के सुदूरपश्चिमेली जनताहरू नैपालका खेलौना हुन् ?

BreaknLinks
BreaknLinks

गेटा मेडिकल विश्वविद्यालयको माग गरिरहेका एक हुल मान्छेहरू जम्मा भएका थिए धनगढीको अत्तरियामा चोकमा। चर्का नाराले गुञ्जायमान थियो परिवेश। एकछिन टक्क उभिएर हेरिरहेँ। सम्झनामा आइरहे केही दिनअघि मात्र उपचारार्थ भारतको पलिया जान गौरीफन्टामा गाडी फर्खिरहेका केही नेपाली अनुहार।

धनगढीस्थित नेपालको नाका पार गरिसकेपछि आउने भारतीय भू-भाग हो, गौरीफन्टा। कैलालीको धनगढीबाट गाडीमा एक घन्टामै पुग्न सकिन्छ भारतको पलिया खिरी। जहाँका दुईजना डाक्टरका बारेमा अधिकांश सुदूरपश्चिमेलीहरू जानकार छन्। ती हुन्, कपुर र सक्सेना। दुबै डाक्टरका दोकान चलाउनेहरू तिनै सुदूरपश्चिमका बिरामीहरू नै हुन् भन्दा अत्युक्ति नहोला। जसले जे भने पनि तिनै दुई जना डाक्टरलाई कयौंले भगवान माने विगतका दिनमा। तिनले उपचार गरेर कैयौंलाई निको पनि बनाए।

अनि सम्झिएँ विगतमा गाउँघरतिर सुनिएको शब्द ‘नैपाल’। राज्य चलाउने सम्राटहरू बस्ने भू-भागलाई ‘नैपाल’ भनिदिए सुदूरपश्चिमेलीहरूले। उता मध्यपश्चिमका जनताहरू पनि उक्त भूभागलाई नेपाल भनेर नामाकरण गरिदिए। विगतमा त्यतिकै भनेनन् होला, काठमाडौँ खाल्डोलाई नैपाल अथवा नेपाल भनेर। सम्राटहरूले कर्के नजरले समेत नहेरेपछि काठमाडौँलाई कुनै अर्कै देश ठाने र भनिदिए ‘नैपाल’। आफ्नै देशमा पनि विरानो मुलुकको नागरिकझैं बस्नुपर्यो मध्य तथा सुदूरपश्चिमका जनताहरूले।

खाद्यान्न, शिक्षा र स्वास्थ्यबाहेक धेरै ठुला माग थिएनन् विगतका मान्छेका पनि। तर, तिनै मागहरू पनि एक कानले सुनेर अर्को कानले उडाइदिए सम्राटहरूले। दरवानी गर्नेदेखि उपचार गर्न समेत भारततिरै पाइला चाल्न बाध्य बनाइयो यहाँका जनतालाई। विगतमा घरका सदस्यहरूमध्ये कसको कतिखेर मृत्यु हुन्छ भन्ने भयले महिनौँ दिन पैदल यात्रा गरी नुनगुढसँगै कात्रोसमेत किनेर ल्याउने गरेको कुरा सुनाउँछन् गाउँका बूढापाकाहरू अहिले पनि। दरवानी गर्न जानेहरूको संख्यामा कतै कमी आएको छैन, बरू त्यो संख्या दिनानुदिन बढिरहेको छ। तथापि नैपालले यहाँका जनताबाट कर असुल्न छोडेन।

समयसमयमा देशमा ठुलाठुला परिवर्तनहरू भए। विभिन्न कालखण्डमा भएका ती परिवर्तनमा समेत मध्य तथा सुदूरपश्चिमेलीहरूको ठुलो योगदान रह्यो। व्यवस्था परिवर्तन सँगै आशाका त्यान्द्राहरू सलबलाउन थाले। भरोसाका लयहरू गुञ्जिन थाले। बेलाबखत फलाकिरहे सम्राटहरूले आश्वासनका मन्त्र पनि। ती सबै झुटको खेती गर्दै हिँड्ने पाइलाहरू मात्र निस्किए।

