गोरखाको सहिद लखन गाउँपालिकाभित्रका किसानलाई अनुदानमा दुहुनो भैँसी वितरण गरिएको छ।
गाउँपालिकाको वडा नं ७ स्थित बुङकोटका आठ किसानलाई अनुदानमा पाडापाडीसहितको उन्नत जातको दुहुनो भैँसी वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष इन्दिरा तिवारीले जानकारी दिएकी छन्।
गाउँपालिकाले पालिकालाई मासु र दूधमा आत्मानिर्भर बनाउन जोड दिँदै आएकाले पशुपालक किसानलाई पशुपालनका लागि प्रोत्साहन गर्न ५० प्रतिशत अनुदानमा दुहुनो भैँसी वितरण गरेको उनको भनाइ छ। 'गाउँपालिकाले ५० प्रतिशत अनुदान र किसानको ५० प्रतिशत लागत साझेदारीमा दुहुनो भैँसी वितरण गरिएको हो', उपाध्यक्ष तिवारीले भनिन्, 'कार्यक्रमअन्तर्गत १२ जना किसान छनोटमा परेको भए पनि चार जनालाई भने वितरण गर्न बाँकी छ।'
गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० का लागि स्वीकृत पशुपालन भैँसी प्रवर्द्धन कार्यक्रमअन्तर्गत किसानलाई दुहुनो भैँसी वितरण गरिएको उनले बताइन्। किसानलाई उत्पादनसँग जोडदै आत्मनिर्भर बनाउने उद्देश्यका साथ दुहुनो भैँसी वितरण गरिएको उनको भनाइ छ।
'दुहुनो भैँसी वितरण गरेपछि पालिकामा दुग्ध उत्पादनसमेत वृद्धि हुने र कृषकलाई आर्थिक आयआर्जनमा आत्मनिर्भर बनाउनसमेत सहयोग पुग्छ,' उनले भनिन्, 'यसबाट मासु उत्पादनमा समेत टेवा पुग्ने गाउँपालिकाको विश्वास छ।'