सर्लाहीका नागरिकताविहीनहरुको काठमाडौँमा विरोध प्रदर्शन (तस्बिरहरु)

शनि शाक्य

काठमाडौं

सर्लाहीका नागरिकताविहीनहरुले काठमाडौँमा विरोध प्रदर्शन गरेका छन्। उनीहरुले राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता ऐनसम्बन्धी सर्वाेच्च अदालतको अल्पकालीन अन्तरिम आदेशविरुद्ध बिहीबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्।

उनीहरुले आमाको नामबाट नागरिकता दे, सर्वोच्च अदालत हामीलाई न्याय दे, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई कारबाही गर भन्ने लगायत लेखिएका पम्पप्लेट बोकेका थिए।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थाविपरीत ‘होल्ड’ गरेको नागरिकता हालका राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ १७ गते प्रमाणीकरण गरेका थिए। नागरिकता विधेयक प्रमाणीकरण भएर नागरिकता वितरण सुरु हुनैलाग्दा सर्वोच्च अदालतले उक्त नागरिकतासम्बन्धी ऐन कार्यन्वयन नगर्न भन्दै अल्पकालीन अन्तरिम आदेश दिएको थियो।

अदालतको आदेशपछि नागरिकता वितरण बन्द हुनसाथ नागरिकताविहीनहरु विरोधमा उत्रिएका हुन्। उनीहरुले तत्कालीन राष्ट्रपति भण्डारी, एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलगायविरुद्ध नाराबाजी गरेका थिए। एमाले, रास्वपा र राप्रपाले राष्ट्रपतिले गरेकाे नागरिकता विधेयक विराेध गरिरहेका छन्।

प्रकाशित मिति: : 2023-06-08 14:31:00

प्रतिकृया दिनुहोस्