नेताहरूले भाषणमा सजिलै भनिदिन्छन्, बाटोघाटो बिजुली बत्ती पुगेको छ। गाडी गुडेका छन्। गाउँगाउँमा स्वास्थ्य चौकी छन्। के विकास नभएको हो र? यतिको हुनलाई कतिका वर्ष कुर्नुपर्यो भन्ने कुरा कहिल्यै सोचेनन् तिनले। ती कार्यहरू कतिको गुणस्तरीय भए, त्यो पाटो त झन छुट्टै छ। कतिपय स्वास्थ्य चौकीमा सिटामोलसम्म पाइँदैन, त्यो कुरा कसले भनिदिने। आज पनि कैयौं बस्तीमा बाटोघाटो पुग्न सकेको छैन। बिजुली बत्ती पुगेको छैन। औषधि उपचारको त के कुरा भयो र। बिरामी हुँदा भारततिर जानुपर्ने बाध्यता उस्तै छ।

वर्षौँपछि धनगढीको गेटामा भवनहरू बन्न थाले। उक्त कार्य पनि पानीको पाइपमा हावाले रजाइँ गरेर घरि ह्वात्त पानी आउने, घरि बन्द हुने गरेझैँ भइरह्याे। राजनीतिक खिचातानी उस्तै छ। जुँघाको लडाइँ उस्तै छ। जसोतसो दुई दशक लगाएर ५१ हेक्टर क्षेत्रफलमा अरबाैँका भौतिक संरचनाहरू तयार भइसके। तर पनि त्यो चाँडै सञ्चालनमा आउला भन्ने कुरामा जनता अझै विश्वस्त हुन सकेका छैनन्। २८ लाख जनताको हक अधिकार र भविष्यमाथि खेलबाड भइ नै रहेको छ।

यहाँ उपचारार्थ होस् वा चिकित्सा शिक्षा अध्ययनार्थ नै किन नहोस् बर्सेनि अर्बाैँ रकम बाहिरिँदै छ। उपचार गर्न बाहिर जान नसक्नेले अकालमा ज्यान गुमाउनु परिरहेको छ। बंगलादेश, फिलिपिन्स, डेनमार्कलगायतका देशमा गई अध्ययन गर्ने सुदूरपश्चिमेलीहरूको पुँजी पलायन भइरहेकै छ। यी सबै कुरा मननीय छन्।

तथापि एकथरी मान्छेहरू भनिरहेका छन्, ‘अरू विश्वविद्यालयको हालत के छ? सजिलो छ विश्वविद्यालय चलाउन?’ हो, अहिलेकै परिवेशमा यस्तै हालतमा विश्वविद्यालय सञ्चालनमा ल्याउन सजिलो पनि छैन। पार्टीको झोला बोक्न सिकाउने राजनीतिक खेलाडीहरूकै कारण राम्ररी चल्न सकेका छैनन् अरू विश्वविद्यालय पनि। एक/दुई जनाले खोला तर्न नसक्दा कसैले तर्न सक्दैन भन्न पनि त मिल्दैन होला।

यो देशको बागडोर सम्हाल्नेहरू झुटो आश्वासन बाँड्दै हिँड्छन्। मात्र चुनावमुखी बन्छन्। यस्ता कैयौं संघसंस्थाहरू तिनका लागि मात्र मागिखाने भाँडो बनिदिन्छन्। कहिल्यै बन्न सकेनन् जनतामुखी। यो देशका मठाधिशहरूले देशमा भएका संघसंस्थाहरूलाई प्रभावकारी ढंगले चलाउने योजना बनाउनुको साटो ती संघसंस्थाहरूलाई कसरी राजनैतिक भर्ती केन्द्र बनाउने भन्ने योजना तर्जुमा गर्न थाले। यस अर्थमा स्वभाविकै हो, के विश्वविद्यालय चलाउन सजिलो छ? भन्ने प्रश्न जन्मिनु पनि। हैन भने झण्डै ३० लाखको हाराहारीमा जनसंख्या भएको सुदूरपश्चिममा एउटा मेडिकल विश्वविद्यालय चलाउन नसकिने कारण के नै छन् त?

