रकाशित मिति: : 2023-06-25 11:56:00

प्रतिकृया दिनुहोस्