विगतमा कसैको मुखबाट उच्चारण भएको थिएन विश्वविद्यालय शब्द। सबैको एउटै आवाज थियो, मेडिकल कलेज। जब संसदको संघीय शिक्षा तथा स्वास्थ समितिले सरकारलाई स्थलगत अवलोकन गरी यस क्षेत्रमा मेडिकल विश्वविद्यालय बनाउन सुझाव दियो, तब सम्पूर्ण सुदूरपश्चिमेलीहरूमा एक प्रकारको आश जाग्नु स्वभाविकै थियो।  सोही अनुसार सरकारले गत वर्ष माघ २९ गते गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गर्यो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गेटामै पुगेर भाषण गरी दशरथ चन्द मेडिकल विश्वविद्यालय सञ्चालनार्थ सपना देखाएर गए। आश्वासन दिएर गए, तब सबैजना निकै नै उत्सुक भए। त्यसको केही महिनापछि सरकारको नीति तथा कार्यक्रममा समेत धनगढीको गेटामा दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय खोलिने कुरा उल्लेख गरियो।

आर्थिक वर्ष २०८०/८१ को संसदमा प्रस्तुत गरिएको बजेटमा विश्वविद्यालयबाट प्रतिष्ठानमा झारियो। ६०० शैय्याको अस्पताल सञ्चालनार्थ भौतिक संरचना निर्माण भइसक्दा समेत केवल १ सय शैय्याको अस्पताल सञ्चालन गर्ने गरी बजेट विनियोजित गरियो। खारेज भइसकेको सांसद विकास कोष ब्युँताएर २७५ जना सांसदलाई वार्षिक पाँच करोड धनराशी उपलब्ध गराउने व्यवस्था मिलाउन सक्ने सरकारले यसपटक पनि सुदूरपश्चिमेली जनताको भावनामाथि खेल्ने काम गर्यो। यो कुरा मनन् गरियोस् कि सेती प्रादेशिक अस्पताल मात्रै पनि राम्रोसँगले चलाउने हो भने प्रदेश सरकारले स्वास्थ्य क्षेत्रका लागि छुट्याएको बजेट पनि कम हुन जान्छ। हाल जसरी सेती अस्पताल चलिरहेको छ, यस्तै पाराले चलाऊ भन्न खोजिएजस्तो देखिन्छ गेटामा पनि १ सय शैय्याको अस्पताल।

दुःख र पीडाको पराकाष्ठा नाघेपछि हराउँदै जान्छ डर। फुट्दै जान्छ, धैर्यताको बाँध पनि। लामो समय भइसक्यो सुदूरपश्चिमेलीहरूले आश्वासनको छहारीमा बसेर धैर्यताको पलेटी कसेको। योबीचमा उपचार नपाएर जवानीमै धर्तीबाट बिदा भैसके कैयौं पाइलाहरू। पढ्न खोजेको विषय पढ्न जाने ठाउँ नपाएर डिप्रेसनको सिकार भैसके कैयौं अनुहारहरू। ६ वटा प्रदेशमा कतै मेडिकल विश्वविद्यालय त कतै मेडिकल कलेजहरू छन्। अहिलेसम्म चिकित्सा विज्ञान पढाइ नहुने प्रदेश भनेकै सुदूरपश्चिम प्रदेश हो।

यतिखेर सम्झनामा आइरहेछ डोटेली उखान, सस्तो को भन्यो रे परिघरको राज। अर्थात् सारा मर्का चोट सहन सक्ने र अरूको कामका लागि सदा तत्पर हुने को छ भन्दा सबैले लिने नाम हो पल्लो घरको राज। आज सुदूरपश्चिमेली जनता त्यस्तै परिघरको राज बनाइएका छन्। सदियौँदेखि राज्यले गरेको अन्याय अत्याचार र सौतेनो व्यवहार सहेर बसेका सुदूरपश्चिमेलीको स्वाभिमानले प्रश्न उठाएको छ यतिखेर। के सुदूरपश्चिमेली जनताहरू नैपालका खेलौना हुन्?

प्रकाशित मिति: : 2023-06-07 06:22:00

प्रतिकृया दिनुहोस्